१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुल निर्माणमा १० अर्ब खर्चिंदै

सरकारले चालु आर्थिक वर्षमा रणनीतिक र स्थानीय सडक मातहतका १८ सय पुल निर्माणका लागि १० अर्ब रूपैयाँ बजेट खर्चिने भएको छ।

सडक विभाग मातहतको पुल महाशाखाले चालु आर्थिक वर्षमा रणनीतिक र स्थानीय सडक पुल अन्तर्गत १८ सय २ वटा पुल निर्माणका लागि १० अर्ब ७५ करोड रूपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ।

सडक विभागका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठले चालु आर्थिक वर्षमा रणनीतिक तथा स्थानीय सडक निर्माणका लागि १० अर्ब ७५ करोड रूपैयाँ बजेट छुट्याइएको बताए। ‘महाशाखाले चालु आर्थिक वर्षमा २७५ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ,’ उनले भने ‘अब हिउँदे याम सुरु भएसँगै पुल निर्माणको कार्यले गति लिने आशा गरेका छौं।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा स्थानीय सडक पुल निर्माणअन्तर्गत ११४२ वटा पुलका लागि ७ अर्ब ४३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। त्यसैगरी मन्त्रालयले ६६० रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणका लागि भने ३ अर्ब ३२ करोड ५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

डिपिआरका लागि एक अर्ब

पुल महाशाखाले चालु आवमा १६८ वटा रणनीतिक पुलको विस्तृत सम्भाव्यता अध्ययन गर्न २० करोड ६२ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। त्यसैगरी मन्त्रालयले चालु आवमै मन्त्रालय मातहत रहेका विभिन्न निकायबाट २६ वटा रणनीतिक पुलको डिपिआर तयार पार्न ९८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

लक्ष्यअनुसार कहिल्यै बन्दैनन् पुल

सडक विभाग मातहतको पुल महाशाखा लक्ष्य अनुसार पुल निर्माण गर्न बारम्बार असफल हुँदै आइरहेको छ। पुल निर्माणसम्बन्धी विगत चार वर्षको तथ्यांक केलाउँदा पनि लक्ष्य अनुसारको उपलब्धि हात पार्न नसकेको देखिन्छ। पुल निर्माणमा हुने ढिलासुस्ती, आयोजना प्रमुखको गैरजिम्मेजारी र लामो समयसम्म पुल निर्माण अलपत्र पार्ने कारणले भने पुल निर्माण कार्यले गति लिन नसकेको हो। चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार पुल निर्माण सम्पन्न हुनेमा आशंका कायमै छ। ‘पुल निर्माण समयमै सम्पन्न नहुनुमा बजेट निकासा र निर्माण कम्पनीको क्षमतावृद्धि नहुनु लगायतको कारण रहेको छ,’ उनले भने ‘निर्माण व्यवसायीका केही गल्ती कमजोरी सुधार्दै चालु आवमा पुल निर्माणले गति लिने अपेक्षा राखेका छौं।’

सडक विभाग मातहतको पुल महाशाखाले गत आर्थिक वर्षमा ३ सय पुल निर्माण गर्ने लक्ष्य राखेको छ। गत आवको असार मसान्तसम्मको अवधिमा २ सय ८२ वटा पुल निर्माण सम्पन्न भएको थियो। विभागले गत आवमा स्थानीय सडक पुलअन्तर्गत १६५ वटा रणनीतिक महत्वका सडक अन्तर्गतका १ सय १७ पुल गरी जम्मा २ सय ८२ वटा पुल बनेका छन्।

विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा मुलुकभर तीन सय वटा पुल निर्माण गर्ने लक्ष्य राखेकोमा सो अवधिमा लक्ष्यको ६४ प्रतिशत अर्थात् १९० वटा पुल मात्रै निर्माण गर्न सफल भएको थियो। विभागले गत वर्ष कोभिड १९को कारण देखाउँदै लक्ष्यअनुसारको निर्माण हुन नसकेको जनाएको छ। पुल महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा पनि तीन सय पुल निर्माण गर्ने लक्ष्य राखेकामा २१० वटा निर्माण गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा दुई सय ४३ र आर्थिक वर्ष ०७४/७५ मा ८२ वटा पुल निर्माण भएका थिए।

प्रकाशित: १४ पुस २०७९ ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App