coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आकर्षक पर्यटकीय गन्तव्य बन्दै अस्ट्रेलियन बेस क्याम्प

अष्ट्रेलियन बेस क्याम्प छोटो दूरीको पदयात्राको लागि उत्कृष्ट गन्तव्यको रूपमा विकास भइरहेको छ। कास्की जिल्लाको अन्नपूर्ण ६ लुम्लेमा पर्ने यो बेसक्याम्प २ हजार ६० मिटरको उचाइमा रहेको छ।

अस्ट्रेलियन बेस क्याम्प पोखरा उपत्यकाको उत्तरपश्चिमी भागमा अवस्थित छ। पोखराबाट २६ किलोमिटरको दूरीमा अवस्थित यो बेस क्याम्प पुग्न करिब २ घण्टा लाग्छ। अन्नपूर्ण बेसक्याम्प र मर्दी हिमाल जाने बाटैमा रहेको यो बेस क्याम्प पोखराबाट एक दिनको पदयात्रा पूरा गर्न सकिन्छ।  

कुनै पनि पर्यटकले पोखराको तामझामबाट निस्किएर छोटो दूरीको पदयात्रा खोजी गरिरहेका छन् भने यो क्याम्प उत्कृष्ट विकल्प हुनसक्छ। अन्नपूर्ण फेदीबाट सूर्योदय भइरहेको मनै हर्ने दृश्य यस क्याम्पको प्रमुख आकर्षण हो। यसका साथै क्याम्पको दाहिनेतर्फ अन्नपूर्ण (७२१९ मिटर) र हिउँचुली (६४४१ मिटर) र बाँयापट्टी माछापुछ«े (६९९३ मिटर) को भव्य दृश्य देख्न पाइन्छ।  

आफ्नै अगाडि टलक्क टल्किरहेका हिमाल देखेर दंग परेका पोखरा मालेपाटनका सुन्दर गुरूङ भन्छन्, ‘यहाँको वातावरण एकदमै रोममाञ्चक लाग्यो, अलि अघि हिमाल आफ्नै अगाडि उभिएझैं देखिएको थियो।’ उनले थपे ‘तलतिर हेर्दा हरियो वनजंगल यसो माथितिर फर्कियो भने हिमाल त आँखैमा बिझाउँछ झैं गरी उभिएको उभिन पुग्छ। यहाँको चिसो सिरेटो पनि मादक छ, यो पनि मलाई खुब मन प¥यो।’

यस पदयात्रामा आन्तरिक पर्यटकहरू सप्ताहन्त मनाउन बाक्लै गरी पुग्ने पिसफुल हिमालयन क्याम्पेन जोनका म्यानेजर विश्व गुरूङले बताए। उनी भन्छन्, ‘प्रायः नेपालीहरू यहाँ ‘विकएण्ड’ मनाउन आउँछन्। अरू दिन चाहिँ विदेशीहरू बढी आउँछन्।’ यस ठाउँमा असोज, कात्तिक, मंसिर, चैत, बैशाख र जेठमा धेरै पर्यटकहरू आउने गर्छन्। बर्खा र जाडोको समयमा भने अरू समयको जस्तो पर्यटकहरू नहुने उनी बताउँछन्। जाडोमा कुहिरोले हिमाल नदेखिने, अत्यधिक चिसो हुने र बर्खामा पानी पर्ने भएका कारण पनि यस बेला पर्यटकहरू कमी हुने गर्दछ।  

पोखरा नजिकैका उत्कृष्ट छोटो पदयात्रा स्थलहरू मध्येको एक यो बेस क्याम्पमा विदेशी तथा नेपाली पर्यटकहरू विशेषगरी हिमाल अवलोकन र पहाडहरूमा सूर्योदयको अनुभव गर्न आउने गर्छन्। प्रकृतिलाई नजिकबाट नियाल्दै त्यहाँको स्वच्छता महसुस गर्न पाइने यस क्याम्पमा नेपाली पर्यटकसँगै उल्लेख्य संख्यामा विदेशी पर्यटकहरू पनि पुग्छन्। यसका अलावा कतिपय पर्यटक योग तथा ध्यान गर्न र चराचुरूङ्गी हेर्नसमेत आउने गरेको बताउँछन्।  

