२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सेयर बजारका लगानीकर्ता पर्ख र हेरमै

आम निर्वाचन सम्पन्न भएपछि बजारले गति लिने अपेक्षा गरिएको भए पनि अझैसम्म बजारमा ठूलो उचारचढाव भने देखिएको छैन। बजारमा तरलता अभाव केही सहज भएको, बैंक तथा वित्तीय संस्थाको ऋणको ब्याज दरमा वृद्धि नहुने अपेक्षा गरिएको र लाभांशको सिजन तथा लामो समयदेखि निरन्तर ओरालो लागेको बजार सुधारिनेमा धेरै लगानीकर्ता आशावादी रहेका छन्।

राष्ट्र बैंकले ब्याजदर नियन्त्रणका लागि मौद्रिक नीतिमा बाणिज्य बैंकको स्प्रेड दर ४ प्रतिशत कायम गरेको अवस्थामा अब ब्याज नबढ्ने भएका कारण सेयर बजार एकाएक नबढे पनि अब घट्ने क्रम रोकिएको हो कि भन्ने विश्लेषण धेरैको रहेको छ।

संघीय तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सेयर बजारले गति लिनेमा लागनीकर्ता आशावादी थिए तर चुनावपछि आएको मत परिणामले अब कस्तो सरकार बन्छ भन्नेमा भने लगानीकर्ता अझै ढुक्क बन्न सकेका छैनन्।

विशेषगरी अब बन्ने गठबन्धन सरकार कसको नेतृत्वमा बन्छ र अर्थ मन्त्रालय कसले सम्हाल्छ भन्ने कुरामा लगानीकर्ताको ध्यान गएको छ। प्रत्यक्षतर्फको मतगणनाको करिब करिब सम्पूर्ण परिणाम आइसकेको भए पनि सरकार गठनका लागि पुस १५ लाग्ने अनुमान गरिएको छ। नयाँ सरकार निर्माणमा पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेका कारण बजारमा अपेक्षाकृत कारोबार बढ्न नसकेको विश्लेषकहरू बताउँछन्।

कतिपय विश्लेषकले बजार घटेर १८०६ बिन्दुमा आएकोमा सोही बिन्दु नै बियरिस बजारको अन्तिम बिन्दु हुने विश्लेषण गरिरहेका छन् भने कतिपयले बजारले सो बिन्दुलाई तोडेर अझ तल झर्ने पनि बताइरहेका छन्। बजारले भने तल झर्न नमानिरहेको र लगानीकर्तामा सकारात्मक मनोविज्ञान बनिरहेको विश्लेषण अर्काथरिको छ।

गत साताको अन्तिम दिन सकारात्मक बनेर बन्द भएको सेयर बजार आइतबार पनि झिनो अंकले सकारात्मक बनेको छ। यस दिन कारोबार रकममा बिहीबारको तुलनामा वृद्धि भई १ अब ५६ करोड रूपैयाँको करोबार भएको छ। यस दिन सेयर बजार मापन परिसूचक २ दशमलव १६ अंकले बढेर १९६२.२ अंकमा आइपुगेको छ। आइतबार दिनभर बजार निकै उतारचढावपूर्ण रहेको थियो।

अहिले लाभांशको सिजन भएका कारण पनि लगानीकर्ताको ध्यान बलिया कम्पनीतिर रहेको छ। बजारमा यस दिन नबिल बैंकको सेयर अत्यधिक कारोबार भयो। नबिलले राम्रै लाभांश दिने अनुमान लगानीकर्तामा रहेको छ। त्यसकारण यसको मूल्य गत साता लगातार बढेको थियो। यस दिन भने मूल्य घटेर कारोबार भई अन्तितममा ८ सय ८२ रूपैयाँ कायम भएको छ। यस दिन यस कम्पनीको मूल्य ३१ रूपैयाँले घटेको हो।

यस दिन २ सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर १६ हजार १ सय ५० पटक किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। यस दिनको बजार पुँजीकरण २८ खर्ब २३ अर्ब ९७ करोड कायम भएको छ।

प्रकाशित: १९ मंसिर २०७९ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App