२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सर्लाहीका दुई चिनी उद्योग संचालनमा

सर्लाहीका दुई चिनी उद्योग संचालनको अन्तिम तयारीमा छन्। उखु किसानलाई मिलसम्म पुर्‍याउने उखुको चलान पुर्जी वितरण गर्नुका साथै दुई चिनी उद्योगले उखु खरिद गर्न थालेका छन्।

उखुको मूल्य निर्धारित नभए पनि चिनी उद्योगहरुले शून्य मूल्य कायम गरी उखु खरिद गर्न थालेको बुझिएको छ। संचालनको अन्तिम तयारीमा रहेका इन्दु शंकर चिनी मिल हरियौन र महालक्ष्मी सुगर मिल बगदहले चलान पुर्जी वितरण गर्दै उखु खरिद गरिरहेको छ।

गत मंसिरको अन्तिम हप्ता डोंगा पूजा गरिसकेका सर्लाहीका चार चिनी मिलमध्ये दुईले उखु खरिद सुरु गरी क्रसिङको तयारी गरेको छ। पर्याप्त उखु पुग्नासाथ जुनसुकै बेला पनि उद्योग संचालनमा आउने बताइएको छ। 

उखुको उत्पादन भइसकेको तर सरकारले मूल्य निर्धारण नगर्दा गत वर्षकै मूल्यमा भुक्तानी दिइने र मूल्य निर्धारण भएपछि सोहीअनुसार बाँकी रकम किसानको खातामा राख्ने तयारी चिनी उद्योगहरुको छ। किसानले बेच्ने उखुको पुर्जीमा तत्काल शून्य मूल्य उल्लेख गरे पनि उद्योगले गत वर्षको मूल्यअनुसार भुक्तानी दिने तयारी गरेको छ। उखु किसानहरुले उखुको मूल्य प्रतिक्वीन्टल कम्तीमा ७०५ रुपैया कायम गर्नुपर्ने माग गरेका छन्।

उखु किसानले चिनी उद्योगमा उखु पु¥याएपछि भुक्तानी पाउने प्रक्रिया झन्झटिलो रहेको र एउटै उखुको मूल्य तिनपटकमा पाउने भएपछि किसानलाई पैसा नपाएको जस्तो हुने र एउटै उखुको भुक्तानीको लागि धेरैपटक धाउनु पर्ने देखिएको छ। 

आफ्नो उत्पादन उद्योगको गेटसम्म पुर्‍याएर किसानहरुले पहिले शून्य मूल्यको भुक्तानी पाउने, त्यसपछि निर्धारित नयाँ मूल्यको भुक्तानी पाउने अनि असारको अन्तमा सरकारले फिर्ता गर्ने भ्याट वापतको रकम पाउने हुन्छन्। उखुको मूल्य एक साथ पाउने भुक्तानीको प्रक्रिया नहुँदा र किसानले उत्पादन बेचेपछि कैयौँ वर्षसम्म पनि भुक्तानी नपाई आन्दोलन गर्नुपर्ने अवस्था आउने कारणले रौतहट र सर्लाहीमा उखु खेती निरन्तर कम हुँदै गएको छ।  

सर्लाहीमा ३० हजार बिगाहा र रौतहटमा १४ हजार बिगाहा उखु खेती हुने गरेकामा यस वर्ष आधा भन्दा पनि कम जमिनमा किसानले उखु खेती गरेका छन्।  

सर्लाहीमा यस वर्ष १४ हजार बिगाहा र रौतहटमा ४ हजार बिगाहा उखुखेती भएको उखु उत्पादक संघको दाबी रहेको छ। सर्लाहीमा चार ओटा चिनी उद्योग रहेका छन्। अहिले दुई ओटा चिनी उद्योग संचालन हुँदैछन्। गत वर्ष चार ओटै चिनी उद्योग संचालनमा आएका थिए। उखु नपाएर थोरै थोरै क्रसिङ गरेका सर्लाहीका चिनी उद्योगहरुले समयमै किसानलाई भुक्तानी दिन आनाकानी गरेका थिए। गत वर्ष चार ओटै चिनी उद्योग संचालनमा आएको भए पनि किसानले यस वर्षको लागि खासै उखु खेती नबढाएको उद्योगस्रोतको भनाइ छ।  

इन्दु शंकर चिनी उद्योगका उखु महाप्रबन्धक योग नारायण रजकले विगतका वर्षहरुको तुलनामा उखुको खेती आधाले कम भएको बताएका छन्। उखु नगदे बालीमा पर्ने भए पनि सरकारले भुक्तानी प्रक्रिया झन्झटिलो बनाएको तथा खेतीमा लागतको तुलनामा आम्दानी नहुने भएपछि विस्तारै किसानहरुले उखु खेती गर्न कम गर्दै गएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोककुमार यादवले जानकारी गराएका छन्।

किसानले दुःख गरी उब्जाएको उखुको मूल्य निर्धारणमा उखु किसानको कुनै भूमिका नै नहुने गरी चिनी उद्योगका उद्योगपति र सरकार मिली उखुको मूल्य निर्धारण गर्ने हुँदा किसानको मर्का उद्योगपति र सरकार दुवैले नबुझेको कारण उखु खेती घट्दै गएको अगुवा किसानहरुको भनाइ छ।

प्रकाशित: ५ पुस २०७९ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App