४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गोदाम र बारीमै कुहिँदै नेपालकाे अदुवा

इलामको गोदकस्थित व्यापारी सुवास राईको गोदाममा थन्किएको अदुवा (बोरा र थाकमा)। तस्बिरः भीम चापागार्इं

इलाम– हानीकारक विषादीको मात्रा पाइएको भन्दै भारतीय पक्षले नेपाली अदुवा भारत निर्यात रोकेपछि जिल्लाका हजारौं किसान र सयौैं व्यापारी मारमा परेका छन्। मध्यसिजनमै अदुवा निकासी रोकिएपछि किसानले झिकेर बेच्न ठिक्क पारेको अदुवा कुहिने डर उनीहरूलाई छ।

भारतीय नाका काँकडभिट्टबाट मंगलबारयता अदुवा निकासी रोकिएको छ। अदुवा बोकेका एउटै गाडी भारत गएका छैनन्। निकासी खुलाउनेबारे अहिलेसम्म सरकारले कुनै पहल नगरिदिँदा किसान र व्यापारी चिन्तित छन्। निकासी रोकिँदा व्यापारीले किसानबाट किनेर भण्डारण गरेको ठूलो परिमाणको अदुवा किसानको आँगन र व्यापारीको गोदाममा थन्किएको छ । केही किसानले अदुवा बेचिसकेको भएपनि केहीले माउ निकाल्नै बाँकी छ। कतिपय किसान भने बारीबाट निकालेर बेच्न लागेका बेला अदुवा निकासी रोकिएको ‘हल्ला’ आएपछि अन्योलमा छन्।

जिल्लाको बरबोटे गाविस–१ तोरीबारीका किसान चूडामणि अधिकारीले यो वर्ष करिब ५० मन (१ मनमा ४० किलो) अदुवा रोपेका थिए। यसबाट करिब ४५ मन माउ आउने उनको अुनमान थियो। उनले अदुवा खनिसकेका छन् तर बेच्न बाँकी नै छ।

‘अब व्यापारी लिन आउलान् भन्ने लागेको थियो, यहीबेला निकासी  रोकिएको हल्ला आएर अन्योल बनाएको छ,’ उनले भने, ‘व्यापारीले अलि दिन पर्खिनु भनेका छन्।’ उनले आफूले अदुवामा विषादी प्रयोग नगरेपनि त्यही कारणले नेपालको अदुवा रोकिए आफूसहित सयौं किसानलाई घाटा हुने बताए। ‘अहिले गरेको खेतीबाट करिब २ सय मन फल्लाा भन्ने अनुमान छ तर विषादीकै कारणले अब भारतले अदुवा लगेन भने त हामी डुब्छौं,’ उनले भने, ‘माउ बेचेर त त्यसलाई लागेको खर्च पनि उठ्दैन।’

उनले खेती लगाएका बेला अदुवाको बीउ प्रतिमन २ हजार ५ सय रुपैयाँ थियो । यो हिसाबले उनले बीउमा मात्रै १ लाख २५ हजार रुपैयाँ खर्च गरेका छन् । ‘अदुवा रोप्ने बारी बनाउन, मल, रोपाइ, गोडमेल, माउ र तयारी अदुवा निकाल्न कति खर्च लाग्छ भन्ने कुनै अनुमान छैन,’ उनले सुनाए, ‘अदुवा त हाम्रो जीवन धान्ने खेती नै भइसकेको छ ।’ बरबोटेकै अर्का किसान नारायण पौडेलले भने अदुवाको माउ निकालेका छैनन् । माउ निकालेर बेच्ने बेला निकासी रोकिएको सुनेर आफू अन्योलमा रहेको उनले बताए । ‘करिब १० मन रोपेको छु तर ठिक्क माउ निकाल्ने बेला निकासी रोकिएको सुनेर अब के गर्ने भन्ने अन्योल छ,’ उनले भने, ‘केही दिनभित्र माउ निकालेर नबेचे बारीमै कुहिएर जान्छ ।’ किसानले साउनदेखि अदुवाको माउ निकाल्छन् । साउन र भदौ अदुवा माउ व्यापारको मुख्य सिजन हो।

जिल्लाको मुख्य व्यापारिक केन्द्र बिब्ल्याँटे बजारका व्यापारी कृष्ण पौडेलको गोदाममा अहिले ५ सय क्विन्टल अदुवा छ । किसानबाट किनेर बेच्नुअघि नै निर्यात रोकिएकाले उनी झन् अन्योलमा छन् । ‘किसानबाट किनेको यत्रो अदुवा बेच्न नपाएर २–४ दिन राख्नुप¥यो भने सुकेर आधा घट्छ,’ उनले भने, ‘त्यसको केही दिनमा त कुहिएरै सकिन्छ ।’ उनले किसानबाट सरदर हजार रुपैयाँ प्रतिमनले किनेको अदुवाको ढुवानी, गोदाम, लोड–अनलोडलगायतले पनि निकै खर्च बढिसकेको बताए । ‘कुनै सूचनाबिना अकास्मात् अदुवा निकासी रोकिएपछि लाखौं रुपैयाँको अदुवा खेर जाने सम्भावना छ,’ उनले भने, ‘केही दिनभित्रै यसको निकास ननिकालिए व्यापारी र किसानको लाखौं रुपैयाँ लगानी डुब्छ ।’ व्यापारीका अनुसार बिब्ल्याँटे बजारबाट मात्रै बर्सेनि करिब १० करोड रुपैयाँको अदुवा कारोबार हुने गरेको छ । माउ बेच्ने बेला यहाँबाट करिब ३ करोड रुपैयाँको कारोबार हुने गरेको पौडेलले बताए।

