१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा धर्ना

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय अगाडि धर्ना दिंदै विराटनगरका उद्योगी व्यापारीहरू। तस्बिरः चुमन बस्नेत /नागरिक

व्याजदर घटाउन माग गर्दै आन्दोलन घोषणा गरेका विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्रबैंकको विराटनगर कार्यालय अगाडि धर्ना दिएका छन्। मोरङ व्यापार संघबाट बिरोध र्‍यालीसहित पुगेका उद्योगी व्यापारीले राष्ट्रबैंकको विराटनगर स्थित कार्यालय अगाडि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म धर्ना दिएका हुन्।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजना तथा उद्योगी व्यवसायीहरूका विभिन्न संघसंस्थाको एकबद्धतामा विराटनगर स्थित राष्ट्र बैंकको कार्यालयमाधर्ना दिइएको हो। उद्योगी व्यवसायीहरूले माग पुरा नभए थप सशक्त आन्दोलन अगाडी बढाउने बताएका छन्। राष्ट्र बैंक घेराउ र धर्नाको कार्यक्रम माग पुरा नभएसम्मजारी रहने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए।

अध्यक्ष रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण नेपालका व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताए। उनले १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेडदरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजीकर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने चेतावनी दिए। रिजालले भने,'अबको आन्दोलन माग पुरा नभएसम्म रोकिंदैन।’ 

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राष्ट्र बैंकले खुल्ला अर्थ नीतिका नाममा नेपालका वाणिज्य बैंकलाई सामन्त बनाइरहेको आरोप लगाए। अध्यक्ष घिमिरेले अहिलेको विकराल परिस्थिति र आर्थिक मन्दी ल्याउन सरकार र राष्ट्र बैंक दुवै जिम्मेवार भएको बताए।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले चर्को व्याजदरका काराण समग्र अर्थतन्त्रमै समस्या देखिन थालेको बताए। उनले आफूहरूले पटक–पटक व्याजदर घटाउने उपाय दिंदासमेत नेपाल राष्ट्र बैंकले ध्यान नदिएको र सरकारले पनि आफूहरूको माग सुनुवाइ नगरेका कारण आन्दोलनमै उत्रन बाध्य भएको बताए।  

प्रकाशित: ७ पुस २०७९ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App