९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौती आयोः अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन्।

मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौतीहरु देखिएको बताएका हुन्। नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको उनको भनाइ थियो।  

‘देशको अर्थतन्त्र अर्थ मन्त्रालयले ड्राइभ गरेको छ। अर्थ मन्त्रालयले ड्राइभ गरेको बसमा सरोकारवाला निकायहरु मन्त्रालयले ड्राइभ गरेको बसको गतिमा हिँडिरहेका छौं’, उनले भने, तीब्र गतिमा रहेको बसलाई अर्थ मन्त्रालयले ब्रेक लगाएको थियो। त्यहाँ विभिन्न खालका ब्रेकहरु थिए। त्यो पार गर्दै आएका थियौं। तर सबै ब्रेक स्टनल थिए। नेपालमा पहिलो पटक अर्थतन्त्रको इन्जिन बिग्रियो।’

अध्यक्ष गोल्छाले भूकम्प, कोभिडको बेलामा अर्थतन्त्रको लिमिट भन्दा बढी तीब्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको बताए। उनले अर्थतन्त्रलाई ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकको नेतृत्वले दूरदृष्टिले नहेर्दा अहिलेको अवस्था सिर्जना भएको बताए।  

उनले भने, ‘अर्थतन्त्रको हिँड्ने बाटोको लिमिट ४.५ प्रतिशत रहेको छ तर अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्रलाई ९ प्रतिशतमा कुदायौँ। त्यो अर्थतन्त्रको बस अर्थमन्त्रालय र राष्ट्र बैंकले कुदाएको हो।’

अर्थतन्त्रमा सबैभन्दा चलाख बैंकर देखिएको उनले उल्लेख गरे। उनले बैंकरहरु अर्थतन्त्रमा समस्या आउनु भन्दा पहिला नै हामफाल्न सफल हुँदा बैंकहरु ठूलो दुर्घटनामा नपरेको दाबी गरे।  

उनले अर्थतन्त्र ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्र दुर्घटनामा पर्नु भन्दा पहिला नै ब्रेक हान्न सफल भएकाले अर्थतन्त्र दुर्घटना पर्नबाट जोगिएको पनि बताए।  

‘कोभिडको समयमा धेरै सहुलियत दिइयो। त्यसमा उद्योगी व्यवसायीहरुले पनि तालि बजायौं। गन्तव्यमा चाँढै पुगिने भयो भनेर रमायौं। श्रीलंका,बंगलादेशमा र पाकिस्तानमा दुर्घटना भएको देखियो र बिस्तारै उकालो लाग्यौं’, उनले भने, ‘उकालो लाग्दा ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले एक्कासी ब्रेक लगाए। ब्रेक लगाउँदा सरकारले अर्थतन्त्र बच्यो तर उद्योगी व्यवसायीलाई कसले बचाउने ? अहिले व्यापार सन्तुलन र तरलता ठिक अवस्थामा आएको छ।’

अध्यक्ष गोल्छाले सरकारले अर्थतन्त्रमा ब्रेक लगाउँदा अर्थतन्त्र बचे पनि उद्योगी व्यवसायीहरुका हात खुट्टा भाँचिएको बताए। उनले सरकारले उद्योगी व्यवसायीहरुको हातखुट्टामा मलम लगाउन आवश्यक रहेको बताए। सरकारले उद्योगी व्यवसायीहरुको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेको उनले बताए।  

‘उद्योगी व्यवसायीहरु समस्यामा रहेका छन्। उनीहरुलाई नबँचाएसम्म अर्थतन्त्र अगाडि जान सक्दैन। अर्थतन्त्रलाई सरकारकाले चलायमान बनाउन जरुरी छ’,उनले भने।

प्रकाशित: २५ माघ २०७९ ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App