२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कमिसन वृद्धि फुकुवा गर्न पेट्रोलियम व्यवसायीको माग

पेट्रोलियम व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य अनुरूप नै कमिसनमा वृद्धि गरिनुपर्ने माग गरेका छन्। शनिबार रूपन्देहीको भैरहवामा आयोजित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसियसनको १७ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमा बोल्ने व्यवसायीहरूले पेट्रोलियम पदार्थको बिक्रेता कमिसन वृद्धिको माग गरेका हुन्। व्यवसायीहरूले गत फागुनदेखि रोकिएको कमिसन वृद्धिको माग तत्काल सम्बोधन नगरिए सडकमा जान बाध्य हुने चेतावनी दिएका छन्। सरकार र निगम दुवै आफूरूका मागप्रति उदासीन हुँदा व्यवसाय नै धरासायी हुँदै गएको भन्दै उनीहरूले बेलैमा सममस्या समाधानतर्फ ध्यान दिन आग्रह गरेका छन्।  

यसअघि पेट्रोलियम बिक्रेताहरूले मूल्य वृद्धिको आधारमा प्रतिलिटर ३.१४ प्रतिशत कमिसन पाउँथे तर निगम सञ्चालक समितिले ९ महिनाअघि गत वर्षको फागुन ७ गते कायम भएको बिक्रेता कमिसन यथावत राख्ने निर्णय गरेको थियो। त्यसयता पेट्रोलियम पदार्थको मूल्य बढे पनि बिक्रेताले पाउने कमिसन बढाइएको छैन। मूल्य अनुरूप कमिसन वृद्धि गर्नुपर्ने माग गर्दै यसअघि पनि पटक पटक आन्दोलनमा उत्रेका व्यवसायीहरूले यसपाली पनि माग सम्बोधन नगरिए सडकमा उत्रन बाध्य हुने चेतावनी दिएका हुन्।  

व्यवसायीहरूले मूल्य समायोजन, इन्धनको सहज आपूर्ति, कमिसन वृद्धि, धरौटी रकममा व्याज दिने व्यवस्था, क्षतिपूर्ति बापतको रकम वृद्धि गर्नुपर्ने लगायतका माग पनि अगाडि सारेका छन्। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले आयल निगम र सरकार पेट्रोलियम व्यवसायीप्रति पूर्वाग्रही देखिएको बताए। सरकारले नै लागु गरेको व्यवस्था र नीति अनुरूप व्यवसायीले पाउँदै आएको अधिकार कटौती गरीएको भन्दै उनले कमिसन वृद्धिको प्रावधान फुकुवा गर्न आग्रह गरे। निगम, बिक्रेता र उपभोक्ता बीच तोकिएको मूल्यमा तोकिएको गुणस्तर र तोकिएको परिमाण समयमा पाइन्छ कि पाइँदैन भन्ने सम्बन्धमा अविश्वास सिर्जना हुने गरेको भन्दै उनले विश्सवासको वातावरण तयार गर्न निगमलाई आग्रह पनि गरे।  

आयल निगमले अभिभाववकीय भूमिका निभाउनु पर्नेमा त्यसो हुन नसकेको उनले बताए। ‘निगमले खाली नाफा, घाटाको मात्रै हिसाब किताब गरेर भएन, अनुगमन निरीक्षणमा पनि ध्यान दिनु पर्‍यो, अवश्यकताका आधारमा पम्पको अनुमति दिने, अग्नी बिमाको व्यवस्था लगायतका पक्षमा कहिले सोच्ने ?’ प्रधानले भने। कार्यक्रममा एसोसियसनका महासचिव विश्वराज अर्याल, पश्चिमाञ्चल डिलर्स एसोसियसनका अध्यक्ष प्रेम न्यौपाने, बरिष्ठ उपाध्यक्ष हिमाल गैरे, महासचिव हरिराम कसोधन, संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, नेपालगञ्जका अध्यक्ष विश्वराज खनाल, कोषाध्यक्ष विशाल गैरे लगायतले बोल्दै सरकार र निगमले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसक्दा धरासायी हुने अवस्थामा पुगेको गुनासो गरे।  

