१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: पाँच दशकदेखिको सपना पूरा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै साढे सात दशकपछि भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठमा उडान भर्न थालियोे। त्यसको आठ महिनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। यो मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतबार सञ्चालनमा आएपछि झन्डै पाँच दशकदेखिको पोखरेली सपना पूरा हुनेछ। झन्डै पाँच दशकअघि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता ठहर गर्दै जग्गा अधिग्रहण गरेर राखिएको थियो। त्यही जग्गामा बनेको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरी पोखराले आफ्नो ‘कनेक्टिभिटी’ बढाउँदैछ। अहिलेसम्म अन्तर्राष्ट्रिय पहुँचका लागि काठमाडौंस्थित त्रिभुवन विमानस्थलको भर पर्दै आएको पोखराले अब सिधै विभिन्न मुलुकसँग हवाई उडानमार्फत आफूलाई जोड्नेछ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन क्षेत्रका लागि नयाँ ढोका खोल्ने पोखरेलीेको आशा र विश्वास छ। विमानस्थल बनाउन लामो समय अगुवाइ गरेका विश्वशंकर पालिखे भन्छन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सानो मेहनतले बनेको पूर्वाधार होइन। लामो संघर्षको फल पोखराले बल्ल पाउँदैछ।’ पालिखेका अनुसार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल माग गर्दै सरोकारवाला निकायलाई दबाब दिन २ हजारभन्दा बढी पोखरेली महिनौंसम्म रिले अनशनमा बसेका थिए। त्यसबाहेक काठमाडौंमा सिंहदरबार घेर्नेदेखि काठमाडौं–पोखराका उडान रोकेर पनि पोखरेलीले सरकारलाई दबाब दिएका थिए। ‘यो विमानस्थल सानो संघर्षले बनेको होइन, आन्तरिक उडान रोक्नेदेखि सिंहदरबार घेर्न त्यो बेला पश्चिमाञ्चलवासी एकजुट भएका थिए। यो विमानस्थल बनाउन सबैको योगदान उत्तिकै छ,’ पालिखे भन्छन्, ‘लामो संघर्षपछि गौरव गर्नलायक अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा तयार भएको छ।’  

झन्डै पाँच दशक लामो संघर्षपछि आफ्नै आँगनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेलीलगायत यस भेगका मानिसको सपना बल्ल साकार भएको पालिखेले बताए। ‘एक व्यक्ति वा संस्थालाई मात्र नभई यो पूरै पोखरेलीका लागि खुसीको कुरा हो,’ उनले भने, ‘हामी यही खुसीको दिनको प्रतीक्षामा थियौं। त्यो दिन बल्ल आएको छ।’

अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै धेरै पर्यटक भित्र्याउन र कृषि उत्पादन बढाएर निर्यात गर्न सके गण्डकी प्रदेशका लागि मात्र नभई समग्र मुलुककै आर्थिक अवस्था उकास्न सहयोग पुग्ने पालिखेले बताए। ‘हामीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटक ल्याउने र लैजाने भन्ने मात्र बुुझेका छौं,’ उनले भने, ‘विमानस्थलबाट तरकारी, फलफूल, कफीलगायतका कृषिजन्य उत्पादन पनि निर्यात गर्न सके थोरै समयमा आर्थिक फड्को मार्न सकिन्छ।’

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३१ सालमा तीन हजार एक सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसमा अपुुग जग्गा पछि थपेर विमानस्थल बनाइएको हो। तीन हजार आठ सय ९९ रोपनी क्षेत्रफलमा अहिले अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। सुरुको सम्झौताअनुसार सन् २०२१ जुलाई १० मा निर्माण सक्नेगरी जिम्मा लिएको चिनियाँ कम्पनी ‘चाइना सिएएमसिई’ ले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना संक्रमण फैलियो। तर पनि चिनियाँ कम्पनीले काम अघि बढाइरह्यो। गत चैत तेस्रो साता निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।  

नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन्। यी जहाज बढीमा २ सय सिट यात्रु क्षमताका हुन्। यो विमानस्थलमा ३ ठुला र ८ साना जहाज पार्किङ गर्न सकिन्छ। धावनमार्गको लम्बाइ २५ सय मिटर, चौडाइ ४५ मिटर र मोटाइ ३४ सेन्टिमिटर छ। विमानस्थलसँग व्यस्त समयमा प्रतिघन्टा ६ सय १० जना यात्रु व्यवस्थापन गर्न सक्ने क्षमता छ। विमानस्थलमा १४ हजार वर्गमिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन छन्। अन्तर्राष्ट्रिय विमानस्थल बनाउन झन्डै २२ अर्ब रूपैयाँ खर्च भएको छ। यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रूपमा लिने सहमति भएको थियो। वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन्। पूर्वतिरै फर्केर ‘टेकअफ’ गर्नेगरी विमानस्थल बनेको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरण र सिएएमसिईबीच इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने सम्झौता भएको थियो।  

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘सेलेवल प्रडक्ट’ का रूपमा तयार भएको बताउँछन्। ‘राम्रो प्रडक्ट तयार भएको छ। अब बजारीकरणको आवश्यकता छ,’ उनले भने। अहिले २५ सय मिटर लम्बाइ भएको धावनमार्गलार्य तीन हजार मिटरको बनाउन सकेको भए अझै राम्रो हुने उनले बताए। ‘तीन हजार मिटर लामो धावनमार्ग भएको भए त्रिभुवन विमानस्थलकै प्रतिस्पर्धी हुन्थ्यो तर, अलिकति सानो हुँदा केही समस्या हुन सक्छ,’ उनले भने।

विमानस्थलको बजारीकरणका लागि सरकारी र निजी क्षेत्र दुवैले पहल गर्नुपर्ने उनले बताए। ‘यो विमास्थल सहजै बनेको होइन। बनाउनैपर्छ भनेर दबाब दिएका हौं। सरकारले जोखिम लिएकै हो,’ उनले भने, ‘पाँच वर्षमा राम्रो प्रडक्ट बनेको छ।’

पोखरा पर्यटकीय सहर भएकाले विमानस्थलबाट बढी लाभ गण्डकी प्रदेशले लिन सक्ने उनले बताए। ‘पोखरालाई कार्गाे हबको रूपमा विकास गर्नुपर्छ। काठमाडौं साँघुरो बनेकाले त्यसबारेमा पनि सोच्नुपर्छ,’ उनले भने। नेपालको अहिलेसम्म ४० देशसँग हवाई सम्झौता भए पनि १३ देशमा मात्र सिधा उडान छ। अब हवाई गन्तव्य विस्तार गर्न जरुरी रहेको मुल्मीले बताए।  

अन्तर्राष्ट्रिय हवाई कम्पनीको चासो  

अंग्रेजी नयाँ वर्षको पहिलो दिन २०२३ जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। विमानस्थल स ञ्चालनमा आएसँगै आन्तरिक उडान पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गरिरहेको छ। आन्तरिकबाहेक अन्तर्राष्ट्रिय उडान तयारीमा पनि आन्तरिक वायुुसेवा कम्पनी जुटिसकेका छन्।

आन्तरिक वायुसेवा कम्पनीबाहेक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पनि पोखरा विमानस्थलसम्म सिधा उडान भर्न चासो दिएका छन्। पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय गरी आधा दर्जन हवाई कम्पनीले विभिन्न सहरदेखि पोखरासम्म सिधा उडान गर्न चासो देखाएका छन्। कुबेतको जजिरा, थाइल्यान्डको थाई स्माइल, कतार एयरवेज, फ्लाई दुबइ र स्वदेशी कम्पनी हिमालय एयरलाइन्सले पोखराबाट विभिन्न सहरमा सिधा उडानका लागि चासो देखाएको उनले बताए।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान गर्न आन्तरिक र केही अन्तर्राष्ट्रिय एयरलाइन्सले चासो दिइरहेका छन्,’ गौतमले भने, ‘पोखरासम्मको व्यवसायलाई उनीहरूले विश्लेषण गरिरहेका छन्। यात्रु चाप, सम्भावित कार्गाे लोडबारे एयरलाइन्सहरूले आन्तरिक रूपमा विश्लेषण गरिरहेका छन्।’ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणका लागि तयार भएको सन्देश पुगेपछि विदेशी एयरलाइन्सहरूले चासो बढाएको उनले बताए।

