नेपाल वायुसेवा निगमले पोखरा अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ अधिकार आफूलाई दिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई अनुरोध गरेको छ। निगमले प्रेस विज्ञप्ति जारी गरी हाल त्रिभुवन अन्तर्राष्ट्रिय र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य गर्दै आइरहेकोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य पनि निगमलाई नै प्रदान गर्न क्यानलाई अनुरोध गरेको हो। निगमले स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको ग्राउण्ड ह्याण्डलिङ सेवा दिँदै आइरहेको बताएको छ। यसैगरी निगमले लामो समयसम्म व्यवस्थापकीय अनुभव, दक्ष जनशक्ति, आवश्यक प्रविधि र स्रोत भएको विज्ञप्तिमा उल्लेख गरेको छ। हाल निगमले विभिन्न १० वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ।
प्रकाशित: ७ मंसिर २०७९ ०३:०८ बुधबार