९ फाल्गुन २०८० बुधबार
अर्थ

स्याउ बगैंचा व्यवस्थापनको चटारो

फायल तस्वीर

मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैंचा व्यवस्थापनको चटारो छ। मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो।

दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिंचाइ गर्ने काममा कृषक जुटेका हुन्। भदौअसोजमा स्याउको दाना टिप्ने गरिन्छ। फूल खेल्नु र हिउँ पर्नुअघि नै बगैंचा व्यवस्थापन गर्न जुटेका हुन्। हिउँ पर्ने समयमा स्याउ बगैंचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ। पुस र माघमा कृषकले अनावश्यक हाँगा हटाउने गर्छन्। रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने गर्छन्।

जरा वरपरको झार हटाएर खन्ने र भेडा, च्याङ्ग्रा, गाई, गोरुको मल हाल्ने गरिएको मार्फाका कृषक दीपक लालचनले बताए। हिउँ परेपछि माटोले छोपेर राखिएको मल मिज्ने र जराबाट बिरुवालाई पौष्टिक तत्व आपूर्ति हुन्छ। स्याउको परागशेचनका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ। अनावश्यक हाँगा नहटाउँदा उत्पादन र गुणस्तरमा असर गर्छ। दाना साना लाग्छन्। दानाको स्वाद मीठो हुँदैन। पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा हाँगा काँटछाँट गरिन्छ। स्याउको हाँगा काटेर ग्राफ्टिङ गर्ने सिजन पनि यही हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले कृषकलाई बगैंचा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरेका छन्। बगैंचा व्यवस्थापनका सामग्री र बोडो पेष्ट उपलब्ध गराएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए। स्याउ तथा फलफूलविज्ञ डा.खेमबहादुर शाहीले कृषकलाई तालिम दिएका छन्। मुस्ताङमा यस वर्ष ५९ करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ। छ हजार पाँच सय ९७ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती विस्तार भएकोमा पाँच सय ८० हेक्टरमा लगाइएको स्याउ बोटले उत्पादन दिन्छन्। स्थानीय जातका अलावा ३८ हेक्टर क्षेत्रफलमा इटालीबाट ल्याइएको उच्च घनत्व प्रविधिको स्याउ खेती भएको छ।

प्रकाशित: ११ पुस २०७९ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App