‘पोखरामा पर्याप्त पर्यटक आउँछन्। त्यसले गर्दा अन्तर्र्राष्ट्रिय उडान गर्नुपर्छ र उडान पनि टिकाउ हुन्छ भनेर हामीले सन्देश पनि दिनुपर्छ,’ उनले भने, ‘उडानमा यात्रु अभाव नुहने वातावरण बनाउनुपर्छ। पर्यटक बढाउन सके विमानस्थल सञ्चालनमा समस्या हुँदैन।’  

पर्यटन व्यवसायीका अनुसार नेपाल भित्रिने पर्यटकको करिब ४० प्रतिशत पोखरा पुग्ने अनुमान छ। त्यो आकार थप बढाउन सके अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहज हुने उनले बताए।  

व्यावसायिक योजना बनाउँदै हवाई कम्पनी  

हवाई कम्पनीहरूले जनवरी १ देखि नियमित रूपमा अन्तर्राष्ट्रिय विमानस्थलबाटै सहरी क्षेत्रका विमानस्थलसम्म उडान थाल्ने बताएका छन्। बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले आइतबारदेखि नै पोखराका सबै उडान अन्तर्राष्ट्रिय विमानस्थबाटै सुरु हुने बताए। त्यसबाहेक मार्च १ देखि भारतको वनारसम्म पोखराबाट व्यावसायिक उडानका लागि प्रयास भइरहेको उनले जानकारी दिए। पोखराको यो विमानस्थलबाट बिहान ७ देखि राति ९ बजेसम्म उडान हुने उनले बताए।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पाँचवटा जहाजको रात्रिबिसौनी हुने बुद्धका निर्देशक जोशीले बताए। रात्रिबिसौनी गरेका जहाजले हरेकदिन बिहान विभिन्न गन्तव्यसम्म पहिलो उडान भर्ने उनले बताए। बुद्धले हाल पोखराबाट विभिन्न रुटमा १५ वटा उडान दिनहुँ गरेकोमा अब त्यो संख्या बढ्ने जानकारी उनले दिए। अहिले बुद्धले सबैभन्दा बढी दिनमा १२ वटा उडान पोखरा–काठमाडौं रुटमा गर्दै आएको छ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एअरलायन्सले व्यावसायिक उडानको तयारी गरेको प्रवक्ता सुदर्शन बर्ताैलाले बताए। यतीले अहिले पोखरा–काठमाडौं रुटमा दिनमा ७ वटा उडान गरिरहेको र अगामी दिनमा उडानलाई अन्य सहरसम्म पनि विस्तार गर्ने योजना बनाएको बताए। त्यस्तै सौर्य, गुण र श्री एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियमित उडान थाल्ने तयारी गरेका छन्।

पर्यटन व्यवसायी खुसी

अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि सपनाको विषय रहेको पर्यटन व्यवसायी बताउँछन्। पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थलको सपना बल्ल पूरा भएको बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन क्षेत्रमा ठुलो सहजता थप्ने बताए। ‘अहिलेको अवस्थामा चाहेर पनि पाहुना आउन पाएका छैनन्। अब विमानस्थलका कारण पोखराले पर्यटन क्षेत्रमा ठुलो फड्को मार्नेछ,’ उनले भने।  

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको सन्देश अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुगिसकेकाले केही हवाई कम्पनीले पोखरासम्म उडान भर्न चासो राखेको श्रेष्ठले बताए। ‘हामीलाई पनि बजारीकरणमा समस्या थियो। अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं मात्र हुँदा पाहुनाको भ्रमण पनि झन्झटयुक्त थियो। तर अब भने हामीलाई पनि बजारीकरण गर्न सहज भएको छ। पाहुनालाई सिधै पोखरा आउन सकिन्छ भनेर भन्न पाएका छौं। यसले आगामी दिनमा विदेशी पाहुनाको आकार बढ्नेमा आशावादी हुन सकिन्छ,’ उनले भने।  

आज उद्घाटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले गर्दैछन्। पोखरा महानगरपालिकाले पोखरेलीको विमानस्थल सपना पूरा भएको भन्दै आइतबार पोखरामा सार्वजनिक बिदा दिएको छ। उद्घाटनका अवसरमा अमरसिंहचोकदेखि विमानस्थलसम्म झाँकीसहितको र्‍याली निकालिने पोखराका मेयर धनराज आचार्यले बताए। अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण गराएका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई पनि अभिनन्दन गरिने आचार्यले बताए। 

प्रकाशित: १७ पुस २०७९ ००:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App