३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

केदार आचार्य जो मलेसियन मालिकको प्रेरणाले कृषिमा लागे

टनेलको नर्सरीमा फलफुलका विरुवा स्याहार्दै बागलुङ जैमिनी—१० का किसान केदार आचार्य । तस्बिर: संगम/नागरिक ।

जिल्लाको जैमिनी नगरपालिका—१० राङखानीका केदार आचार्यको घरमा पुग्दा कुनै कृषि अनुसन्धान केन्द्र पुगे जस्ता भान हुन्छ। घर वरिपरि विभिन्न प्रजातिका फलफुल र तकारीका बोट विरुवा देखिन्छन्। नजिकै मौरीका घार छन्, अर्को छाप्रो भित्र भर्खर च्याउ पलाउन थालेका छन्। टनेल भित्र सुन्तला कागती लगायतका विभीन्न प्रजातिका नर्सरी छन्। उनी भन्छन्, ‘कतिपय व्यवसायीक रुपमा खेती गरेको छु, कतिपय आफ्नो शोख र रुचीका लागि लगाएको छु।’ चार दशकको जीवनमा उनले थुप्रै उतार चढापहरु पार गरेका छन्। वैदेशिक रोजगारीका लागि उनले दुबई र मलेसियामा ६ वर्ष बिताएका छन्।

तीन वर्ष दुबई बिताएर मलेसिया पुगेछि उनलाई आफैले केही गर्नुपर्छ भन्ने ब्रह्मज्ञान प्राप्त भएको हो। त्यो ज्ञान अरु कसैले नभई उनले काम गर्ने कम्पनीका मालिकले उनलाई दिएका थिए। आचार्य मलेसिको मिडास मार्ट कम्पनीमा क्यासियरको रुपमा पुगको थिए। त्यहाँ काम गर्दा उनले उत्कृष्ट क्यासियरको पुरस्कार पनि थापे। चिनीयाँ मूलका मलेसियन नागरिक मिस्टर खोएको कम्पनी थियो। कम्पनीमा उत्कृष्ट काम गर्दै गएपछि मिस्टर खोए आचार्यसंग नजिक भए। उनीहरुबीचमा घरायसी पारिवारिक कुराकानी हुन थाल्यो। एक दिन कुराकानीको प्रसङ्गमा मिस्टर खोएले आचार्यलाई सोधे—तिमी मेरो कम्पनीमा कति वर्ष काम गर्छौं ? आचार्यको सहज जवाफ थियो, ‘मिल्यो भने १० वर्षजति बस्छु होला।’

त्यसपछि मिस्टर खोएले सम्झाउँदै भने—‘मैले तिमीलाई कति नै तलब दिन्छु र, १० वर्षमा धेरै कमाए ५०÷६० लाख रुपैयाँ कमाउला। त्यसपछि तिमी बुढो हुन्छौं। त्यति पैसाले तिमीले के के गरेर भ्याउँछौं। छोराछोरी पढाउँछौं कि घर बनाउँछौं?’ त्यो बेला मलेसियामा कम्पनी मालिकले भनेको कुरा सम्झदै आचार्य भन्छन्,‘तिमी तीन वर्षको कन्ट्रयाक्ट सकेर नेपाल जाउ। सानै भए पनि आफ्नै व्यवसाय गर। मैले पनि बोतल बिक्री गरेर आफ्नो काम सुरु गरेको थिएँ, अहिले ७० वर्षको हुँदा यो कम्पनीको मालिक भएको छु। बरु म तिमीलाई केही रकम बीउ पूँजी दिन्छु। यो कुरा सुनेपछि मैले पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने योजना बनाउन थालें।’

