१६ चैत्र २०८० शुक्रबार
अर्थ

यती एयर दुर्घटना: गोष्ठि–बैठकदेखि पाहुनाको यात्रा नै रोकियो

पोखराको पर्यटकीय क्षेत्र लेकसाईडका होटल। गत आइतबार भएको हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा असर पारेको व्यवसायीले बताएका छन। फाइल तस्बिरः नागरिक

आन्तरिक उडानतर्फ ठुलो संख्यामा मानवीय क्षति हुने गरि पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछिको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ। उक्त हवाई दुर्घटनामा १५ जना विदेशी पाहुना सहित ७२ जनाको ज्यान गएको थियो। घटनापछि पोखरा आउने विदेशी पाहुनाको आगमन प्रभावित भएको र दुर्घटनाको असर आन्तरिक पाहुनाको आगमनमा समेत परेको व्यवसायीले बताएका छन्।  

व्यवसायीका अनुसार पर्यटन क्षेत्रमा अफिसिजनको समय हो अफसिजन बाहेक कोरोना भाइरस संक्रमणपछि पर्यटन क्षेत्र अझै पनि कोरोना भन्दा अघिको अवस्थामा फर्किन सकेको थिएन। अफसिजन र कोरोना प्रभावका कारण पर्यटक आगमन आफैमा कम भईरहेको बेला हवाई दुर्घटनापछि पाहुनाको आगमनमा झनै गिरावट आएको व्यवसायीले बताएका छन्। विदेशी पाहुना आगमन बाहेक आन्तरिक पाहुनाको आगमन पनि प्रभावित भएको छ। कतिपय गोष्ठि, बैठकका कार्यक्रम पनि रद्द भएको व्यवसायीले बताएका छन्।  

‘हुन त यो बेला विदेशी पाहुना आउने समय होईन। यसैपनि कम पाहुना हुने सिजन हो। त्यसबाहेक कोरोना भाइरस संक्रमणपछि पनि पर्यटन पहिलेकै अवस्थामा फर्किन सकेको थिएन। तर, हवाई दुर्घटनापछि पाहुना आगमनमा एकाएक गिरावट आएको छ,’ लेकसाइडको एक चल्तीको होटलका प्रबन्धकले भने, ‘बढिमा २५ प्रतिशत अकुपेन्सी होला। पाहुना आउन डराएका छन्। विदेशीले पनि हवाई यात्रा रद्द गरेका छन्। गोष्ठि, बैठक समेत हालका लागि रद्द भएका छन्।’ गैरसरकारी संस्थाका गोष्ठि बैठक यो बेला बढी प्रभावित भएको ती म्यानेजरले बताए।  

स्थलमार्ग पनि यो बेला अप्ठेरो हुँदा धेरैले हवाई माध्यमलाई रोजेका थिए। तर, हवाई दुर्घटनापछि नराम्रो सन्देश फैलिएको छ। हवाई उडानबारे फैलिएका अफवाहले गर्दा हवाई यात्रुको यात्रा रोकिएको छ। त्यसको मार पर्यटन क्षेत्रमा पनि परेको उनले बताए। अहिले पोखरा–मुग्लिन राजमार्ग धमाधम बिस्तार भईरहेको छ। राजमार्ग बिस्तार हुँदा यात्रा अवधि लम्बिएको छ। त्यसबाहेक दुर्घटनापछि पोखराको मौसममा पनि खराबी देखिँदा झनै प्रभावित भएको उनले बताए।  

फिस्टेल लजका महाप्रबन्धक रोशन खवासले पनि तत्कालका लागि हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा असर परेको बताए। उनका अनुसार यो बेला अफसिजन भएकोले पोखराका होटलको अकुपेन्सी रेसियो २५ प्रतिशत हाराहारीमा थियो। त्यही माथि पर्यटन क्षेत्रलाई मार पार्नेगरि हवाई दुर्घटना हुँदा त्यसको असर झनै थपिएको उनले बताए। ‘दुर्घटनापछि तत्कालका लागि बुकिङ रद्द पनि भएको हो। तर, सबैले दुर्घटनालाई एकैखालले लिँदैनन। कतिपयले दुर्घटनालाई भवितव्य घटनाका रुपमा लिएर आफ्नो योजना अनुसार घुमघामलाई निरन्तरता पनि दिए,’ उनले भने, ‘केहीले भने तत्कालै रद्द गरेका थिए। तर, प्रभावै नपरेको भन्ने चाहिँ होइन।’

