coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषि क्षेत्रको व्यवसायीकरणले मात्रै आर्थिक उन्नति सम्भव छ: इजरायली राजदूत

इजरायली राजदूत खनान गोडेर। तस्बिर: योगेश रावल

नेपालका लागि इजरायली राजदूत खनान गोडेरले कृषि क्षेत्रलाई व्यवसायीकरण गरे मात्रै मुलुकले आर्थिक उन्नति गर्ने बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायले आज टीकापुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परम्परागत रुपमा गरिँदै आएको कृषिले आर्थिक उन्नति सम्भव नरहेको बताए।

‘यो इजरायलको आजको अनुभव हो’ उनले भने–‘आर्थिक उन्नतिका लागि कृषि क्षेत्रको व्यवसायीकरण गर्नैपर्छ।’

उनले नेपालमा बढ्दो भूखण्डिकरणले पनि कृषि क्षेत्र ओरालो लागेको बताउँदै खेतीयोग्य जमिनलाई टुक्रिनबाट रोक्नुपर्ने बताए। उनले जमिनको खण्डिकरणले प्रविधिको प्रयोग सम्भव नभएकाले कृषि पेसाको व्यवसायीकरणमा प्रविधिको प्रयोग जरुरी रहेको बताए। उनले भूखण्डिकरण नेपालको प्रमुख चुनौती रहेको बताउँदै राज्यका उपल्लो निकायहरुबीच समन्वय हुनु आवश्यक रहेको बताए।

‘सरोकारवालाहरुबीच समन्वय छैन’ उनले भने ‘जसका कारण दिनदिनै जमिन टुक्रिँदै गएको छ। जसले प्रविधिको प्रयोग हुन सकेको छैन।’

उनले कृषकको सङ्ख्या धेरै हुनु पनि नेपालका लागि चुनौतीको विषय भएको बताए। उनले धेरै व्यक्तिले कृषि पेसा गरेर मात्रै कृषि क्षेत्रको विकास हुन्छ भन्नु गलत भएको बताए। उनले त्यसको ज्वलन्त उदाहरण इजरायललाई हेर्न सकिने बताए।

‘हामीसँग २ प्रतिशत जनसंख्याले मात्रै कृषि पेसा गर्छन् तर तपाईहरुकोमा ६५ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न छ’ उनले भने –‘तपाईहरुको र हाम्रो उत्पादनलाई हेर्नुस्। थोरै व्यक्तिले ठुलो मात्रामा कृषि पेसा गर्नुपर्छ अनि धेरै उत्पादन गर्न सकिन्छ।’

उनले इजरायल सरकारले नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्न तयार रहेको बताए। उनले सहयोग आदानप्रदानका लागि सरकारबीच सम्झौता समेत भएको जानकारी दिए। 

उनले नेपाल र इजरायलको सम्बन्ध सुरु भएको ६२ वर्ष पूरा भएको बताउँदै सहयोग आदानप्रदानका लागि आफूले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताए। उनले सन् १९६०  देखी दुई देशबिच गहिरो मित्रता कायम रहेको बताए। 

उनले इजरायल सरकारले नेपालमा कृषि क्षेत्रमा मात्रै नभई पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत लगानी गर्दै आएको बताए। उनले अन्य थप क्षेत्रमा समेत लगानी गर्न इजरायल सरकारले तयारी थालेको जानकारी दिए।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमरराज जोशी, रजिस्ट्रार प्रा.यज्ञराज पाठक, कृषि विज्ञान संकायका डीन प्रा.डा. लालप्रसाद अम्गाई लगायतले आफ्नो भनाइ राखेका थिए। विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले इजरायलमा पढ्न जाने वातावरण तयार भइरहेको डीन अम्गाईले जानकारी दिए। उनले अगस्ट सम्म ५० जना विद्यार्थी त्यता जाने गरी गृहकार्य भइरहेको बताएका छन्।

प्रकाशित: २१ मंसिर २०७९ १२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App