१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मुस्ताङमा कोइलाखानीको पनि अध्ययन हुने

मुस्ताङ– मुस्ताङको जोमसोमस्थित ठिनीमा पर्ने ताङ्दुङ भन्ने ठाउँमा रहेको कोइलाखानीको सरकारले अध्ययन गर्ने तयारी थालेको छ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा खानी तथा भूगर्भ विभागका विज्ञसहितको टोलीले हालै मुस्ताङका विभिन्न स्थानमा रहेको युरेनियम, पेट्रोल र नुनखानीको अध्ययन गरेसँगै कोइलाखानीको पनि अध्ययन हुन लागेको हो। जोमसोमबाट ठिनी हुँदै ताङ्दुङ जान सकिन्छ।

विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जाने बाटोमै पर्ने कोइलाखानीमा बाहिरबाटै कोइलाका भाग देखिन्छ। त्यसलाई स्थानीयवासीले आगो बाल्नसमेत प्रयोग गर्दै आएको ठिनीका आशबहादुर थकालीले बताए।

“बाहिरबाटै कोइला देखिन्छ, तर त्यसको अन्वेषण भएको छैन, यसको अध्ययन जरुरी छ”, उनले भने। विभिन्न खानीको अध्ययन गर्न आएको सरकारी टोलीले समय अभावका कारण कोइलाखानीको अनुसन्धान गर्न नपाएको भन्दै त्यसका लागि थप टोली पठाउने तयारी थालेको खानी तथा भूगर्भ विभागले जनाएको छ।

उद्योगमन्त्री पाण्डेले कोइलाखानीको अध्ययनका लागि सरकारले प्राथमिकता दिएको बताए। “मुस्ताङमा विभिन्न स्थानमा रहेका खानीका अध्ययन गर्न सरकार योजनाबद्ध तरिकाले अघि बढ्छ, युरेनियम र कोइलाखानीका लागि थप टोली पठाउने योजना छ”, उनले भने। रासस

 

प्रकाशित: २३ असार २०७३ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App