४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

भेडेटारमा 'फुड फेस्टिवल' हुने

भेडेटारस्थित शंखेश्वर महादेवको मन्दिर र भेडेटार पार्कमा रमाउँदै पर्यटकहरू। तस्बिर: रोहित राई

अंग्रजी नयाँ वर्षमा भारतीय पर्यटकहरूलाई लक्षित गर्दै प्रदेश नं १ को चर्चित पर्यटकीय स्थल भेडेटारमा तीन दिने फुड फेस्टिवल हुने भएको छ। 

होटल एशोसिएशन भेडेटारले यही पुस १६, १७ र १८ गते १० औँ भेडेटार फुड फेस्टिवल आयोजना गर्न लागेको जानकारी दिएको हो।

अंग्रेजी नयाँ बर्ष मनाउन आन्तरिक पर्यटकहरूसँगै भेडेटारमा भारतीय पर्यटकहरूको पनि घुइँचो लाग्ने गर्छ। तिनै पर्यटकहरूको बास लम्ब्याउनका लागि यहाँका होटल व्यवसायीहरूले हरेक बर्ष फुड फेस्टिवल आयोजना गर्दै आएका छन्। पछिल्लो ३ बर्ष कोभिड महामारीको कारण थला परेको पर्यटन व्यवसायलाई गुल्जार बनाउन पनि यो फेस्टिवल महत्त्वपूर्ण हुने एसोसिएसनकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन्।

फुड फेस्टिवल साँगुरी गढी गाउँपालिका ६ स्थित भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म रहने हुनेछ। फेस्टिवलले पर्यटन, होटल व्यवसाय, व्यापार, कृषि, सांस्कृतिक र शिक्षा क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउने पनि अध्यक्ष श्रेष्ठले बताइन्।

फेस्टिवलमा भेडेटार क्षेत्रमा पाइने जातीय परिकार, स्थानीय अर्ग्यानिक खानेकुरा, कृषि तथा घरेलु उत्पादनहरूको प्रवर्द्धन हुने उनले बताइन्। ‘फेस्टिवलमा १ करोड २५ लाख बराबर कारोबार हुने अनुमान गरेका छौं, साथै २५ देखि ३० हजार पर्यटकहरूको आगमन हुनेछ,’ श्रेष्ठले भनिन्।

फेस्टिवलको मुख्य आकर्षण पर्यटकीयस्थलहरुमा चाल्र्स भ्यु टावर, पाथीभारा देवी मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरी गढी, नाम्जेको होम स्टे, डाँडाबजारस्थित ध्वजे डाँडा, ओख्रे भ्यु टावरलगायत स्थलहरू रहने आयोजकले जनाएको छ। फेस्टिवल अवधिमा मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम पनि आयोजना हुनेछ।

साँगुरी गढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले स्थानीय सरकारले समग्र गाउँपालिकालाई नै पर्यटन हबको रुपमा विकास गर्ने लक्ष्य राखेको बताए। पर्यटन अन्तर्गत पनि साँगुरी गढीलाई खेल पर्यटनको केन्द्र बनाउन सकिने उनले बताए।

 ‘यहाँ प्याराग्लाइडिङ, जिपलाइन, क्यानोनिङ, तमोरदेखि र्याफ्टिङ, हाइकिङ, साइक्लिङको मजा लिन सकिन्छ, त्यसैले गाउँपालिकाले समग्र सागुरीगढीको पर्यटन विकासमा ध्यान दिएको छ। त्यसमा पनि स्पोर्टस् टुरिजमको विकास गर्न लागिपरेका छौं,’ उनले भने। 

चाल्र्स पोइन्टमा निर्माणाधीन रहेको स्काई ब्रिज वनसँगको विवादले ढिलाई भएको तर अब आगामी बैशाखमा उद्घाटन हुने गरी निर्माण कार्य सुचारु हुने पनि उनले जानकारी दिए।

पर्यटन व्यवसायीको पृष्ठभूमि रहेका गाउँपालिका अध्यक्ष रुम्दालीले त्रिवेणीस्थित खुवालुङलेखि ध्वजे डाँडासम्म पदमार्गको सम्भाव्यता अध्ययन गराउने गरी नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको जानकारी दिए। यो पदमार्ग गाउँपालिकाको सबै जसो वडाहरूलाई छुने भएकोले रिङ्ग रोडको रुपमा विकास गर्ने योजना रहेको पनि उनले बताए।

 ‘पूर्वाधार निर्माणमा जोडदिएका छौं। साँगुरी गढीलाई प्रदेश १ कै पर्यटकीय गाउँ बनाउन लागिरहेका छौं,’ उनले भने,‘आन्तरिक मात्र होइन, बाह्य पर्यटकहरूलाई पनि भित्र्याउने, एक दिनलाई मात्र होइन, ३, ४ दिनसम्म बास बसाउने लक्ष्य छ।’

तीन दिने फुड फेस्टिवलमै कृर्षि प्रदर्शनी मेला पनि राखिने आयोजकको भनाइ छ। साँगरीगढी गाउँपालिकाको सबै १० वटै वडामा उत्पादन भएको कृषि उपज तथा सामग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ। ‘आयोजकले स्टल उपलब्ध गराउनुहुनेछ। गाउँपालिकाले कृषकहरूलाई ल्याउने, लैजाने काम गछौं। अन्तिम दिन उत्कृष्ट उत्पादक कृषकलाई सम्मान पनि गछौं। उत्पादनलाई बजारीकरण गर्ने अवसर पनि हो,’ उनले भने।

एसोसिएसनका पूर्व अध्यक्ष विष्णु श्रेष्ठले अहिलेसम्म भेडेटारका होटल व्यवसायीहरू आफैले पहल गरेर पर्यटन विकास भइरहेको भन्दै अब सरकारले पनि प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए। उनका अनुसार भेडेटार क्षेत्रमा एक दिनमा झण्डै एक हजार पर्यटकहरूलाई राख्न सक्ने क्षमता रहेको छ। ‘अहिले नयाँ नयाँ होटलमा लगानी पनि भइरहेको छ, यो हाम्रो लागि खुसीको कुरा हो, हामी लगानीकर्ताहरूलाई स्वागत गछौं,’उनले भने।

प्रकाशित: ९ पुस २०७९ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App