८ वैशाख २०८१ शनिबार
अर्थ

निर्माण उद्योगका समस्या समाधान गर्न माग

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सोमबार उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र रवि लामिछानेलाई छुट्टाछुटै भेटवार्ता गरेर निर्माण उद्योगमा देखिएका समस्या समाधान गर्न अनुरोध गरेका छन्। महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्रीद्वयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। महासंघ प्रतिनिधिमण्डलसँगको छलफलमा उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आयाम भएको बताए। निर्माण उद्योग सक्षम तथा सबल हुनुपर्ने भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूसँग यस उद्योगमा देखिएका समस्याबारे छलफल गर्न सरकार तयार रहेको बताए।

तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न उनले निर्माण व्यवसायीलाई अनुरोध गरे। उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्माण उद्योगका समस्याबारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्या बारे अध्ययन गरी समाधान खोजिने जानकारी दिए। उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले व्यवसायीहरूलाई कसेर होइन उनीहरूसँग सहकार्य गरी अघि बढ्ने सोचमा सरकार रहेको प्रष्ट पारे।

उनले जनचाहना अनुसार गुणस्तरीय निर्माण कार्यलाई प्राथमिकता दिन व्यवसायीहरूलाई सुझाव दिएका छन्। उपप्रधानमन्त्रीद्वय समक्ष महासंघका अध्यक्ष रवि सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको बताए। सार्वजनिक खरिद कानुन अनुसार निर्माण व्यवसायीहरूले पाउनुपर्ने बीस प्रतिशत मोबिलाइजेसन रकम उपलब्ध गराउन अध्यक्ष सिंहले आग्रह गरे।

निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको अध्यक्ष सिंहले बताउनुभयो। उपप्रधानमन्त्रीद्वयको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षा लगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ । 

प्रकाशित: १९ पुस २०७९ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App