५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरोनाले बन्द हाटबजार दुई वर्षपछि सुचारु

धेरैपछि साप्ताहिक बजार खुल्दा साना कृषकलाई राहत

अर्घाखाँचीको सन्धिखर्कमा लाग्ने हाटबजार कोरोना संक्रमणका बेला बन्द भयो। दुई वर्षपछि थप व्यवस्थापन सहित हाटबजार सञ्चालनमा आएको छ।

बसपार्क नजिक लाग्ने साप्ताहिक बजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी लगायत सामग्री पाइन्छ। ताजा र सस्तो पाइने भएपछि त्यहाँ निकै भिड लाग्ने गथ्र्यो। तर, कोरोना महामारी फैलिएपछि संक्रमणका डरले बजार दुई वर्षदेखी बन्द थियो। कोरोनाले झन्डै दुई वर्ष बन्द रहेको हाटबजार बल्ल खुलाइएको छ।  

हरेक हप्ताको शुक्रबार संचालन हुँदै आएको हाटबजारमा सन्धिखर्क नगरपालिकाको जगत, बाँगी, घोंचेखोला, डिभर्ना भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकाका केही ठाउँका कृषकले उत्पादन गरेका कृषि सामग्री हाटबजारमा बिक्रीका लागि ल्याउने गर्छन्। कोरोना सुरु हुनुअघि ठूलो परिमाणमा कृषि उपज बिक्री गर्ने किसानले कोभिडपछि सुरु भएको बजारमा समेत सोही परिमाणमा सामग्री बेचीरहेका छन्। ‘पहिले व्यापार राम्रै थियो, अहिले कोरोनापछि यहाँ किन्न आउने मानिसमा उत्तिकै उत्साह छ’, हाटबजारमा तरकारी बिक्री गर्दै गरेकी कृषक गोमा न्यौपानेले भनिन्,‘बजार नचल्दा घर चलाउन मुस्किल थियो, बजार लाग्ने भएपछी राहत भएको छ।’ हाटबजार नचल्दा सानो परिमाणमा उत्पादन गर्ने कृषकलाई गाह्रो भएको थियो। धेरै उत्पादन गर्ने कृषकले अन्यत्र बजार पाएपनी थोरै उत्पादन गरेर निर्वाह गर्ने कृषकलाई धौ–धौ थियो।    

हाटबजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी, मासुजन्य सामग्री, खाजा लगायतका स्टलहरु रहेको अर्घाखाँची–सन्धिखर्क कृषि उत्पादन तथा बजारीकरण समूहका सचिव सहयोगी बिसीले बताए। ‘किसानलाई हाटबजार आएका बेला तरकारीसँगै अन्य घरायसी सामग्री आवश्यक परेमा खरिद गर्न सहज हुने गरी स्टल राखेका छौं,’ उनले भने,‘स्थानीय कृषकले हाटबजारमा स्टल राखे बापत कुनै शुल्क तिर्नु पर्दैन।’

कृषकलाई सहज हुनेगरी संस्थाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ। सुरुवाती चरणमा निशुल्क रुपमा कृषी एम्बुलेन्स सेवा दिईरहेको संस्थाका अध्यक्ष पुष्करनाथ बञ्जाडेले बताए। कृषकका उत्पादित तरकारी लगायतका वस्तु सहज रुपले हाटबजार सम्म ल्याउनका लागी कृषि एम्बुलेन्स संचालन गरिएको उनले बताए। ‘कृषि उपजको सुलभ आपूर्ति तथा वितरण व्यवस्थापनको लागि कृषि एम्बुलेन्स संचालन गरेका छौं, अध्यक्ष बञ्जाडेले भने,‘धेरैमा बजार सुचारु भएको छ, व्यवस्थित गर्नेमा केन्द्रित छौं।’

सुचारु भएको हाटबजारलाई थप व्यवस्थित गरेर लैजाने सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए। पहिले भन्दा धेरै व्यवस्थित रुपले सञ्चालन भइरहेको भएपनी घाम–पानी छेक्न पक्की स्टलहरु निर्माण गरिने उनले जानकारी दिए। बल्ल सुरु भएकाले केही अव्यवस्ति जस्तो देखिएपनी चरणबद्ध रुपमा यो व्यवस्थित  गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।  

हाटबजारमा तरकारी सँगसँगै घरायसी सामान किन्न पाएपछि स्थानीय उत्साति भएका छन्। धेरैथरी सामान एकै ठाउँ मोलमलाई गर्दै किन्न पाएपछि सन्धिखर्कमा डेरा गरी बस्ने शितल रायमाझी खुशी छिन्। ‘हाटबजार भएपछी केटाकेटी लिएर यसो खुट्टा तान्न पनि हुने, घरमा चाहिने सामानहरु किन्न पाइने,उनले भनिन्,‘लोकल तरकारी पाईन्छ, ताजा पनि हुन्छ कती जाती ?’

किसानहरुले उत्पादन गरेका टमाटर, खुर्सानी, बन्दा, सिमी, लौका, सिमलामिर्ची, मुला, कागती, साग लगायतका लोकल तरकारीहरु अहिले बजारमा बिक्रि वितरण भइरहेको छ। यस्तै स्थानिय स्तरमा पालेका बंगुरको मासु, सुन्तला, जेरी, पानिपुरी, जाडोको कपडा लगायतका सामानले साप्ताहिक बजारमा किनमेल गर्नेहरुको चाप हुने गर्दछ।

प्रकाशित: २ पुस २०७९ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App