४ वैशाख २०८१ मंगलबार
अर्थ

६ लाख बढी पर्यटक भित्रिए

सन् २०२२ मा ६ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल भ्रमणका लागि आएका पर्यटकको संख्याको आधारमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ (जनवरी-डिसेम्बर) मा भारतबाट २ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। जम्मा ६ लाख १४ हजार १ सय ४८ पर्यटक नेपाल भ्रमणको लागि भित्रिएकोमा भारतबाट मात्रै २ लाख ९ हजार १ सय ५ पर्यटक नेपाल भित्रिएका हुन्। यो कुल संख्याको करिब ३५ प्रतिशत हो।

पर्यटक संख्या आगमनको आधारमा अमेरिका दोस्रो स्थानमा रहेकोे तथ्याङ्कले देखाएको छ। अमेरीकाबाट सन् २०२२ मा ७७ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। यो कुल संख्याको १४ प्रतिशत हो।

यस्तै अमेरिकापछि बेलायत, अष्ट्रेलिया र बंगलादेश क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन्। बेलायतबाट ४४ हजार ७ सय, अष्ट्रेलियाबाट २६ हजार ८ सय, र बंगलादेशबाट २५ हजार ३ सय पर्यटक नेपाल भित्रिएका छन्।

यस्तै सबैभन्दा कम पर्यटक युक्रेनबाट भित्रिएको तथ्याङ्कले देखाएको छ। युक्रेनबाट १ हजारको संख्यामा मात्र पर्यटक नेपाल भित्रिएका छन्। यो कुल संख्याको ०.१७ प्रतिशत मात्र हो।

कोभिड महामारीको कारण पर्यटक आगमन करिब २ वर्ष ठप्प जस्तै भएको थियो। यसै क्रममा सन् २०२० मा ४२ हजार ७ सय ७६ पर्यटक नेपाल भित्रिएकोमा सन् २०२२ को पर्यटक आगमन संख्या सुधारोन्मुख देखिएको छ।

विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन आगमन गत बर्षदेखि विस्तारै लयमा फर्कने क्रममा छ। छिमेकी मुलुक चीन, दक्षिण कोरिया लगायतका देशहरूमा विगत केही हप्तादेखि कोरोनाको प्रभाव पुन देखिनथालेको अवस्थामा नेपालको पर्यटनमा पनि त्यसको प्रभाव ढिलो, चाँडो देखिने सम्भावना पनि बढेको छ।

यसरी नेपाल भ्रमण गर्ने पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ।

प्रकाशित: १८ पुस २०७९ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App