१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्ः बैंक त गाउँको साहुको अर्काे रुप पो रहेछ

व्यावसायीले भनेः बढेको ब्याजदर तिर्दैनौ

पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग छलफल गर्दै पर्यटन व्यवसायी। तस्बिरः सन्तोष पोखरेल/नागरिक

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाएर दोब्बर पुर्‍याएकोले बढेको ब्याज नतिर्ने चेतावनि व्यावसायीले दिएका छन्। ऋण लिँदा तोकिएको ब्याजको दर अहिले बढाएर दोब्बर पुगेको भन्दै बढेको ब्याजदर तिर्न नसक्ने व्यवसायीले बताएका हुन्।

सबैखाले व्यवसाय खस्केको अवस्थामा ब्याजदर भने दोब्बरले बढेको भन्दै बैंक तथा वित्तीय संस्थाको कदमविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनि छ। किस्ता तिर्न नसकेको निहुँमा बैंक तथा वित्तीय संस्थाले व्यवसायीमाथि धरपकड गरिरहेको व्यवसायीको गुनासो छ।

ऋणको किस्ता तिर्न नसकेको निहुँ बनाएर व्यवसायीमाथि बैंक तथा वित्तीय संस्थाले धरपकड गरिरहेको र त्यो कदम विरुद्ध उत्रिने तयारी गरेको व्यावसायीले बताएका छन। त्यसका लागि पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा संघर्ष समिति समेत गठन गरेका व्यवसायीले आन्दोलन नगरि ब्याजदर घट्ने अवस्था नरहेको बताएका छन्।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने, ‘कोरोना संक्रमण लगायत असहज परिस्थितिबाट गुज्रेको बेलामा व्यवसायीमाथि झनै धरपकड भईरहेको छ। बैंक तथा वित्तीय संस्थाले व्यावसायीमाथि ब्याजको भार थपेर असहज बनाएका छन,’ उनले भने, ‘ऋण लिँदा आठप्रतिशत रहेको ब्याजदर अहिले बढाएर १६ प्रतिशत भन्दा माथि रहेको छ। बढेको थप ८ प्रतिशत ब्याज तिर्न सक्दैनौ।’

उनले ऋण तिर्न नसकेका ऋणि एकजुट हुने क्रममा रहेको बताए। ‘बैंक तथा वित्तीय संस्थाले यतिसम्मको तनाव दिएका छन की घरघरमा गएर परिवारलाई समेत अप्ठेरोमा पारेका छन्,’ उनले भने, ‘जो जसलाई दुख परेको छ, ती व्यावसायीलाई समेटेर अब आन्दोलन गर्छाै।’  

बैंक तथा वित्तीय संस्थामा पनि नेपाली नागरिककै लगानी रहेकोले बैंकलाई नै असहज बनाएर डुबाउन नचाहेको उनले बताए। ‘हामीले ऋण लिँदाखेरि तोकिएको ब्याजदर तिर्न तयार छौ। तर बढाएर दोब्बर बनेको ऋणको ब्याज तिर्दैनौ, किनकी हाम्रो व्यवसाय पनि दोब्बर भएको छैन,’ उनले भने, ‘आठ प्रतिशतमा लिएको ब्याज तिर्न तयार छौ, तर १६ प्रतिशत तिर्न सक्दैनौ । आठप्रतिशत ब्याजदरमा तिर्न पाउने भए तयार छौ।’  

व्यवसायीले लामो समयदेखि ब्याजदर विरुद्ध आन्दोलन गर्ने भनेपनि मंसिरमा चुनावका कारण रोकेको र अहिले पनि अवस्था उस्तै भएकोले आन्दोलनमा उत्रनुको विकल्प नभएको अध्यक्ष प्रजापतिले बताए।‘ चुनावको बेला आन्दोलन नगर्न भन्दै उद्योग बाणिज्य महासंघले रोक्यो, तर, महासंघले नै हामीलाई सहजीकरण गर्न सकेन, उद्योगी व्यवसायीको माग कतै सुनुवाई भएन,’ उनले भने।

अध्यक्ष प्रजापतिले आर्थिक भार खेप्न नसकेर व्यवसायीले सामाजिक सञ्जालमा कुनै स्टाटस लेखेर आफुलाई समाप्त पारेमा आत्महत्या दुरुत्साहन मुद्धा चलाउने समेत चेतावनि दिए। ‘बैंकका प्रतिनिधिले बिहान उठ्न नपाउँदै फोन गर्न थालेका छन्। पसल खोल्न नपाउँदै ऋण तिर्नु आउनुपर्ने भयो भनेर दवाव दिएका छन्,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबच्चाको सामु धम्क्याउने काम भएको छ। संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्नेछ।’

