पूर्वीसुर्खेतको भेरी नदी किनारमा आधुनिक सहर (स्मार्ट सिटी) निर्माण कार्य सुरु भएको छ। सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइले भेरी नदी किनारमा स्मार्ट सिटी निर्माणका लागि ‘भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर’ को कार्यालय स्थापना गरेर काम सुरु गरिसकेको छ।
संघीय आयोजना कार्यालयका प्रमुख अमरबहादुर थापाले भेरी किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर निर्माण प्रक्रिया सुरु गरिएको बताए। ‘भेरी किनारको मेहलकुनामा कार्यालय स्थापना गरिसकेका छौं’, थापाले भने, ‘पाँच वर्षअघि नै सुरु भइसक्नुपर्ने काम भर्खर सुरु हुन थालेको छ।’
पूर्वीसुर्खेतको घोरेटादेखि पश्चिम सुर्खेतको कर्णाली र भेरीको दोभान घाटगाउँसम्मलाई जोडेर आधुनिक सहर निर्माण हुने छ। आधुनिक सहर निर्माणका लागि दुई, पाँच, १० र १५ बर्से योजना बनाइने उनले जानकारी दिए। ‘कार्यालयका लागि आवश्यक जनशक्तिका लागि विभागमा लेखेर पठाएका छौं’, थापाले भने, ‘जनशक्ति पूर्ति हुनेबित्तिकै आधुनिक सहर निर्माणका काम अघि बढ्ने छ।’
भेरी किनारमा आधुनिक सहर निर्माणको सुरुवात २०७३ सालमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका त्यस क्षेत्रका सांसद पूर्णबहादुर खड्काले गरेका थिए। २०७४ मा उनी पराजित भएसँगै आधुनिक सहर निर्माणको काम हुन सकेन। आधुनिक सहरअन्तर्गत मेहलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, बोटेचौर र छिन्चुमा आधुनिक बसपार्कलगायतका संरचना निर्माण हुनेछन्। हालसम्म सिटी हलको मात्रै निर्माण पूरा भएको छ।
संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख थापाले घोरेटादेखि घाटगाउँसम्मको ११५ किलोमिटर भेरी किनारमा आधुनिक सहर निर्माण हुने भए पनि पहिलो चरणमा भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिकालाई समावेश गरेर आधुनिक सहर निर्माण कार्य सुरु गरिने बताए। ‘पूरै काम सम्पन्न गर्न झन्डै २२ अर्ब हाराहारी बजेट आवश्यक पर्छ’, उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारमातहतका निकायका साथै दातृ निकायसमेतको आर्थिक सहयोगमा भेरी किनारमा सुन्दर सहर बनाउने योजना छ।’
आधुनिक सहर निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को काम तत्कालै सुरु हुँदै छ। नयाँ बन्ने आधुनिक सहर सम्पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मक हुने छ। सांसद खड्काले बीसबर्से दीर्घकालीन योजनाका साथ आधुनिक सहर निर्माण थालनी गरिएको जानकारी दिए। यसलाई ‘ग्रिन सिटी’ का रूपमा समेत विकास गरिने उनको भनाइ छ। ‘नेपालमा नदी किनारमा आधुनिक सहरहरू छैनन्’, खड्काले भने, ‘भावी पुस्तालाई देशकै नमुना सहर निर्माण गरेर नासोका रूपमा दिने उद्देश्य लिएका छौं।’
स्मार्ट सिटी निर्माणका लागि ‘कृषि, पर्यटन र व्यापारको विस्तार, भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर निर्माणको आधार’ दीर्घकालीन सोच तय गरिएको छ। पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा भेरी किनारमा सहरीकरणसँगै कृषि, व्यापार, पर्यटन, उद्योग कारखानाको सम्भाव्यता औंल्याएको छ। कुन क्षेत्रमा के–के सम्भावना छन् र त्यसलाई कसरी लागू गर्ने भन्ने विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
भेरी किनारमा बन्ने आधुनिक सहरका लागि विभागीय सचिवसहितको टोली पनि केही दिनमा पूर्वीसुर्खेतमा आउने कार्यक्रम तय गरिएको छ। ‘बस्ती विकाससँगै सडक, हाटबजार, जंगल क्षेत्र, सिटी हल, बसपार्क, पार्कहरूका लागि विस्तृत परियोजना प्रतिवेदन बनाउने तयारी भइरहेको छ’, उनले भने, ‘आधुनिक सहर निर्माणमा भइरहेको काम र आगामी दिनमा गर्नुपर्ने कामको अनुगमनका लागि मन्त्रालय र विभागबाट पदाधिकारी पनि आउँदै हुनुहुन्छ।’
गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले पाँच वर्षसम्म अलपत्र परेको नयाँ सहर योजना सुरु हुन लागेको खबरबाट सथानीय जनता हर्षित भएको बताए। ‘भेरी किनारमा नयाँ सहरको योजना कार्यान्वयन हुने खबरले आम नागरिक हर्षित हुनुहुन्छ’, उनले भने, ‘स्थानीय सरकारका तर्फबाट हामीले गर्नुपर्ने सहयोगका लागि पनि तयार छौं।’ नयाँ सहरकै लागि पूर्वीसुर्खेतमा पूर्वाधार निर्माणका काम सुरु गरिएका छन्। केही सम्पन्न पनि भएका छन्।
आधुनिक सहरलाई मूर्तरूप दिनकै लागि भेडाबारीदेखि रामघाटसम्म करिब १५ किलोमिटर दूरीमा सातवटा पक्की पुल रहने भएका छन्। तीमध्ये भेडाबारी र मेहलकुनाको पुल सञ्चालनमा आइसकेको छ भने जहरेमा निर्माण भइरहेको पुल केही महिनामै सञ्चालनमा आउने छ। रामघाट, चिप्ले र कल्याणमा पुल निर्माण कार्य भइरहेको छ। सडक विभागका अनुसार नेपालका कुनै पनि ठाउँमा यति नजिक दूरीमा पक्की पुल छैनन्। भेडाबारी र मेहलकुना पुलबीचको दूरी साढे एक किलोमिटर मात्र छ।
यस्तै स्मार्ट सिटीअन्तर्गत पर्ने छिन्चु–जाजरकोट सडक खण्डको छिन्चुदेखि सिमघाटसम्म फोर लेन सडक निर्माण सुरु गरिएको छ। एक अर्ब १३ करोड ५० लाख रूपैयाँमा निर्माण भइरहेको फोर लेन सडकसँगै भित्री सडक पनि कालोपत्रे हुँदैछन्। पूर्वीसुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र खटाङमा आधुनिक पार्क निर्माण भइरहेको छ। ‘नयाँ सहरअन्तर्गत पाँच वर्षको अवधिमा निर्माण सम्पन्न भइसक्नुपर्ने बसपार्क, बहुउद्देश्यीय सभाहल, पार्क, हाट बजारलगायतका काम पनि हुन सकेनन्’, सुर्खेत– १ का सांसद खड्काले भने, ‘खरायोको गतिमा रहेको विकास कार्यलाई कछुवा कतिमा सम्पन्न गर्नुपर्ने दायित्व आइलागेको छ।’
प्रकाशित: २० मंसिर २०७९ ०१:०६ मंगलबार