२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

अवैध व्यापार रोक्न परिसंघको माग

 नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेर खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न अनुरोध गरेका छन्। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालको नेतृत्वमा गएको टोलीले उद्योगी व्यवसायीहरूको समस्या, सीमा क्षेत्रमा भइरहेको अवैध कारोबार लगायतका विषयमा जानकारी गराएका हुन्।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पुँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए।

‘केही बाहेक अधिकांश वस्तुको मागमा ३० देखि ७० प्रतिशतसम्म गिरावट आउँदा उद्योगी व्यवसायी आत्तिइरहेका छन्,’ उनले भने ‘सरकारले विदेशी मुद्रा सञ्चिति बढाउन आयातमा कडाइ गर्‍यो। सरकारले आयातमा कडाइ गर्दा पनि अटोमोबाइलबाहेक अन्य वस्तुहरू बजारमा उपलब्ध भइरहेका छन्।

मुलुकमा अवैध कारोबार बढिरहेको वास्तविकता यो अवस्थाले समेत पुष्टि गरेकाले यसलाई रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।’

अवैध कारोबारका कारण स्वदेशी वस्तुको माग घटिरहेको, स्वदेशी वस्तुको प्रतिस्पर्धी क्षमता घटेको, सरकारले पनि राजस्व गुमाइरहेको र उद्योगीहरू हतोत्साहित भइरहेको उनले बताए।

यस्तै विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन पनि भएकाले ५० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने सुझाव उहाँले दिनुभयो। ५० लाख पर्यटक भित्र्याउन र पर्यटकहरूलाई आकर्षित गर्न नेपालमा पनि ई-भिसाको अवधारणा ल्याउनुपर्ने उनले बताए। परिसंघले मेक इन नेपाल स्वदेशी अभियानको सुझाव अन्तर्गत सुरक्षा निकाय एवं सार्वजनिक क्षेत्रका कर्मचारीको पोशाकमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ।

गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी रूपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने कामलाई सधैं उच्च प्राथमिकतामा राख्ने बताए। ‘व्यापार, व्यवसाय, उद्योग, वाणिज्य क्षेत्रका साथीहरूलाई मन्त्रालयमा रातो कार्पेट विछ्याउने छौं।,’ उनले भने ‘उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रतिबद्ध छौं। उद्योगी व्यवसायीहरू राष्ट्रको मेरुदण्ड हुन्। उहाँहरू हल्लिनुभयो भने मुलुकको अर्थतन्त्र पनि हल्लिन्छ र हामीले केही पनि गर्न सक्दैनौ भन्नेमा हामी स्पष्ट छौं। सोही अनुसार हाम्रो मन्त्रालयले गर्नुपर्ने जिम्मेवारी पूर्ण रूपमा गर्नेछ,’ उनले भने। मन्त्री लामिछानेले स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्नेमा पनि जोड दिए।

प्रकाशित: १४ पुस २०७९ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App