इलामको गोदकस्थित व्यापारी पप्पु  पेडिवालको गोदाममा थन्किएको अदुवा देखाउँदै उनका सहयोगी । तस्बिरः भीम चापागाईं

जिल्लाको पूर्वी व्यापारिक केन्द्र फिक्कलनजिकै गोदक–५ का व्यापारी सुवास राईको गोदाममा पनि अहिले करिब २ सय क्विन्टल अदुवा थन्किएको छ । मंगलबारदेखि अकास्मात् अदुवा निकासी रोकिएको थाहा पाएका उनले किन र कहिलेसम्म निकासी रोकिएको भन्ने जानकारी नभएको बताए । ‘मैले अदुवाको व्यापार गरेको १९ वर्ष भो, अहिलेसम्म यस्तो अवस्था आएको थिएन,’ उनले भने, ‘किसानबाट अदुवा किनिहालियो, अब २–४ दिनमा बिकेन भने हाम्रो थुप्रै लगानी खरानी हुन्छ ।’ उनले किसानबाट प्रतिमन १ हजार ५ सय रुपैयाँसम्मले अदुवा खरिद गरेर बेच्दै थिए । तर, अचानक निकासी रोकिएकाले उनी अन्योलमा छन् ।

गोदक–१ का व्यापारी पप्पु पेडियालको गोदाममा पनि अहिले करिब ४ सय क्विन्टल अदुवा छ । उनी भन्छन्, ‘किसानबाट अदुवा किनेको दाम तिर्नु त छँदैछ, १ ट्रक अदुवा यहाँबाट सिलिगुडी पु¥याउँदा भाडाबाहेक २७ हजार रुपैयाँ खर्च हुन्छ ।’ उनले अदुवा निकासी सहज नभए व्यापारमा ठूलो घाटा लाग्न सक्ने बताए । जिल्लामा अदुवा कारोबार गर्ने ३० हाराहारी व्यापारी छन् । उनीहरूलाई गाउँबाट अदुवा किने दिने व्यापारीको संख्या सयौं छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा आर्थिक वर्ष २०७१÷७२ मा ४५ हजार ८ सय ९४ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।

गाउँ क्षेत्रका व्यापारीले किसानलाई चामललगायत दैनिक उपभोग्य सामान दिएर नगदेबालीमा भाउ मिलाउँछन् । यसो गर्दा कहिले किसान त कहिले व्यापारीलाई समस्या आउने गर्छ । गोदकका व्यापारी राई भन्छन्, ‘पछि अदुवाको माउ लैजाउँदा भनेर गाउँमा सौदा लगानी गरियो, अदुवा उठाएर ल्याइयो पनि तर अब बेच्ने बेला चाहिँ पाइएन ।’ उनले सम्बन्धित निकायले अदुवा निकासीका लागि पहल गर्नुपर्ने बताए ।

भारतीय केन्द्रीय खाद्य विभागले नेपालसँग नाका जोडिएका आफूअन्तर्गतका निकायलाई पत्राचार गर्दै नेपालबाट आएको अदुवामा मिसावट रहेको जानकारी दिएको थियो । तर, अदुवाको आयात नै रोक्नू चाहिँ नभनेको भएपनि अर्काे निर्देशन नआउञ्जेल अदुवा आयात नखुल्ने ती निकायले यसअघि नै बताइसकेका छन् । वीरगञ्ज, जोगबनीलगायत नाकामा पहिले नै अदुवा निर्यात रोकिएपनि काँकडभिट्टामा अदुवा निकासीमा अवरोध आउन थालेको करिब साता भइसकेको छ । यो भारतीय अडानले नेपाली किसान र व्यापारी भने ‘रात निद्रा न दिन भोक’ भएका छन् ।  
 
जिल्लाका बिब्ल्याँटे, मंगलबारे, फिक्कल, नयाँबजारलगायतका बजारमा अदुवाको किनबेच हुने गरेको छ । किसानले साउन–भदौमा माउ र कात्तिक–मंसीरमा अदुवाको नयाँ उत्पादन खनेर बेच्छन् । मेची राजमार्गले छोएका कोल्बुङ, हर्कटे, तीनघरे, इलाम, राँकेलगायत बजारमा पनि अदुवाको बिक्री हुने गरेको छ ।

गाउँमा उत्पादन हुने अदुवा पिकअप र घोडालाई बोकाएर बजारहरूमा ल्याउने गरिएको छ । स्थानीय व्यापारीले बारीमै पुगेरसमेत अदुवा किन्ने गरेका छन् । यहाँको अदुवा भारतीय बजारहरू नक्सल, बैंगलोर र सिलिगुडीमा बिक्रीका लागि लैजाने गरिएको छ । कृषि कार्यालयका अनुसार जिल्लाको ३ हजार २ सय ३३ हेक्टरमा अदुवा खेती हुने गरेको जनाएको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम र झापामा मात्रै ३ हजार ७ सय ७० हेक्टरभन्दा बढी  जमिनमा अदुवा खेती हुने गरेको छ । यहाँको वार्षिक उत्पादन ५५ हजार ४० मेट्रिक टन छ । नेपालमा उत्पादन हुने अदुवामध्ये ३१ प्रतिशत पूर्वका जिल्लामा मात्रै उत्पादन हुने गरेका तथ्यांक छ ।


 

 

 

प्रकाशित: १७ भाद्र २०७३ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App