१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विश्वकप फुटबलः रातभर जागा छ पर्यटन बजार

पोखरा लेकसाइडको प्याराडिजो स्पोर्टस बारमा फुटबल हेर्न आएका दर्शकहरु खेलमा रमाउँदै। तस्बिर सौजन्यः प्याराडिजो स्पोर्टस बार

लेकसाइडको मध्यभागमा छ प्याराडिजो स्पोर्टस बार। बारका कर्मचारी यतिबेला अति नै व्यस्त छन्। कारण–राती अबेरसम्म विश्वकप फुटबलका खेल हेर्न आएका पाहुनाका लागि खानपिन र बस्ने सिट व्यवस्थापन गर्दै कर्मचारीलाई भ्याई न भ्याई हुन्छ। बारका कर्मचारी दिउँसोदेखि नै रातीको तयारीमा जुटिसक्छन, नत्र राती व्यवस्थापन गर्न सकस हुने उनीहरुको भनाइ छ।  

मुख्य पर्यटकीय सिजन भर्खरै सकिएको छ। सिजन सकिएपनि थोरै आकारमा विदेशी पाहुना अझै पोखरामा छन्। त्यसबाहेक आन्तरिक पाहुना पनि यतिबेला पातलै छन। तर, विश्वकप फुटबल प्रतियोगिताका कारण अहिले पर्यटकीय क्षेत्र लेकसाइडमा आर्थिक गतिविधि चलायमान बनेको छ। यहाँका चल्तीका रेस्टुरेन्ट, बारमा अहिले फुटबल हेर्नका लागि पोखराभित्रका मात्र नभई आसपासका क्षेत्रका युवायुवती लेकसाइड झर्ने गरेका छन्। राती अबेरसम्म फुटबल हेर्दै मज्जा लिने खानपिन गर्ने ठुलो समुहका लागि अहिले लेकसाइड गतिलो गन्तव्य बनेको छ भने व्यवसायीका लागि आर्थिक गतिविधि बढाउने माध्यम बनेको छ।  

‘चर्चित टिमको गेम हुने दिन त हामीलाई भ्याई न भ्याई नै हुन्छ। यो बेला लेकसाइडमा निकै नै चहलपहल बढेको छ। विश्वकप फुटबलले लेकसाइड तताएको छ,’ प्याराडिजो स्पोर्टस बारका संचालक गोपि भट्टराई भन्छन, ‘मौसमी हिसाबले बाहिरी माहोल चिसो छ। तर, विश्वकपले चल्तीका रेस्टुरेन्ट र बारभित्रको माहोल भने तताएको छ।’ उनका अनुसार प्याराडिजोले १२ वटा स्क्रिन राखेर फुटबल प्रेमीका लागि खेल हेर्न मिल्ने बनाएको छ। फुटबल प्रेमीलाई लेकसाइड झार्दा व्यवसायीको व्यवसाय पनि उकासिएको उनले बताए।

‘प्याराडिजोमा १२ वटा स्क्रिनमा गेम हेर्न मिल्छ, सहरभित्र र आसपासका गाउँबाट समेत युवायुवती अहिले फुटबल हेर्न लेकसाइड झरेका छन, लेकसाइड बिहानसम्म पनि चम्किरहन्छ,’ भट्टराइले भने। उनका अनुसार यो बेला पर्यटनको खासै सिजन होइन। विदेशी पाहुना पनि निकै नै कम छन्। कोरोना भाइरस संक्रमणपछि यसै त विदेशी पाहुना कम थिए। त्यसैमा पनि यतिबेला अफसिजन परेकोले विदेशीको चहलपहल कम भएपनि स्थानीय पाहुनाका कारण लेकासाइड चम्केको उनले बताए।

‘स्पोर्टस लभरका लागि यो बेला लेकसाइड गन्तव्य बनेको छ। चारवर्षमा आउने गतिलो चाँड बनेको छ, विश्वकप फुटबल,’ उनले भने, ‘फुटबलका पारखी यस्ता हुन्छन की उनीहरुलाई समयको भन्दा गेमको महत्व छ। मध्यरातको खेलमा समेत जाग्राम बसेर हेरेका छन।’ उनका अनुसार घरमा बसेर एक्लै हेर्नु भन्दा साथीहरुसँग रमाउँदै फुटबल हेर्ने भनेर लेकसाइड झर्ने युवायुवती पर्याप्त हुने गरेका छन्।  

