देशकै प्रमुख १० भन्सार मध्ये जिल्लाको कृष्णनगर भन्सारमा चालु आर्थिक बर्ष २०७९/८० को आधा अवधिमा लक्ष्यको आधा भन्दा कम राजस्व संकलन भएको छ।
चालु आर्थिक वर्षको ६ महिनाकालागि कुल ३ अर्ब ७५ करोड ४४ लाख उठाउने लक्ष्य रहे पनि १ अर्ब ७५ करोड २४ लाख मात्र राजस्व संकलन भएको भन्सार अधिकृत ठाकुर गौतमले जानकारी दिए। जुन लक्ष्यको ४९ दशमलव ३४ प्रतिशत मात्र हुन्छ।
चालु आर्थिक बर्षकालागि ७ अर्ब ६९ करोडको लक्ष्य दिइएको छ। गएको ६ महिना भित्र कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन भएको छैन। गत असारमा ५१ करोड ३४ लाख लक्ष्य रहे पनि ३४ करोड ४ लाख मात्र राजस्व संकलन भएको छ। जुन लक्ष्यको केवल ५९ दशमलव ६३ प्रतिशत हुन्छ।
भदौमा ६३ करोड ३२ लाख लक्ष्य रहेकोमा ४७ करोड ३ लाख उठेको छ। जुन लक्ष्यको ६८ दशमलव ७४ प्रतिशत मात्र हुन्छ। असोजमा ६३ करोड ६२ लाख लक्ष्य मध्ये ३६ दशमलव २५ प्रतिशत अर्थात २५ करोड ३१ लाख मात्र उठेको छ। यस्तै कार्तिकमा ६० करोड ९२ लाख लक्ष्य मध्ये ३६ दशमलव ५७ प्रतिशत अर्थात २४ करोड २ लाख मात्र उठेको छ।
मंसिरमा ६६ करोड २४ लाख लक्ष्य मध्ये ३७ दशमलव ४० प्रतिशत अर्थात २६ करोड ७७ लाख उठेको छ। पुसमा ६९ करोड ९८ लाख मध्ये ४० दशमलव ६५ प्रतिशत अर्थात २८ करोड ४४ लाख मात्र राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा कम्तीमा लक्ष्यको ३६ देखि बढीमा ६८ प्रतिशत मात्र राजस्व उठेको देखिन्छ।
सबै भन्दा बढी चामलमा भन्सार राजस्व उठेको अधिकृत गौतमले बताए। भन्सार नाकाबाट चामल फलफूल, खरानी, जिप्सम, आइरन डस्ट आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार कर्मचारीहरू बत्ताउँछन्। यस्तै कोइला, जिरा चामल र कनिका, खसी बोका, फलफूल, तरकारी, कपडा, जुत्ता चप्पल र औद्योगिक मेसिनरीका पाट पुर्जा आयातबाट पनि राजस्व संकलन हुने गरेको छ।
आर्थिक बर्ष २०७८/०७९ मा तोकिएको लक्ष्यको ९३ दशमलव ४६ प्रतिशत मात्र राजस्व उठेको थियो। भन्सारमा गत आर्थिक बर्ष ५ अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व संकलन भएको थियो। भन्सार प्रमुख गगन विश्वकर्माले विगतको तुलनामा आर्थिक गतिविधिहरूमा कमी भएकाले त्यसको असर भन्सार असुलीमा पनि परेको बताए।
२ वर्षका अघिको कोरोनाको असर अहिले देखिएकोले यस्तो अवस्था आएको उनले बताए।
‘आर्थिक मन्दीले गर्दा व्यापारीहरूले विगतको तुलनामा कम मात्र सामान आयात गरेका छन् ’ उनले भने।
कृष्णनगर मात्र होइन देशका कुनै पनि भन्सार नाकामा चालु आर्थिक वर्षमा लक्ष्य अनुसार भन्सार राजस्व नउठेको उनले बताए।
प्रकाशित: ४ माघ २०७९ १६:११ बुधबार