१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सातौं म्याग्दी महोत्सवको तयारी पूरा

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बिहिबारदेखि सुरु हुन लागेको सातौं म्याग्दी महोत्सवको तयारी पूरा भएको छ। म्याग्दी सदरमुकाम बेनीको खुलामञ्चमा पुस २८ गतेदेखि माघ ७ गतेसम्म हुने सातौं म्याग्दी महोत्सव, माघेसक्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको सबै तयारीलाई पूरा भएको हो।

हालसम्म महोत्सवस्थल खुलामञ्चमा व्यापारिक स्टल निर्माण, बेनीबजारमा सरसफाइ तथा बजार सजावट, महोत्सवको प्रचारप्रसार, टिकट बिक्री तथा वितरण, अतिथि निमन्त्रणा एवं कलाकार व्यवस्थापनलगायत आन्तरिक तयारी सबै पूरा भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका मूल संयोजक बेलबहादुर कटुवालले बताए। महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

उनले बेनीबजारभित्र सिसी क्यामेरा जडानसहित अन्य सम्पूर्ण तयारी भएकाले निर्धक्क महोत्सवमा अवलोकन गर्न आउन समेत अनुरोध गरेका छन्। महोत्सवलाई लक्षित गरी बेनीबजारलाई बेहूली झै धपक्क सिंगारिएको छ। यसवर्ष पनि १० दिनसम्म म्याग्दीको बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसंक्रान्ति मेलालाई जगाउन माघी पर्वको अवसर पारेर महोत्सव आयोजना गरिएको प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए। महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री–वितरण, कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको प्रथम उपाध्यक्ष श्रेष्ठले बताए। महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु रहने छन्भने फोटो र वृत्तचित्र प्रदर्शनी गरिनेछ।

यसैगरी महोत्सवको आकर्षणतर्फ कालीगण्डकी नदीमा ¥याफ्टिङ, लभ्लीहिलसम्म घोडा सफारी, धौलागिरि बेसक्याम्पसम्म हेलिकप्टरमा सयर, खुल्ला लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिता, जातजाति, जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगितालगायत रहेको संघका महासचिव अमित बानियाँले बताए। त्यस्तै महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी खेलकुद तथा रमाइलो मेला समेत गरिने जनाइएको छ। महोत्सवमा आयतर्फ कुल एक करोड २४ लाख ८७ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने व्ययतर्फ एक करोड १५ लाख ७७ हजार दुईसय ११ रुपैयाँ प्रस्ताव गरिएको छ।

म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं मुख्य आयोजक रहेको सातौं म्याग्दी महोत्सव एवं माघेसंक्रान्ति मेलाको आयोजकमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका आयोजक रहेका छन भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ। म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसंक्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो। हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको हो।

प्रकाशित: २७ पुस २०७९ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App