युरो ६ को मापदण्ड अनुरूप क्षतिपूर्ति दिइनु पर्नेमा निगमले अहिलेसम्म युरो २ को मापदण्ड अनुरूप नै क्षतिपूर्ति दिँदा त्यसबाट व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको गुनासो व्यवसायीले गरेका छन्। व्यवसायीले कमिशन कम्तीमा ५ प्रतिशत पुर्‍याउनुपर्ने माग अगाडि सारेका छन्। एसोसियसनका केन्द्रीय सदस्य राजु न्यौपानेले निगम प्रविधिमैत्री नहुँदा तेल चुहावट बढेको र युरो ६ को मापदण्ड अनुरूप आइरहेको तेल पातलो हुँदा उडेर नोक्सान बढी हुने गरेको बताए। व्यवसायीले अहिले ४ हजार लिटर पेट्रोल निगमसँग लिदा ५० देखि ६० लिटर तेल कम हुने गरेको उनले बताए। निगमले भने हाल ३५ लिटरको मात्रै क्षतिपूर्ति दिने गरेको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसियसनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरेले बताए। भारतमा अहिले प्रतिलिटर पेट्रोल ३२ रूपैयाँ सस्तो हुँदा उपभोक्ता तेल भर्न सीमा पारी जाने गरेको भन्दै व्यवसायीले मूल्य समायोजनमा ध्यान दिन निगमलाई आग्रह गरेका छन्।  

कार्यक्रममा व्यवसायीले उठाएका मागको सम्बोधन गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले उपभोक्ता अधिकार र व्यवसायीका समस्याप्रति निगम संंवेदनशील रहेको बताए। अब छिट्टै निगमको सञ्चालक समितिको बैठक मार्फत व्यवसायीका जायज मागहरू सम्बोधन गरिने आश्वासन दिए। ‘निगमले पेट्रोलिय व्यवसायीलाइ पेल्ने, समस्यामा पार्ने काम कदापी गर्दैन, तपाइहरूका जायज मागको अब छिट्टै सम्बोधन हुनेछ’ कार्यकारी निर्देशक थानीले भने। निगमले यसअघि ग्यास व्यवसायी र ढुवानी व्यवसायीका माग सम्बोधन गरी समस्या समाधान गरिसकेको उनले बताए। सबै विषय एकै पटक समाधान गर्न नसकिने भन्दै उनले ढुवानी भाडाको विषय निकै गिजोलिएकाले सो समस्या समाधान नगरी डिलरका समस्या सम्बोधन गर्न नसकिएको स्पष्ट पारे।  

निगमको वितरण विभागका प्रमुख वीरेन्द्र गोइतले तेलको परिमाण निकै कम हुने गरेको भन्ने व्यवसायीको भनाइ सत्य भए त्यो निकै ठूलो क्राइम हुने बताए। निगमले तोकेको मूल्य र नापतौलले दिएको परिमाण अनुरूप तेल नपाए तत्काल निगमको प्रदेश प्रमुखलाई खबर गर्न र यदि प्रदेश कार्यालयले त्यसमा सुनुवाइ नगरे केन्द्रीय कार्यालयलाई जानकरी गराउन आग्रह गरे। व्यवसायीका समस्या र उपभोक्ता अधिकारका सम्बन्धमा निगम संवेदनशील रेहेको भन्दै उनले पेट्रोलियम डिलरहरूले पनि निगमको मूल्य र नापतौल अनुरूपकै तेल उपभोक्तासम्म पुरयाउनु पर्नेमा जोड दिए। निगमको लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका प्रमुख जगदिशचन्द्र यादवले निगम व्यवसायीका समस्यासँगै उपभोक्ता अधिकारका सवालमा समेत उत्तिकै संवेदनशील रहेको बताए।  

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवार, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिराम खरेल लगायतले बोल्दै पेट्रोलियम पदार्थसँग समाजका हरेक क्षेत्र कहीं न कहीँ जोडिने भन्दै निगमलाई घाटाबाट जोगाउने नाममा सधैं व्यवसायी र उपभोक्ता मारमा पर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए। भैरहवामा दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।  

प्रकाशित: ११ पुस २०७९ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App