१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

एक बिघामा १५ लाखसम्मको केरा फलाउँछन् कैलालीको एक किसान

कैलालीको टीकापुर-४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन्। धामीले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाख रूपैयाँको केरा बेचे। ‘‘समयमै उत्पादन हुँदा ४७ लाखको केरा बेचें, फुटकर बेचेको हिसाब राखेको छैन’’, उनले भने, ‘‘मैले राम्रो उत्पादन भएका बेला एक बिघामा १५ लाख रूपैयाँसम्म कमाएको छु।’’

धामीले १९ बिघामा केरा खेती गरेका छन्। यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादन गर्दै छन्।

१४ वर्षदेखि केरा खेतीमा संलग्न धामीले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै छन्। यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले राम्रो साथ दिएको छ। आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ’’, उनले भने, ‘‘मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्न किनिदिने गरेको छ।’’

केराखेतीमा राम्रो आम्दानी देखेपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ। ‘‘आफ्नो जमिन सदुपयोग र बाँकी जमिन लिजमा लिएर खेती गरिरहेको छु’’, उनले भने, ‘‘ मल र पोषक तत्त्व सहजै पाउन भने कठिन हुने गरेको छ। लागतअनुसार बजार नपाउँदा कहिलेकाहीं समस्या हुन्छ।’’

किसानले असारमा केरा रोप्छन्। वर्खाको सिजनमा केराको अभाव हुन्छ। केरा किसान धामी मूल्य राम्रो पाउन किसानको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउँछन्। ‘‘हरेक किसानले असारमा केरा रोप्ने चलन छ। यसपटक मैले मङ्सिरमा केरा रोपें, यो केरा साउनमा फुट्छ तर यसले मल नपाएर समस्या छ’’, उनी भन्छन्, ‘‘वैशाखमा रोपेको केरा अहिले बजारमा जाँदै छ।’’

धामीले केरा खेतीमा बहुबाली खेती गर्दै छन्। ‘‘केराभित्र तोरीखेती गरेर २४ कुइन्टल फल्यो, अहिले केराबारीमा सुर्खानी लटरम्म फलेको छ’’, उनले भने, ‘‘कामदार अभावमा टिप्न सकेको छैन। केरासँगै अन्य बाली लगाएर फाइदा लिन सकिन्छ।’’

धामीसँग नियमित १२ कामदारले रोजगार पाएका छन्। त्यसबाहेक सिजनमा ज्यलादारीमा कामदार लगाउने गरिएको छ। ‘‘प्राकृतिक प्रकोपबाट बच्ने र बजार ग्यारेन्टी भएमा केरा जति आम्दानी अरू बालीमा छैन’’, उनी भन्छन्, ‘‘बाली बिमामा समस्या छ। तोकिएका कम्पनी बिमा गर्न मान्दैनन्। बिमा गरेका किसानले क्षतिपूर्ति पाएका छैनन्। अहिले मैले चाहेर ५० लाखको मात्र बिमा गरेको छु। निकै अनुरोध गरेपछि थोरै बालीको बिमा भएको छ। बाली बिमामा किसानलाई सहज वातावरण बनाइदिनुपर्छ।’’

अहिले कैलालीका किसानले बारीमा ४० देखि ४५ मा केरा बेच्दै छन् तर बजारमा ८० रूपैयाँ बढीमा बिक्री हुन्छ। केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन्। मूल्यबीचका बिचौलियाले पाइरहेको अवस्था छ।

नेपालमै केरा खेतीको उर्वर भूमिका रूपमा चिनिने टीकापुरमा केरा खेती गर्न चाहने किसानले यस वर्ष भने नेपालका ल्यावमा बेर्ना उत्पादन नहुँदा समयमै बेर्ना पाएनन्।

आयोजनाका कृषि अधिकृत आकृति ठाकुर आयोजनाले केरा खेती गर्ने किसानलाई प्रोत्साहन गर्न थोपा सिँचाइ प्रविधि जडानमा सहयोग, बेर्नामा ५० प्रतिशत, सूक्ष्म पोषक तत्त्वमा ७५ प्रतिशत र प्रविधिमा सघाउने गरेको बताउँछन्।

‘‘आयोजनाले कृषिका अन्यबाली जस्तै केरा किसानलाई सघाउँदै छ। बजारीकरणका लागि आवश्यक क्यारेट लगायतका सामग्री उपलब्ध गराउने गरेको छ’’, कृषि अधिृकत ठाकुर भन्छन्, ‘‘आयोजनाको दोस्रो चरणमा दुई सय ५० हेक्टर जमिनमा केराखेती गर्न सघाएको छ। जसमा सय हेक्टर जमिनमा थोपा सिँचाइ प्रविधि जडानमा सघाएको छ।’’

आयोजनाले आयोजना क्षेत्रका छ सय ८७ किसानलाई केराखेतीका लागि सघाएको छ। आयोजनाले पहिलो चरणमा किसानलाई केराखेतीमा सघाएको थियो। आयोजनाको सहयोगपछि कैलालीको टीकापुर र जानकी क्षेत्रका सयौं किसान केराखेतीमा आकर्षित छन्।

आयोजनाका प्रमुख भरत कँडेल सरकारको युवालाई कृषिमा संलग्न गराउने नीतिअनुसार आयोजनाले पनि युवा किसानलाई प्रोत्साहन गरिरहेको बताउँछन्। ‘‘टेकेन्द्रजी जस्तो युवा कृषिमा लाग्नु राम्रो पक्ष हो। किसानहरू केरामा आत्मनिर्भतातर्फ गएको देखिन्छ’’, आयोजना प्रमुख कँडेल भन्छन्, ‘‘खाद्यान्नभन्दा फलफूल त्यसमा केरामा राम्रो आम्दानी लिन सकिन्छ। केराका लागि कैलालीको माटो र हावापानी राम्रो छ।’’

आयोजनाको तेस्रो चरणका कार्यक्रम पनि सुरु भएका छन्। तेस्रो चरणमा  केरा किसानलाई सघाउने कार्यक्रम रहेका र बजार विस्तारका लागि सहजीकरण गर्ने गरेका उनको भनाइ छ।

प्रकाशित: १२ श्रावण २०८२ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App