१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

जग्गाको भाडा वृद्धि फिर्ता नलिए आन्दोलन गर्ने बुटवलका उद्योगीकाे चेतावनी

औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवलका प्रशासन अधिकृत जिवनारायण बञ्जाडेलाई ज्ञापन पत्र बुझाउँदै बुटवल औद्योगिक क्षेत्र उद्योग संघको प्रतिनिधि मण्डल। तस्विर: नागरिक

आर्थिक मन्दिका कारण औद्योगिक तथा व्यवसायिक क्षेत्र समस्यामा परिरहेको अवस्थामा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरिएपछि बुटवलका उद्योगीहरु त्यसको विरोधमा उत्रेका छन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मनोमानी ढंगले जग्गाको भाडा वृद्धि गरेको भन्दै बुटवल औद्योगिक क्षेत्र उद्योग संघ चरणबद्ध आन्दोलनमा उत्रेको हो। संघले बुधबार बुटवल औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाइ ज्ञापन पत्र बुझाउँदै वृद्धि गरिएको भाडादर फिर्ता गर्न माग गर्‍यो। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले तय गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत नै ज्ञापन पत्र बुझाइएको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराइले बताए। भट्टराइको नेतृत्वमा गएको टोलीले  लिमिटेडका प्रशासन अधिकृत जिवनारायण बञ्जाडेलाई ज्ञापनपत्र बुझाउँदै निर्णय सच्याउन माग गरेको हो। उद्योगीहरुको सहमती बिनै नियम विपरीत भाडा वृद्धि गरेर उद्योग बन्द गराउने योजनामा व्यवस्थापन लागेको भन्दै उनीहरुले माग सम्बोधन नगरिए कडा अन्दोलनमा उत्रने चेतावनी दिए।  

संघका अध्यक्ष भट्टराइले  समस्या समाधानका लागि समिति बनाएर काम भइरहेको अवस्थामा बलजफ्ती भाडा बढाइएकाले उद्योगीहरुले बढेको भाडा नतिर्ने बताए।  संघका पूर्व अध्यक्ष एवं लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वर्तमान नेतृत्वले औद्योगिक क्षेत्रको विकासका लागि नभइ विनाशका लागि काम गरिरहेको आरोप लगाए। तत्काल कदम नसच्याइए त्यसका विरुद्ध उद्योगीहरु एक भएर आन्दोलनमा उत्रने बताए।  

ज्ञापनपत्र बुझ्दै लिमिटेडका प्रशासन अधिकृत बञ्जाडेले औद्योगिक क्षेत्रमा लामो समयदेखि जग्गाको भाडा वृद्धि नभएकाले समय सापेक्ष वृद्धि गरिएको भन्दै कार्यान्वयनमा सहयोगी बन्न आग्रह गरेका थिए। तर उद्योगीहरुले भने उनको भनाइ प्रति असहमति जनाउँदै  कुनै प्रकारका शुल्क नतिर्ने चेतावनी दिए।  

संघका पूर्व अध्यक्षहरु तिलप्रसाद भट्टराई, गणेश प्रसाद अधिकारी, रामप्रसाद बस्याल, संघका सचिव कमल ज्ञवाली, कोषाध्यक्ष प्रज्ववल थान्जु, सदस्य रामप्रसाद खनाल, विनोद न्यौपाने लगायतले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाइ तत्काल कदम सच्याउन आग्रह गर्दै अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी दिए।  

संघले महासंघको निर्धारित कार्यक्रम अनुसार एक साता भित्र आफ्ना मागको सुनुवाई नभएमा व्यवस्थापकको कार्यकक्षमा तालाबन्दी गरिदिने, कार्यालय र उद्योगहरुमा कालो झण्डा तथा  लिमिटेडलाई कुनै पनि किसिमको भाडा महशुल तथा शुल्क भुक्तानी रोक्का लगायतका चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७९ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App