तीनवर्षको सम्झौता सकिएर फर्किदा केदारलाई कम्पनी मालिकले नेपाली ५० हजार रुपैयाँ केही व्यवसायिक क्षेत्रमा लगानी गर्नका लागि भनेर दिएका थिए। ‘घर फर्किने बेलामा साहुले कसैलाई नदेखाई खाममा हालेर नेपाली ५० हजार दिएका थिए, म त्यो बीउ पूँजी र केही कृषिका बीउहरु लिएर नेपाल आएँ,’ उनी भन्छन्,‘बीउ पूँजी लगानी गरेर कृषिकर्म सुरु गरें। दुर्भाग्य त्यो बेला ल्याएको बीउ भने मैले यहाँ उमार्न सकिन।’ त्यो बेला उनले एभोकाडो, ड्रागन, सापोटा लगायतका फलफुलको बीउ लिएर आएको बताउँछन्। मलेसियाको मार्टमा काम गर्दा किसानहरु प्रत्यक्ष सम्पर्क हुन पुगेकाले कृषिप्रति आफू अझ बढि आकर्षित भएको उनको भनाइ छ।

‘हुन त हाम्रो यहाँ पनि कृषि त हुन्थ्यो नै निर्वाहमुखी थियो,’ उनी भन्छन्,‘मलेसियामा काम गर्दा मैले प्रत्यक्ष रुपमा किसानहरुसंग भेट्ने र उनीहरुसंग बार्गेनिङ गरेर मार्टका लागि कृषि सामग्री राख्ने गरेकाले मलाई अझ बढि ज्ञान भयो। च्याउ खेतीमा मेरो बढि रुची थियो।’ अहिलेको सबै खेतीपाती आफू मलेसिया बस्दाकै योजना रहेको उनी सुनाउँछन्। २०७२ सालमा मलेसियाबाट फर्केपछि आचार्यले २०७३ सालको जेठबाट आफ्नै जन्म ठाउँमा आचार्य नमुना जैविक कृषि फार्म, ढोरपाटन फ्यामिली फार्मस्टे दर्ता गरेर व्यवसायिक खेतीमा लागेका छन्। उनले बारीमा व्यवसायिक रुपमै अलैचीको फसल र अलैचीको विरुवा तथा फलफुलका विरुवा र स्थानीय प्रजातिका तरकारीहरु उत्पादन गर्न गर्छन्।

त्यसका साथै मौरी पालन र च्याउखेतीमा पनि लागेका छन्। उनले अलैची र फलफुल नर्सरीलाई व्यवसायिक रुप दिई सकेका छन् भने अन्य भर्खर सुरुवात गरेका छन्। ‘अलैचीको दाना र विरुवा दुबै विक्री गर्न थालिसकेको छु,’ उनी भन्छन्,‘फलफुलका विरुवा पनि व्यवसायिक रुमा बिक्री गर्ने गरेको छु। गतवर्ष १५ हजार विरुवा विक्री गरें।’ आचार्यको १५ रोपनी बारीमा अलैची र त्यसको नर्सरी छ। विदेशबाट फर्कदा बित्तीकै लगाएको अलैची गतवर्ष रोगले सखाप पा¥यो। अहिले उनले पुनः नयाँ भार्लाङ प्रजातिको अलैची लगाएका छन्। ‘सुरुमा लगाएको अलैची रोगले सबै सखाप भयो, छिर्केफिर्के र गानो कुहिने रोग लागेर गतवर्ष सबै अलैची उखेलेर नयाँ विरुवा लगाएँ,’ उनी भन्छन्,‘बचेकुचेका शिला टिप्दा एक क्वीन्टल जति दाना भएको थियो।’

उनले आफूले मात्रै उत्पादन गरेको नभई अन्य किसानले उत्पादन गरेका अलैची संकलन गरेर बिक्री गर्ने समेत गरेका छन्। अलैचीको मूल्य अन्तर्राष्ट्रिय व्यापारीको हातमा भएका कारण कहिले राम्रो मूल्य पर्ने कहिले मूल्य नै नपर्ने अवस्था रहेको उनको अनुभव छ। ‘मैले यहाँका छिमेकी ठाउँहरुका किसानले लगाएका अलैची समेत किनेर बिक्री गर्ने गर्छु,’ उनले भने,‘गतवर्ष अलैचीको राम्रो मूल्य थियो। एक हजार दुई सय रुपैयाँ किलो विक्री भएको थियो। यो वर्ष मूल्य एकदमै ओरालो लाग्यो। जम्मा ६ सय रुपैयाँ किलो बिक्री गरियो। अन्तर्राष्ट्रिय व्यापारीको अधिनमा बजारमूल्य छ, त्यसले गर्दा मूल्यमा निकै ठूलो ह्रास आयो।’