उनले कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादति गरेको भए संघर्ष समिति वा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघलाई जानकारी दिन अनुरोध पनि गरेका छन्। विषम परिस्थितिमा कुनै बैंक तथा वित्तीय संस्थाले कुनै व्यवसायीहरुको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने अध्यक्ष प्रजापतिको भनाई छ। उनले समितिको आउँदो बैठकले संघर्षका थप कार्यक्रम र स्वरुप निर्धारण गर्ने जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको जानकारी संघर्ष समितिलाई दिन आग्रह गरे। उनले दुःख दिने बैंक तथा वित्तीय संस्थालाई परिआए एकमुष्ठ लालपूर्जा लगेर बुझाइने समेत चेतावनी समेत दिए। ‘बैंक तथा वित्तीय संस्थाले रातीराती घरमा पुगेर मोटरसाइकल, गाडी तानिदिन्छु भनेर धरपकड गरिरहेका छन्। ब्याज तिर्न नसकेको भन्दै धम्क्याउने काम भएको छ,’ उनले भने, ‘पहिला भन्दा दोब्बर दरमा ब्याजदर वृद्धि भएको छ। तर, व्यवसाय डामाडोल छ । कुनैपनि क्षेत्र अहिले व्यवसायिक रुपमा सफल छैन, तर, ब्याजदर मात्र दोब्बरले बढाइएको छ।’

सरकारले ब्याजदर वृत्ति नगर्न भन्दाभन्दै पनि वित्तीय संस्थाले अटेर गरेको उनले बताए। ‘सरकारले त वृद्धि नगर भनेको छ। तर, बैंकले टेरेनन। बैंकले लिलाम निकाले पनि सकार्ने अवस्था छैन। बैंक आफै असफल हुने बाटोमा लागेका छन्,’ उनले भने, ‘लिलाम सकार्ने क्षमता कुनैपनि व्यवसायीमा पनि छैन।’ पछिल्लो समय व्यवसायी मानसिक रुपमा विक्षिप्त भएको उनले बताए।

पर्यटन व्यवसायीको पनि उस्तै गुनासो

उद्योगी र अरुखाले व्यवसायीको जस्तै गुनासो पर्यटन व्यवासायीको पनि छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँगको छलफलमा पनि पर्यटन व्यवसायीले बैंकको ब्याजदरले व्यावसायीमा सकस थपिएको गुनासो सुनाए । पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘पर्यटन क्षेत्र गम्भिर संकटमा छ। पर्यटन व्यवसायी छटपटाहटमा छन। अब पर्यटन क्षेत्र व्यवसायीको मात्र नभइ सरकारको पनि चिन्ताको विषय हुनुपर्छ।’

उनले पनि ६–७ प्रतिशत ब्याजदरमा लिएको ऋणको ब्याज अहिले बढाएर १७–१८ प्रतिशतसम्म पुर्‍याएको भन्दै ऋण तिर्न सक्ने अवस्था नरहेको बताए। ‘पर्यटन क्षेत्र सकसमा छ। हामीले अहिले किस्ता तिर्न सक्दैनौ, तर, नतिर्ने पनि भन्दैनौ,’ मुख्यमन्त्रीसम्म गुनासो पोख्दै श्रेष्ठले भने, ‘ब्याज घटाउ, समय देउ हामी किस्ता तिर्छाै।’

व्यवसायीको गुनासोपछि मुख्यमन्त्री अधिकारीले बैंकले आफुलाई पनि बस्न खान नदिएको बताए। ‘मलाई पनि बैंकले आपत पारेका। बैंक त गाउँको साहुको अर्काे रुप पो रहेछ,’ उनले भने, ‘बैंक अहिलेको आधुनिक रुप मात्र रहेछ, तर, गाउँको साहु नै रहेछ।’ उनले व्यवसायीमाथि वित्तीय संस्थाको दवाव कम गर्नका संघीय सरकार र अर्थ मन्त्रालयसँग समन्वय गर्ने बचन व्यवसायीलाई दिए।

प्रकाशित: २१ माघ २०७९ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App