स्थलमार्गको यात्रा झन्झटिलो हुँदा पछिल्लो समय आन्तरिक यात्रुले पनि हवाई मार्ग रोज्न थालेका थिए। आन्तरिक यात्रु थपिँदा कोरोना भाइरसपछिको अवस्थामा पनि पर्यटन क्षेत्रलाई केही राहत मिलेको थियो। तर, अहिले आन्तरिक पाहुनाको आगमन पनि प्रभावित भएको व्यवसायीले बताएका छन्। ‘सिंगो मुलुकलाई नै यो घटनाले स्तब्ध तुल्याएको छ। विभिन्न मुलुकका पाहुना यो घटनामा परेका छन। जसले गर्दा पर्यटन क्षेत्रमा असर पर्ने पक्का भयो,’ खवासले भने, ‘पर्यटनमा यो प्रभाव अझै केही महिना रहिरहन्छ। हवाई यात्रामाथि तत्कालका लागि प्रश्नचिन्ह् उठेको छ। यो सुधार हुन केही समय लाग्छ।’

अर्काे ल्याण्डमार्क होटलका संचालक ओमप्रकाश पाण्डेले पनि पाहुनाको आगमन दुर्घटनापछि प्रभावित भएको बताए। उनका अनुसार होटलमा न्यून संख्यामा मात्र पाहुना छन। आउन चाहेका भारतीय पाहुना त हवाई यात्रालाई रद्द गरेर स्थलमार्गबाट आउने तयारी गरिरहेका छन्। ‘हवाई यात्राबारे पुरै अफवाह फैलिएको छ। नेपालको हवाई यात्रा असुरक्षित भनेर धेरैतिर हल्ला फैलिएको छ। त्यसले गर्दा पनि यात्रा रद्द भएको हो,’ उनले भने, ‘पाहुना आगमन नै प्रभावित भएको छ। आन्तरिक पाहुना पनि यो बेला छैनन। पर्यटन क्षेत्र सुनसानजस्तै बनेको छ।’

व्यवसायीका अनुसार पोखरामा भएको हवाई दुर्घटनापछि विभिन्न खाले अफवाह फैलियो। त्यसमाथि अन्तर्राष्ट्रिय संचारमाध्यममा फरक फरक तरिकाले यो दुर्घटनाबारे ब्याख्या गरियो। जसका कारणले गर्दा आउन चाहेका पाहुना पनि त्रसित बनेको व्यवसायीले बताएका छन्।

‘कतिपय दुर्घटनालाई सामान्य रुपमा पनि लिएका छन्। तर, धेरैले यो दुर्घटनापछि नकारात्मक चर्चा बढि फैलिन पुग्यो, जसले गर्दा पर्यटन क्षेत्रमा नराम्रो असर परेको हो,’ उनले भने। उनका अनुसार होटलमा मात्र पाहुना नभई हवाई यात्रामा पनि यात्रु छैनन। आधाजति यात्रु बोकेर हवाई जहाज उडिरहेको उनले बताए।  

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष समेत रहेका माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई पनि हवाई दुर्घटनापछि पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएको बताउँछन्। उनका अनुसार पाहुनाहरु हवाई यात्रा गर्नबाट हिचकिचाएका पनि छन । ‘होटलमा बसेका पाहुनाको हवाईजहाजमै फर्किने तालिका थियो। तर, दुर्घटनापछि हवाई यात्रा रद्द गरेर गाडि रिजर्भ गरेर फर्किए,’ उनले भने, ‘सधै यस्तो त हुँदैन। केही समयपछि त घटना सामसुम भईहाल्छ। तर, तत्कालका लागि भने दुर्घटनाले नकारात्मक असर पारेको छ।’  

उनका अनुसार यो बेला पोखरामा पाहुना कम छन्। कोरोना संक्रमणको प्रभाव अझै पनि पर्यटन क्षेत्रमा छ। त्यसले गर्दा पनि पहिलेजस्तो पाहुना थिएनन। त्यसैमाथि यस्ता घटना हुँदा झनै असर परेको उनले बताए। ‘नेपालको हवाई क्षेत्रलाई नै असर पार्नेगरि दुर्घटनाको सन्देश फैलिएको छ। यसले गर्दा पनि हवाई यात्रालाई तत्कालका लागि प्रभाव पारेको छ,’ भट्टराईले भने, ‘घटनाबारेको वास्तविकतालाई जतिसक्दो छिटो बाहिर ल्याएर नकारात्मक सन्देशलाई चिर्नुपर्छ।’

प्रकाशित: ५ माघ २०७९ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App