१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कालीगण्डकीको म्याग्दी क्षेत्रमा नियमित जलयात्रा सञ्चालन गरिने

मंगलबार परीक्षणको रुपमा गरिएको जलयात्रा। तस्बीर: हरिकृष्ण

छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’ को रुपमा चिनिएको काली गण्डकी नदीको म्याग्दी खण्डमा नियमित जलयात्रा (र्‍याफटिङ्ग) सञ्चालन सुरू भएको छ।

प्रशस्तै सम्भावना भएपनि नियमित सञ्चालन हुन नसकेको अवस्थामा बेनी नगरपालिका–८, कालीपुलमा हालै सञ्चालनमा आएको काली गण्डकी होटलका सञ्चालक गमबहादुर पुनले स्पाइसी र्‍याफटिङ्ग प्रालिसँगको सहकार्यमा बेनीबाट नियमित सञ्चालन गर्ने गरी मङ्गलवार देखी छोटो र लामो दुरीको जलयात्राका लागि परीक्षण गरिएको छ।

म्याग्दी र मुस्ताङका विभिन्न पर्यटकीय स्थलका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नियमित सञ्चालन गरिने होटल व्यवसायी गमबहादुर पुनले बताए। अब नियमित जलयात्राको सुविधा छ,‘तीन वटा प्याकेजमा सञ्चालन गरिने छ’ पुनले भने। उनका अनुसार करिब ३ किलोमिटरमा खानाको सुविधा सहित प्रति व्यक्ति १२ सय रुपैयाँबाट सुरु गरिएको छ।

उनका अनुसार प्रसिद्ध धार्मिक स्थल गलेश्वरबाट म्याग्दी र काली गण्डकीको सङ्गम स्थलसम्म छोटो दुरी तथा गलेश्वर–मालढुंगासम्मको दुरीमा म्याग्दी, बागलुङ र पर्वतबाट समेत बिदासहित अन्य समयमा जलयात्राका लागि आकर्षित गर्न सकिने बताए।

गलेश्वरदेखि मिमीसम्मको तीन वटा प्याकेट तयार गरिएको छ। यस अगाडी दुरीको अध्ययन तथा अवस्थाका बारेमा भिडियो सहितको विवरण संकलन समेत गरिएको थियो। जलयात्रामा प्रख्यात काली गण्डकीमा विदेशी पर्यटकको तुलनामा आन्तरिकको समेत आकर्षण ह्वात्तै बढेको छ।

आगामी पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने सातौँ म्याग्दी महोत्सवको प्रमुख आकर्षकमध्ये जलयात्रालाई समेत राखिएको छ। म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे सङ्क्रान्ति पर्वको अवसरमा महोत्सवका साथै गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा अत्यधिक चाप हुने गरी प्रचारप्रसार भइरहेको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए। ‘अब जलयात्रालाई नियमित सञ्चालन गर्ने गरी प्रोत्साहन गछौं, जलको सदुपयोग गरी पर्यटक भित्राउन सकिन्छ’ अध्यक्ष कटुवालले भने।

लामो, समथर र कम बहाव भएकाले पनि कालिगण्डकीका जलयात्रा गर्ने गरिन्छ। एक पटक १० जनासम्म चढ्न मिल्छ। काली गण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरू आकर्षित हुने गरेका छन्। गलेश्वर बेनी ३ किलोमिटर र बेनीदेखि मालढुङ्गासम्म करिब १२ किलोमिटर जलयात्रालाई विगतमा समेत प्रयास गरिए पनि म्याग्दी खण्डमा व्यवसायी आकर्षित हुन सकेका थिएनन्।

पर्वतको जलजला गाउँपालिकाको नाईलिवाङदेखि पानीको सतह घटेसँगै तीन दिने लामो जलयात्रा मालढुंगा हुँदै स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको काली गण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशय सबैभन्दा लामो यात्रा मानिन्छ।

प्रकाशित: १९ पुस २०७९ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App