७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना: एक महिनामा ६२० मिटर सुरुङ छिचोलियो

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले एक महिनाको अवधिमा ६२० मिटर सुरुङ छिचोलेको छ। यस आयोजनामा गत असोज २८ गतेदेखि टनेल बोरिङ मेसिन (टिबिएम) को प्रयोग गरेर सुरुङ खन्न थालिएको थियो।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बरालले एक महिनाको अवधिमा लक्ष्यभन्दा पनि धेरै सुरुङ खनिएको बताए। ‘टिबिएम मेसिनबाट मासिक ५ सय मिटर सुरुङ खन्ने लक्ष्य राखिएको थियो,’ उनले भने ‘अहिले लक्ष्यभन्दा पनि छिटो गतिमा सुरुङ खन्ने काम भइरहेको छ।’

आयोजनाका अनुसार मंसिर १ गतेसम्म ६२० मिटर सुरुङ खनिसकेको छ। आयोजना निर्देशक बरालले सुरुङ खन्दा अहिलेसम्म कुनै ठूलो खालको प्राविधिक जटिलता नदेखिएको बताए। ‘अहिलेसम्म सुरुङ खन्दा कुनै समस्या देखिएको छैन।

सामान्य खालका केही देखिएका छन् तर रोविन्स कम्पनीका प्राविधिकले ती समस्यालाई तुरुन्तै समाधान गर्ने काम गर्दै आइरहेका छन्।’

अहिले सुरुङ खन्दा कडा खालको चट्टानभन्दा पनि बालुवा र माटो मिश्रित सामान्य खालको ढुंगा भेट्टिएको छ। आयोजना निर्देशक बरालले अहिले टिबिएम मेसिनको सहायताले दैनिक २० मिटरभन्दा धेरै सुरुङ खनिएको बताए। ‘अहिले दैनिक सरदर २० मिटरको दरले सुरुङ खन्ने काम भइरहेको छ,’ उनले भने ‘अबको केही समयभित्रै दैनिक २५ देखि ३० मिटर खन्ने लक्ष्य राखेका छौं।’

अहिले सुनकोशी आयोजनामा ७ सयभन्दा धेरै प्राविधिक तथा अन्य कामदारले २४ औं घण्टा काम गर्दै आइरहेका छन्। आयोजनाको सेगमेन्ट कामको लागि ६ सय जना कामदार खटिएका छन्। प्राविधिकतर्फ ७० जना, परामर्शदाता कम्पनीको तर्फबाट १० जना र सुनकोशी मरिन आयोजनाको तर्फबाट १५ जना खटिएका छन्।

आयोजनाका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिन स्थानीय कामदारलाई मात्रै बिदा हुने भएकाले आयोजनाको काम प्रभावित हुँदैन। आयोजना निर्देशक बरालले भेरी बबई बहुउद्देश्यीय आयोजनामा टिबिएम मेसिनको प्रयोग प्रभावकारी देखिएकाले नै सुनकोशी मरिन डाइभर्सन आयोजनामा पनि टिबिएमबाट खनिएको बताउँछन्।

‘यो आयोजनाको १३.३ किलोमिटर टनेल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ यो आयोजनाको सुरुङ खन्ने ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले नै पाएको छ। आयोजना र सुरुङ खन्ने ठेकेदार कम्पनीबीच २०१९ को मे मा ठेक्का सम्झौता भएको थियो।

कोभिड १९ को कारणले टिबिएम मेसिन निर्माण गर्न र नेपाल भित्र्याउन नसक्दा आयोजनाको सुरुङ खन्ने काम प्रभावित भएको थियो। ठेक्का सम्झौता १३.३ किलोमिटर लामो सुरुङ सन् २०२५ को अगष्ट अर्थात् ५२ महिनाभित्र निर्माण गर्ने सम्झौता भएको थियो। यो सुरुङमार्ग ६.४ व्यास मिटरमा खनिनेछ। आयोजना र चिनियाँ ठेकेदार कम्पनीबीच मूल्य अभिवृद्धिकर भ्याटबाहेक १० अर्ब ५ करोड ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

त्यसैगरी आयोजनाको हालसम्म साढे तीन अर्ब रूपैयाँ खर्च भइसकेको छ। सिन्धुलीस्थित मरिन खोलामा खसाएर रौतहट र सर्लाहीको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु‍र्याउने तथा ३१ मेगावाट विद्युत् उत्पादनसमेत गर्ने उद्देश्यले २०७३ सालमा सुरु गरिएको थियो। मन्त्रिपरिषद्को २०७६ माघ ६ गते बसेको बैठकले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको थियो।

आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रूपैयाँ रहेको छ। महालेखापरीक्षक कार्यालयको प्रतिवेदनले टिबिएम मेसिन ल्याउन ढिलासुस्ती भएकाले सुरुङमार्ग निर्माणको समय र लागत बढ्ने हुँदा सम्झौता अनुसारको अवधिमा टनेल निर्माण कार्य सम्पन्न गर्न आयोजना व्यवस्थापनको ध्यान दिनुपर्ने औंल्याएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते आयोजनाको शिलान्यास गरेका थिए। आयोजनाको प्याकेज दुईमा हेडवक्र्स, पावरहाउस, सर्टसाफ्ट, विपी राजमार्गमध्ये एक किलोमिटर सडक लगायतका पूर्वाधार निर्माणको लागि ठेकेदार कम्पनीको पूर्व योग्यता छनोटको काम भइरहेको जनाएको छ।

आयोजनाले आगामी पुस महिनासम्म योग्य ठेकेदार कम्पनीको छनोट गर्ने समयसीमा तोकेको छ। यसमा ठेकेदार कम्पनीको प्राविधिक मूल्यांकन मात्रै गरिन्छ। प्राविधिक मूल्यांकनमा छनोट भएका कम्पनीमध्येबाट आर्थिक प्रस्तावमा छनिएको कम्पनीले मात्रै ठेक्का हात पार्नेछ। आयोजनाले हेडवक्र्स, पावरहाउस लगायतका पूर्वाधार निर्माणका लागि २५ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।  

प्रकाशित: ५ मंसिर २०७९ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App