६ वैशाख २०८१ बिहीबार
अर्थ

तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीको रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ। यस वर्ष मल तथा बीउको अभाव, सिंचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शंकर पौडेलले बताए।

विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरी खेती गर्ने किसानसमेत खुसी भएका छन्। उनका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय ८५ हेक्टर जमिनमा तोरी खेती गरिएकामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान छ। गत वर्ष जिल्लामा एक हजार एक सय ३५ हेक्टर जमिनमा एक हजार दुई सय ३७ मेट्रिक टन तोरी उत्पादन भएको थियो।

तोरी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यविन्दु, देवचुली र गैंडाकोटमा तोरी उत्पादन बढ्ने देखिएको हो।

विशेष गरेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँ खेती गैंडा लगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन्।

पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायासी प्रयोगका लागि तोरीखेती गर्न लागेका सूचना अधिकारी पौडेलले बताए। तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पुर्‍याउने भएकाले तोरीखेती गर्ने किसानको संख्या बढेको सूचना अधिकारी पौडेल बताउँछन्।

जिल्लामा तोरीसँगै यस वर्ष अर्को तेलहन बाली सर्स्यूंको उत्पादन पनि बढ्ने देखिएको छ। यस वर्ष जिल्लामा एक हजार दुई सय ६० हेक्टर जमिनमा एक हजार सात सय १५ मेट्रिक टन सर्स्यूं उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी पौडेलले बताए। उनका अनुसार गत वर्ष जिल्लामा एक हजार दुई सय ७० हेक्टर जमिनमा एक हजार सात सय आठ मेट्रिक टन सस्र्यू उत्पादन भएको थियो।

कृषि ज्ञान केन्द्र लगायत जिल्लाका स्थानीय तहले किसानका लागि प्राविधिक सहयोगको व्यवस्था गरेका तथा सिंचाइ, मल र बीउको सहज उपलब्धता तथा रोगको प्रकोप घटेको र मौसमले साथ दिएका कारणले तोरी लगायतका तेलहन बालीको उत्पादन बढेको हो। रासस

प्रकाशित: २३ माघ २०७९ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App