‘आफ्नो मन परेको टिमको जर्सी लगाएर युवायुवती नै लेकसाइड झरेका छन्। भिन्दै क्रेज फुटबलमा छाएको छ,’ उनले भने, ‘बरु नेपाली टिमका राष्ट्रिय खेलाडीको नाम थाहा छैन, तर, विदेशी खेलाडीका ‘फ्यान’ बनेका छन्, सबै खेलाडीको नाम थाहा ती दर्शकलाई छ।’ फुटबलका दर्शकहरु दिउँसोको खेलमा भए दिउँसै र राती अबेरको खेलमा भए बेलुकी १० बजेदेखि रेस्टुरेन्ट र बारमा भेला हुँदै गर्छन । मध्यरातको खेलसम्म फरक माहोल बनिसकेको हुन्छ। ‘खेल सुरु नभएसम्म सांगितिक कार्यक्रममा रमाउने र त्यसपछि फुटबल हेर्न थाल्छन,’ उनले भने, ‘रंगशालामा हेरे जस्तै भएको छ।’  

प्याराडिजोले बारमा सुरु देखि विश्वकपका खेल प्रत्यक्ष देखाउँदै आएको थियो। १२ वटा स्क्रिनमा १२ ठाउँ बसेर दर्शकले खेल हेर्ने गरेका छन्। बाहिर उभिएर हेर्न चाहनेका लागि पनि बाहिर स्क्रिन राखिएको छ। ‘लेकसाइडका चल्तीका बार र रेस्टुरेन्टमा खेलको माहोल तातेको छ। कतिपयले होटलमा रुम नै पनि लिने गरेका छन,’ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका पूर्व अध्यक्ष समेत रहेका भट्टराइले भने, ‘समुह नै मिलेर पैसा उठाएर खेल हेर्न आउने गरेका छन। कतिपय दर्शक त मध्यरातको खेल सुरु हुने बेलासम्म घरमै सुत्ने र त्यसपछि लेकसाइड झर्ने पनि गरेका छन।’  

‘कहिलेकाँही त सिट अभाव हुन्छ। प्राइम लोकेसनको सिट दिउँसै बुकिङ गराउँछन,’ उनले भने, ‘प्याराडिजोले एकपटकमा ५ सय जनासम्म दर्शकलाई खेल देखाएको छ । दिउँसोमा पनि करिब चारसय जति हुने गरेका छन्।’ 

खेल चलिरहँदा वा पर्खाइमा रहँदा पनि खानपिन गरेर बस्ने र खेल सुरु भएपछि समुहसमुह बनाएर पक्ष विपक्ष बनेर रमाउने गरेको उनले बताए। स्वदेशी मात्र नभई पोखरामा रहेका विदेशी पनि खेल हेर्न चल्तीका बारमा पुग्ने गरेको उनले सुनाए । ‘रेस्टुरेन्ट र बारमा आएपछि थोरधेर खर्च गरिहाल्छन्। केही खाँदा पनि त्यसको आम्दानी भएको छ। यो बेला राम्रै व्यापार भएको छ,’ उनले भने, ‘कतिपय त बेलुकीदेखि नै लेकसाइड झरेर खानपिन गर्दै खेलको पर्खाइमा रहँदा त्यसको लाभ भएको छ।’  

अर्का रेस्टुरेन्ट संचालक दोर्जे लामाले पनि विश्वकप फुटबलले अहिले मध्यरातसम्म लेकसाइडको माहोले तताएको बताए। ‘हो, यो बेला मध्यरातसम्म लेकसाइडका रेस्टुरेन्ट र बारमा खेलप्रेमीको भीडभाड छ। त्यसले व्यवसाय बढाएको छ,’ लामाले भने, ‘चल्तीका होटल र रेस्टुरेन्टमा त खेल हेर्न आएका पाहुनाको भीडभाड निकै नै रहेको छ।’ यो बेला आन्तरिक पाहुना पनि कम भएको बेला स्थानीय पाहुनाका कारण लेकसाइडको माहोल मध्यरातसम्म चम्किएको उनले सुनाए।  

अर्का पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पनि यो बेला स्थानीय पाहुनाका कारण लेकसाइडको व्यवसाय चम्किएको छ। ‘हुन त धेरैले घरमै बसेर खेल हेरेका छन्। तर, समुहमा बसेर मध्यरातको खेल हेर्न लेकसाइड झर्ने दर्शक पर्याप्त छन,’ उनले भने, ‘यसले व्यवसायमा पनि साथ दिएको छ। यो बेला अफसिजन भएपनि विश्वकप फुटबलले गर्दा पर्यटन क्षेत्रको आर्थिक गतिविधि पनि बढेको छ।’

पोखरा आफैमा खेलकुदका गतिविधिका लागि परिचित सहर भएकोले पनि यहाँ खेलप्रेमी पर्याप्त रहेको उनले सुनाए। ‘खेलकुदका सबैखाले गतिविधिमा पोखरामा दर्शक अभाव हुँदैन। अहिले विश्वकपमा पनि त्यही अवस्था हो। दर्शकहरु गेम हेर्नकै लागि लेकसाइड झर्दा त्यसको प्रत्यक्ष लाभ पर्यटनमा परेको छ,’ उनले भने।  

प्रकाशित: २८ मंसिर २०७९ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App