अरु खेतीमा जस्तो दुःख नहुने भएकाले अलैची खेती सजिलो भए पनि मूल्य पाउने नपाउने ग्यारेन्टी नभएको उनी बताउँछन्। सुरुमा एक लाख रुपैयाँको लगानीबाट सुरु गरेको उनको कृषि कर्ममा अहिले ५५ लाख बढिको लगानी परेको छ। एउटै टनेल निर्माण गर्न चार लाख भन्दा बढि खर्च भएको छ। उनको फार्ममा चार वटा टनेल छन्। पाँच रोपनीको जग्गामा विभीन्न फलफुलका नर्सरी तथा तकारी लगाएका छन्। नगदेवाली रुद्राक्ष, बोधिचित्त,  ओखर लगाएका छन्। सुन्तला, कागती, किवी, आरु, आरु बखरा, नास्पाती पनि उनको फार्ममा छन्। फलफुलका विरुवा बिक्रीमा अलिकति समस्या भएको उनले सुनाए।

‘खुला सिमाना छ, भारतबाट सस्तोमा विरुवा आउँदा हामीले उत्पादन गरेको विरुवा बिक्री गर्न अलि समस्या छ,’ आचार्यले भने। आचार्यको कृषि कर्मलाई सरकारले पनि राम्रै साथ दिएको छ। संघ, प्रदेश र स्थानीय सरकारबाट गरी उनले २७ लाख रुपैयाँको अनुदान पाएका छन्। कृषि अनुसन्धान केन्द्र (नार्क) लुम्लेले पनि दुई लाख बराबरको कृषि सामग्री सहयोग गरेको छ। यो वर्ष पनि दुई लाख बराबरको सामग्री सहयोग गर्ने तयारीमा रहेको उनी बताउँछन्। राङ्खानीमा हावापानीमा उत्पादन हुने मौसमी सबै र बेमौसमी तरकारी र फलफुल पनि उत्पादन गर्ने आचार्यको सोचाई छ। अहिले उनी निरन्तर फार्मकै विस्तारैमा केन्द्रित छन्।

‘म यहाँको मालिक र कामदार सबैं हुँ, कहिलेकाही धेरै काम हुँदा ज्यालादारीमा लगाउँछु,’आचार्यले भने,‘श्रीमतीले सघाउँछिन्। बुबा पनि आउनुहुन्छ।’ व्यापार व्यवसाय आचार्य परिवारको पुरानै पेशा हो। उनको बुबाले हाते कागज उद्योग पनि सञ्चालन गर्थे। अहिले सञ्चालनमा छैन। बुबा आमा राङ्खानीकै डाँडाखानीमा व्यापार गरेर बस्छन्। १० वर्ष  र ७ वर्षका दुई छोरी गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गर्छन्। फार्मको र घरको खर्च कटाएर अहिले वर्षमा ५÷६ लाख रुपैयाँ जोगाउँछन्।

‘अहिले नै मैलै आम्दानी खाईहाल्ने बेला भएको छैन, भर्खर खेतीपाती सिक्दैछु,’ उनी भन्छन्,‘फलफुलका विरुवाहरु भर्खर हुर्कदैछन्। अबको ५/७ वर्षपछि राम्रै आम्दानी हुन्छ भन्ने विश्वास छ।’ आफ्नै माटोमा आफैले उत्पादन गरेर आफै टिपेर खान पाउँदा सबैभन्दा ठूलो आत्म सन्तुष्टी हुने गरेको उनी बताउँछन्।  

प्रकाशित: २५ पुस २०७९ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App