नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का तथा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीसँग नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरू प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवा नव नियुक्त ब्राण्ड एम्बेसडरद्वय मार्फत सम्पूर्ण नेपालीहरूका साथै विशेषतः नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। सो अवसरमा प्रबन्ध निर्देशक पौडेलले यो सहकार्यको सुरुआत मात्र भएकाले भविष्यमा थप व्यावसायिक सहकार्य गर्न सकिने बताए।
ब्राण्ड एम्बेसडर पारस खड्कासँग एक वर्षको लागि र प्रियंका रानी जोशीसँग अर्को मिस नेपाल छनौट हुने अवधिसम्मका लागि सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ।
प्रकाशित: २३ मंसिर २०७९ ०२:२९ शुक्रबार