खोटाङ केपिलासगढीका मनोज राईलाई यो पदयात्रा उत्कृष्ट लाग्यो। काँडेतर्फबाट क्याम्पमा आइपुगेका उनले छोटो दूरीको यो पदयात्रा त्यति अप्ठ्यारो र चुनौतीपूर्ण नरहेको बताउँदै भने, ‘मेरो खुट्टामा समस्या थियो तर विना कुनै बाधा आइपुगें। हिड्ने बाटो पनि खुला र राम्रो रहेछ। छोटो दूरीको पदयात्राको लागि यो रमणीय गन्तव्य हो।’

सामाजिक सञ्जाल फेसबुकबाट अष्ट्रेलियन बेस क्याम्प बारे थाहा पाएका उनी आफ्ना साथीसँग आएका थिए। सुन्दर र भव्य हिमालहरू देखेर केही समयका लागि भए पनि दुःख र पीडा भुलेको बताउने उनले भने, ‘हिमालहरू देखेर मन शान्त र खुसी भएको छ। काठमाडौं र पोखराको कोलाहलबाट यहाँ आइपुग्दा त मनै फुरुङ्ङ भएको छ। सधैं दुःख र तनावले भारी भएको मन यहाँको वातावरणकै कारण खुसीले प्रफुल्ल भएको छ।’

भारत मुम्बाईका २७ वर्षीय मोहनलाई अष्ट्रेलियन बेस क्याम्प एकदमै मनमोहक लागेको बताए। नेपालीहरूको व्यवहार र शिष्टाचार एकदमै मनपराएका मोहन धम्पुसमा बसेर यो क्याम्प घुम्न आइपुगेको बताउँदै भन्छन्, ‘हिजो मजाले हिमालहरू देखिएका थिए रे ! म अलि ढिलो आइपुगेंछु, अहिले कुहिरो लागिसक्यो तर म एकछिन बसेर घाम कुरेर हिमाल हेरेर मात्रै जान्छु। हिमाल देख्न नपाउँदा त यो ठाउँ यति सुन्दर छ हिमाल देखिँदा अझै कति राम्रो होला? म अलौकिक दृश्यको कल्पना गरिरहेको छु।’  

बिहानै पोखराबाट गएर फर्कन पनि सकिने दूरीमा रहेको यो क्याम्पमै खान बस्नका लागि सुविधा सम्पन्न होटलहरू पर्याप्त मात्रामा रहेका छन्। यो पैदल यात्रा राम्रो दृश्यहरू अवलोकन गर्न पाइने गन्तव्य हो।  

कसरी पुग्न सकिन्छ, अष्ट्रेलियन बेस क्याम्प?

अष्ट्रेलियन बेस क्याम्प काँडे र धम्पुस दुबै स्थानबाट जान सकिन्छ। पोखराबाट क्याम्पसम्म पुग्नका लागि वाग्लुङ बसपार्कबाट लोकल बस पाइन्छ भने हरिचोकबाट रिजर्भका जिप तथा ट्याक्सी पाइन्छन्।

पोखरास्थित बागलुङ बसपार्कबाट हरिचोक, सिमपान, सेतीगण्डकीको किनार हुँदै, याम्दी पुल कटेर हेम्जा, घट्टेखोला हुँदै काँडे र धम्पुस पुग्न सकिन्छ। सेती गण्डकीको किनारा र याम्दी पुलसम्मको बाटो भने केही बिग्रेको छ। याम्दी पुल कटेपछि भने ६ लेनको राम्र्रो ‘पिच’ बाटो भेटिन्छ। जसले गर्दा यात्रामा त्यति समस्या र अप्ठ्याराहरू सामना गर्नु पर्दैन।  

यदि काँडेबाट जाने हो भने घट्टेखोलाको पुल तरेर जानुपर्ने हुन्छ। घट्टेखोला तरेर नागडाँडा हुँदै अन्नपूर्ण ३ काँडे पुगिन्छ। त्यसपछि हिड्नु पर्छ। काँडेबाट १ घण्टा जतिको पदयात्रा पछि अष्ट्रेलियन बेस क्याम्प पुगिन्छ। यस्तै धम्पुस भएर पनि यो क्याम्पमा पुग्न सकिन्छ।  

 

प्रकाशित: ११ माघ २०७९ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App