३ माघ २०८१ बिहीबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा पुँजीगत खर्च परिचालनको अवस्था निराशाजनक

आर्थिक वर्षको आधा समय घर्किँदासम्म ताप्लेजुङमा पुँजीगत खर्च परिचालनको अवस्था निराशाजनक देखिएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशतर्फको पुँजीगत खर्च परिचालन ९ प्रतिशत भन्दा कम देखिएको छ।

कोलेनिकाका लेखापाल शंकर राउतका अनुसार संघ र प्रदेशतर्फको चालू खर्च परिचालनको तुलनामा पुँजीगत खर्च परिचालन ज्यादै कम देखिएको हो। सामान्य अर्थमा विकास निर्माणका लागि विनियोजन भएको बजेटलाई पुँजीगत बजेट भनिन्छ।

कोलेनिकाका अनुसार ताप्लेजुङमा चालू आवमा प्रदेशतर्फ १६ करोड ४८ लाख २८ हजार रुपैयाँ पुँजीगत बजेट रहेकोमा पुस मसान्त सम्ममा १ करोड ३९ लाख ५ हजार ९ सय ३ रुपैयाँ मात्र खर्च भएको छ। यसमा विनियोजित बजेटका हिसाबले खर्च परिचालन प्रतिशत ८.४३ मात्र हुन आउँछ। यता संघतर्फ १८ प्रतिशत भन्दा कम पुँजीगत बजेट खर्च भएको छ।

लेखापाल राउतका अनुसार संघतर्फ चालू आवमा ९२ करोड ६ लाख ८२ हजार रुपैयाँ बजेट रहेकोमा पुस मसान्त सम्ममा १६ करोड ५२ लाख ७५ हजार ९ सय ७० रुपैयाँ मात्र खर्च भएको छ। यो कूल पुँजीगत बजेटका हिसाबले खर्च प्रतिशत १७.९५ मात्र हो।

पुँजीगत बजेटको तुलनामा चालू खर्च भने निकै बलियो रूपले भएको देखिएको छ। संघतर्फ चालू आवमा ४ अर्ब ३७ करोड ६६ लाख ८१ हजार ५ सय ३५ रुपैयाँ बजेट रहेकोमा १ अर्ब ९८ करोड ६६ लाख ३७ हजार ६ सय ८ रुपैंया खर्च भई खर्च प्रतिशत ४५.३९ देखिएको छ।

प्रदेशतर्फ भने पुँजीगतको तुलनामा चालू खर्च तीन गुणा भन्दा बढी देखिएको छ। कोलेनिकाका अनुसार प्रदेशतर्फ चालू आवको चालू बजेट ३८ करोड ३४ लाख ४२ हजार रुपैयाँ रहेकोमा पुस मसान्त सम्ममा १० करोड ५३ लाख ७५ हजार ६ सय ४५ रुपैंया खर्च भएको छ। यो भनेको २७.४८ प्रतिशत हो।

पुँजीगत खर्च परिचालन राम्रो हुन नसक्नु भनेको विकास निर्माणका लागि विनियोजन भएको बजेट उपयुक्त ढंगले परिचालन नभएको अवस्थालाई जनाउँछ। साउन १ गतेबाट सुरु भएको चालू आव २०७९।०८० को ६ महिने अवधिमा चालू बजेट परिचालनको यो अवस्थाले विकासको गतिमा सुस्तता छाएको संकेत दिएको छ।

अर्थशास्त्रीहरुले पुँजीगत खर्चलाई सम्पत्ति जोहो मात्र नभएर थप सम्पत्ति आर्जनको माध्यमको रुपमा समेत विश्लेषण गर्ने गर्छन्। उनीहरुका भनाईमा पुँजीगत खर्च परिचालनले पुँजी निर्माण, उत्पादकत्व, आर्थिक वृद्धि र रोजगारी बढाउने र गरिबी घटाउने काम गर्छ।

प्रकाशित: ४ माघ २०७९ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App