उत्पादकदेखि उपभोक्तासम्म जेलिएको नेपालको चिया क्षेत्रको समस्यामा समाधान खोज्न थालिएको छ। ‘चियाको राजधानी’ मानिने सूूर्योदय नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालको चिया उत्पादन, व्यापार, बजारीकरण र ब्रान्डिङलगायत क्षेत्रमा देखिएका समस्यामा छलफल थालेका हुन्।
सूर्योदय नगरपालिकाले चिया क्षेत्रको समस्या समाधान गर्न समिति नै गठन गरेको थियो। समितिले सरोकारवालासँग छलफल गरी चिया समस्यामा समाधान खोज्न थालेको हो। समितिले चिया किसान, उद्योगी, व्यापारी, जनप्रतिनिधिलगायत स्थानीयदेखि संघीयस्तरका सबै निकायसँग छलफल गरिरहेको छ। सरोकारवालाको छलफल र सुझाव संकलन गरी चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रयास गरेको नगरको भनाइ छ। चिया क्षेत्रमा न्यूनतम् समर्थन मूल्य कार्यान्वयन, चिया प्रशोधन उद्योगको वर्गीकरण, गुणस्तरीय तयारी चियाको तेस्रो मुलुक निर्यात र विदेशी मुद्रा आर्जनलगायत क्षेत्रमा नगरले कार्ययोजना बनाउने भएको छ।
बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले बोर्डले अहिले गुणस्तरीय चिया उत्पादन र बजारीकरणको प्रयास गरिरहेको बताए। ‘चियामा लामो समययता विभिन्नखाले समस्या छन्,’ उनले भने, ‘तर, कतिपय समस्या हामीले सुल्झाइसकेका छौं, कतिपय सुल्झाउनेक्रममा छौं।’ उनले गुणस्तरीय नेपाली चिया विश्वभरका उपभोक्तासम्म पु¥याउन बोर्डले इलामसहित विभिन्न जिल्लामा परियोजनासमेत सञ्चालन गरिरहेको बताए। सबै सरोकारवाला इमान्दार बन्नसके चियाका समस्या समाधान र गुणस्तरीय चिया उत्पादन गर्न सजिलो हुने उनले बताए। त्यसक्रममा किसान, उद्योगीसहित तीनै तहका सरकारले सहकार्य र समन्वय गर्नुपर्नेमा उनको जोड छ।
सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चिया कृषि सूचीमै नपरेको भन्दै ध्यानाकर्षण गरे। उनले ‘चिया कृषक कोष’ स्थापना गरी किसानलाई सहयोग गर्नुपर्ने बताए। ‘चियाको न्यूनतम समर्थन मूल्यबारे नगरपालिकाले पटक–पटक संघीय सरकारलाई अनुरोध गरेको छ,’ उनले भने, ‘सूूर्योदयमा संघीय सरकारको कार्यविधि निर्माण नभएसम्मका लागि नगरले पारित गरेको चियासम्बन्धी कानुन नै लागु हुन्छ।’ चिया ढुवानी र अन्य सामग्रीबारे थप छलफल गरी कार्यन्वयनमा ल्याइने भन्दै मेयर राईले चिया समस्या समाधान गर्न सबै एकजुट हुन आवश्यक रहेको बताए।
चियाविज्ञहरूले चियासम्बन्धी कतिपय कानुन र नीति सुधारको आवश्यकता रहेको बताएका थिए। छलफलमा चिया किसान, उद्योगी, चियाविज्ञसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका चिया प्रवद्र्धन शाखा प्रमुखसमेत सहभागी भए।
२०७५ सालमा सूर्योदयले हरियो चियापत्तीको न्यूनतम् समर्थन मूल्यसमेत तोकिएको चियासम्बन्धी कार्यविधि निर्माण र लागू गरेको थियो। तर, कार्यविधि पूर्ण रूपमा पालना हुन नसकेको गुनासो आउनेगरेको छ। यसले चियाको गुणस्तर खस्किएको स्वयम् उद्योगी र किसान नै स्वीकार्छन्। गुणस्तरमा असर पुगेपछि चियाको मूल्यसमेत प्रभावित भएको छ।
संयोजक लामा नेपाली चियालाई जबर्जस्ती गुणस्तरहीन देखाउन खोजिएको बताउँछन्। ‘नेपाली चियामा बारम्बार भारतीय व्यापारीबाट समस्या आइरहेको छ,’ उनले भने, ‘यसको समाधानका लागि पनि पहल गर्नुपर्छ।’
विदेशी मुद्रा आर्जनको बलियो स्रोत भएपनि विशेषगरी संघीय सरकारले ध्यान नदिँदा चिया क्षेत्रले अनेक समस्या झेल्नुपरेको किसान र व्यवसायीको गुनासो छ। चियाको समस्या लामो समयदेखिको भएको र स्थानीय सरकारको मात्रै प्रयासले समाधान नहुने मेयर राई बताउँछन्। यसको दिगो समाधान खोज्न आफूले जोड दिएको उनले जनाए। चियालाई व्यापारको वस्तुमात्र नभइ सूर्योदयको ‘ब्रान्ड’ बनाउन नगरले समन्वय गर्ने उनको भनाइ छ। ‘चियाले सूर्योदय र इलामको मात्र नभइ विश्वमा नेपाललाई नै चिनाउन पनि महŒवपूर्ण भूमिका निर्वाह गर्नसक्छ,’ मेयर राईले भने, ‘उद्योगी र व्यापारीभन्दा पनि किसान चाहिँ दीर्घकालसम्म चियामा काम गरिरहेका हुन्छन् र गुजारा चलाउँछन्। उनीहरूको समस्या समाधान गर्नु हाम्रो लक्ष्य हो।’
नेपालबाट बर्सेनि सवा तीन अर्ब रुपैयाँको तयारी चिया निर्यात हुनेगरेको तथ्यांक छ। बोर्डका अनुसार सन् २०२०/०२१ मा २ करोड २७ लाख ४५ हजार किलो तयारी चिया उत्पादन भएको छ। यसमा १ करोड ५६ लाख ४१ हजार किलो सिटिसी र ७१ लाख ६८ हजार किलो अर्थोडक्स छ।
प्रकाशित: १० माघ २०७९ १२:१८ मंगलबार