७ वैशाख २०८१ शुक्रबार
अर्थ

चीनले नेपाललाई पर्यटकीय गन्तव्यमा समावेश गरेन

चीन नेपालको मित्र राष्ट्र मात्र नभएर सीमा जोडिएको छिमेकी मुलुक पनि हो। नेपालको आन्तरिकदेखि अन्तर्राष्ट्रिय मामलामा चीनले चासो राख्ने गरेको छ तर नेपालको आर्थिक विकाससँग जोडिएको यहाँको पर्यटन विकासमा भने चीनले उपेक्षा गरेको छ।

चीन सरकारले आफ्ना नागरिक (चिनियाँ पर्यटक) घुम्न जाने देशहरूको सूचीमा नेपाललाई समावेश गरेको छैन। चिनिया पर्यटन मन्त्रालयको विवरणमा नेपाल स्वीकृत गन्तव्यको रूपमा समावेश नभएको भन्दै पर्यटन व्यवसायी चिन्तित भएका छन्। नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि चीनले उपेक्षा गरेपछि पर्यटन व्यवसायी चिन्तित बनेका हुन्। नेपाल सरकारले कूटनीतिक पहल गर्न नसकेकाले चीनको प्राथमिकतामा पर्न नसकेको पर्यटन व्यवसायी बताउँछन्। व्यवसायीहरू अहिले सरकारले नेपाललाई भ्रमण गन्तव्यको रूपमा चिनाउन असफल भएको दाबी गरिरहेका छन्।  

विगत तीन वर्षदेखि चीनले अन्तर्राष्ट्रिय भ्रमण बन्द गरेको थियो। चिनियाँ पर्यटन मन्त्रालयले यही पुस २७ गतेदेखि भ्रमण खुला गरेकोमा स्वीकृत गन्तव्यमा नेपाललाई समावेश गरिएको छैन।

चीन नेपालको छिमेकी राष्ट्र मात्र नभएर पर्यटनको प्रमुख स्रोत बजार हो। चाइनिज टुर अपरेशन अलाइन्स अफ नेपालका अध्यक्ष विश्वेश श्रेष्ठ भन्छन्, ‘चीनका पर्यटक पर्यटन क्षेत्रको प्रमुख स्रोत हुन्। चिनियाँ पर्यटकहरूलाई नेपाल ल्याउन सकिएन भने व्यवसायी मात्र नभई मुलुकको समग्र पर्यटन क्षेत्रको पुनरुत्थान सम्भव छैन। त्यसैले नेपाल सरकारले चीन सरकारसँग द्विपक्षीय छलफल गरी नेपाललाई चीन सरकारको स्वीकृत गन्तव्यमा समावेश गराउन पहल गर्नुपर्‍यो।’

नेपाल अन्तर्राष्ट्रिय भ्रमणको लागि स्वीकृत गन्तव्यमा पर्न नसक्नुमा सरकारको पनि कमजोरी भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सरकार पशुपति क्षेत्र सफा हुनुप¥र्यो, एयरपोर्टहरू सफा छ, छैन्, ट्वाइलेट पेपर सकियो कि भन्नेजस्ता कुरामा मात्र अलमल गरिरहेको छ। पर्यटन पुनरुत्थान तथा दिगो पर्यटनको लागि आवश्यक ठोस नीति तथा योजनाबारे भने ध्यान दिँदैन्।’ उनी पुनः थप्छन्, ‘पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान नियमित गर्न नसकिएको तर्फ यथेष्ट ध्यान छैन्, बनाउनै बाँकी रहेको निजगढ एयरपोर्ट चाँडै निमार्ण हुन्छ भन्दै हिँडिरहेको छ। पर्यटन पुनरुत्थानको लागि अहिले हामीलाई एयरपोर्ट निर्माण होइन, भएकै एयरपोर्टमा नियमित अन्तर्राष्ट्रिय उडान गरेर पर्यटक भित्र्याउनु बढी आवश्यक छ।’

चीन सरकारले ट्राभल एजेन्सी र अनलाइन ट्राभल कम्पनीहरूलाई प्रभावकारी रूपमा प्रचार र प्रवद्र्धनका लागि तयारी थाल्न स्वीकृति दिएको छ। सोही अनुरूप पर्यटन उद्योगको पुनरुत्थान र विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले चीन सरकारले नयाँ नीति ल्याइएको छ। सोही अनुरूप चिनिया पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई अन्तर्राष्ट्रिय भ्रमणका लागि २० देशहरू स्वीकृत गन्तव्यमा सूचीकृत गरेको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयको विवरण अनुसार २० स्वीकृत गन्तव्यमा थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, युएई, इजिप्ट, केन्या, दक्षिणअफ्रिका, रुस, स्विट्जरल्याण्ड, हंगेरी, न्युजिल्याण्ड, फिजी, क्युबा र अर्जेन्टिना रहेका छन् ।  

एड्भेन्चर आउटडोर एक्सकर्सनका सञ्चालक कल्यानराज शर्माले सरकारले पर्यटक लक्षित पूर्वाधारको विकास गर्न नसकेका कारण पनि पर्यटन क्षेत्रलाई असर परेका बताएका छन्। अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण मात्र होइन, उडानलाई निरन्तरता दिने योजना विस्तार गर्नुपर्ने बताउँदै उनले भने ‘अन्तराष्ट्रिय अनुदानपछि विदेशी मुद्रा भित्र्याउने भनेको पर्यटक नै हुन्। नेपालमा विदेशी मुद्रा नहुँदाको पीडा सरकारलाई थाहा भइसकेको छ, त्यसैले पर्यटन क्षेत्रलाई बेवास्ता गरे समग्र मुलुकले दुःख पाउँछ।’

चीनियाँ पर्यटकलाई बेवास्ता गरेर नेपालको पर्यटन पुनरुत्थान सम्भव छैन्। किनभने नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धनमा चीन एक निर्णायक राष्ट्र हो। नेपालमा आउने सबैभदा बढी अन्तर्राष्ट्रिय पर्यटकको सवालमा भारत र चीन सबैभन्दा अग्र स्थानमा आउँछ। पर्यटन बोर्डको सन् २०१९ को तथ्याङ्कलाई नै हेर्ने हो भने कुल १ लाख ६९ हजार ५ सय ४३ चिनियाँ पर्यटक आएका थिए जुन कुल पर्यटकको १४.२ प्रतिशत हिस्सा हो।  

चिनियाँ पर्यटक नेपाल नआएको खण्डमा पर्यटन क्षेत्र नै धराशायी हुने जनाउँदै कोइली टुर्सका सञ्चालक पुष्करराज पाठकले भने ‘नेपालको पर्यटन क्षेत्रमा चाइनिज पर्यटक धेरै संख्यामा आउने मात्र नभएर बाह्रै महिना आउने पर्यटकमा पर्छन्। युरोपियन, अमेरिकन लगायतका राष्ट्रहरूबाट आउने पर्यटक सिजनल भए पनि चीनका पर्यटक जनवरीदेखि डिसेम्बरसम्म आइरहेका हुन्छन्। नेपाल सरकारले गम्भीरतासाथ चीन सरकारसँग छलफल गरेर नेपाललाई स्वीकृत गन्तव्यमा समावेश गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्‍यो।’

प्रकाशित: १९ माघ २०७९ ०२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App