१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विदेशमा पर्यटकीय गन्तव्यको प्रचार गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले विदेशमा नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न माग गरेको छ। चेम्बरले पर्यटन क्षेत्रका समस्या बारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बुधबार यस्तो सुझाव दिएको हो।  

नेपालको पर्यटन व्यवसाय प्रवद्र्धन गर्न भारत तथा चीनमा प्रचार प्रसार गर्न नेपाल पर्यटन बोर्ड मार्फत कूटनीतिक स्तरमा विशेष कार्यक्रम ल्याउन चेम्बरको माग छ।

चेम्बरले पर्यटन क्षेत्रका समस्याको बारेमा ध्यानाकर्षण गराएको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले पर्यटन क्षेत्रमा सुधार गर्नुपर्ने १८ बुँदे सुझाव दिएको छ। पर्यटक आगमनमा आएको क्रमिक सुधारले केही राहत भए तापनि वैंकको ब्याजदर लगायत विविध कारणले पर्यटन क्षेत्रले अझै गति लिन नसकेको चेम्बरले जनाएको छ। पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय ख्याति प्राप्त सञ्चार माध्यमहरूलाई आमन्त्रण गरी नेपालको पर्यटन प्रवद्र्धन बारे प्रचार प्रसार गर्न, नेपाल वायुसेवा निगमले नया“ जहाज खरिद गरी अन्तर्राष्ट्रिय गन्तव्यस्थल बढाउन, काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरा स्थित रात्रीकालीन व्यवसायलाई आवश्यक सुरक्षा प्रदान गरी निर्वाध ढंगले सचालन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।  

त्यसैगरी, भारतीय पर्यटकले अधिकतम २५ हजार मात्र साथमा ल्याउन पाउने सीमाले नेपालको पर्यटन व्यवसायले वाञ्छित लाभ प्राप्त गर्न नसकेको भन्दै २ लाख ५० हजारसम्मको नगद ल्याउन पाउने व्यवस्था मिलाउन चेम्बरले ध्यानाकर्षण गरेको छ। प्रभावित होटल तथा एयरलाइन्सहरूलाई वित्तीय प्याकेजसहित सावाँ तथा व्याज भुक्तानीमा पुनर्तालिकीकरण गरी सुविधा प्रवाह गर्न, पर्यटन विज्ञ समूहले पर्यटन प्रवद्र्धनका लागि दिएका सुझाव कार्यान्वयन गर्न, पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउन भनेको छ।

मेडिकल पर्यटन, होम स्टे, शैक्षिक पर्यटन, सांस्कृतिक पर्यटन जस्ता विविधतायुक्त विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउन, स्मारक र विश्व सम्पदा सूचीमा परेका स्थलको विशेष संरक्षण गर्न, गैरआवासीय नेपालीहरूको नेपाल आगमन वृद्धि गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेको छ। युरोपियन युनियनको एभिएसन सेफ्टी लिस्टबाट हटाउन, पर्यटन प्रवद्र्धनको लागि पर्यटन पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकता दिन, साना हेलिकप्टर तथा साना हवाइसेवा व्यवसायलाई मर्ज गर्ने वातावरण सिर्जना गर्न पनि अनुरोध गरेको छ।

प्रकाशित: २६ माघ २०७९ ०१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App