२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सवारीसाधन जाँच-पास सहज बनाउन माग

अटो व्यवसायीहरूले भन्सारमा आइपुगेका सवारी साधनको भन्सार जाँच-पास सहज बनाउन माग गरेका छन्। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ नेतृत्वको टोलीले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटेर नेपालका भन्सार नाकाहरूमा जम्मा भएका सवारी साधनहरूको भन्सार जाँचपास सहज बनाउन आग्रह गरेका हुन्।

सरकारले विभिन्न चरणमा ल्याएका नितिहरूको कारण अटोमोवाइल व्यवसाय धरासायी बनेको गुनासो गरे। बैंक लगायतका वित्तीय निकायहरूले लगाएको उच्च ब्याज दर, अटो लोन हायर पर्चेज कर्जामा जोखिम भार १ सय ५० प्रतिशतमा पुर्‍याइएको, बैंकहरूबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पुर्‍याइएकाले सवारी साधन बिक्री हुन नसकेको बताए।

नाडाका उपाध्यक्ष श्रेष्ठले व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनको बिक्री समेत दुई तिहाइले घटेको जानकारी दिए। नाडाका पूर्व अध्यक्ष सुनिल खेतानले भन्सार जाँच पासका लागि विभागले तोकेका सबै कागजात पेश गर्दा पनि भन्सार जाँच पासमा कठिनाइ उत्पन्न भएको बताए। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले कोभिडको समयमा नियन्त्रणमा आएको अनधिकृत आयात अहिले निकै बढ्न थालेको बताए।

ह्वीलर समितिका सभापति अभिक ज्योतिले उच्च व्याज दरका कारण मोटरसाइकलको आयातमा ५० प्रतिशतले कमी आएको बताए।

कार्यक्रममा महानिर्देशक बुढाले सरकारलाई राजस्व संकलनको दबाब परिरहेको बताउँदै विभागले व्यवसायीहरूका मागलाई यथासम्भव सम्बोधन गर्ने बताए।

बुढाले नेपालका भन्सार नाकाहरूमा आइसकेका सवारी साधनहरूको भन्सार जाँच पासमा यथासंम्भव सहजीकरण गर्ने बताए। 

प्रकाशित: २१ पुस २०७९ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App