संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्र दिवसको अवसरमा सन् २०२५ का लागि दिगो विकास लक्ष्यका १७ युवा नेताहरूको पाँचौं चरण घोषणा गरेको छ।
यसपटक पहिलोपटक नवगठित संयुक्त राष्ट्रसंघ युवा कार्यालयमार्फत यो सूची सार्वजनिक गरिएको हो।
घोषित १७ मध्ये नेपालकी ऐश्वर्या श्रेष्ठ पनि चयन भएकी छन्। उनी सामाजिक कार्यकर्ता, अनुसन्धानकर्ता तथा ‘Heart of Nepal’ र ‘Antardhoni Nepal’ की सह-संस्थापक हुन्। यससँगै, श्रेष्ठले नेपाली युवाको नेतृत्व र योगदानलाई विश्व मञ्चमा प्रतिनिधित्व गर्ने अवसर पाएकी छन्।
संयुक्त राष्ट्रसंघले हरेक दुई वर्षमा विश्वभरका असाधारण युवा परिवर्तनकर्ताहरूलाई “Young Leaders for the SDGs” को रूपमा सम्मान गर्दै आएको छ, जसले मानव अधिकार, शान्ति, सुरक्षा र दिगो विकासका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका छन्। यस वर्षको आवेदन प्रक्रियामा १५० भन्दा बढी देशबाट ३३ हजारभन्दा बढी आवेदन परेको थियो। चयन भएका युवाको उमेर १६ देखि ३३ वर्षबीचको छ।
संयुक्त राष्ट्रसंघका सहायक महासचिव तथा युवा मामिलाका प्रमुख फेलिपे पाउलियरले भने, ‘२०२५ का युवा नेताहरू संसारका कुनाकाप्चामा वास्तविक परिवर्तन ल्याइरहेका युवाको साहस, सृजनशीलता र प्रतिबद्धताको उदाहरण हुन्। जलवायु संकटदेखि मानसिक स्वास्थ्य, शिक्षाको पुनर्कल्पना र शान्तिको प्रवर्द्धनसम्म यी युवा नेताहरू आजका चुनौतीहरूमा मात्र होइन, भोलिको भविष्य पुनःनिर्माणमा जुटिरहेका छन्।’
यस वर्ष चयन भएका युवा नेता
एडेलिन पियरे (हाइटी) — शान्ति र वातावरण संरक्षण अभियन्ता
ऐश्वर्या श्रेष्ठ (नेपाल) — सामाजिक कार्यकर्ता, अनुसन्धानकर्ता, ‘Heart of Nepal’ र ‘Antardhoni Nepal’ की सह-संस्थापक
एनथुरियम ल्युइस (ट्रिनिडाड एण्ड टोबेगो) — बालअधिकार अभियन्ता
एनजो रोमेरो (पेरु) — बायोनिक इन्जिनियर, LAT Bionics का संस्थापक
निला इब्राहिमी (अफगानिस्तान/क्यानडा) — बालिकाको शिक्षाकी अभियन्ता
सहबा एल–शावा (जोर्डन/प्यालेस्टाइन) — अन्तरिक्ष अनुसन्धानकर्ता, Palestine Space Institute की संस्थापक
युवा नेतामा चयन भएपछि ऐश्वर्या श्रेष्ठले अब नयाँ पुस्ता निर्णयको केन्द्रमा पुगेको बताएकी छन् । उनले भनिन्, ‘हामीले पाउने संसार लोभ, असमानता र अन्यायले थिचिएको छ। आज बाँच्न सक्नु नै विशेषाधिकार जस्तै बनेको छ। अब युवा पुस्ता निर्णयको केन्द्रमा नआए भने, भोलि सधैंका लागि ढोका बन्द हुनेछ। संसार फेरि सुधार्ने होइन, जोगाउने अवस्थामै पुगिसक्यो।’
यस वर्षका १७ युवा नेताको छनोटमा सहभागिता जनाउने निर्णायक प्यानलमा सेनेगलकी पूर्व प्रधानमन्त्री अमिनाता टुरे, कोस्टारिकाका पूर्व राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसादा, कतारकी शेखा मोजा बिन्त नासर, भारतीय अभिनेत्री सञ्जना सङ्घी, जापानी स्की जम्पर सारा ताकानाशी, ब्रिटिस अभिनेता विल पौल्टर लगायत रहेका थिए।
प्रकाशित: १२ कार्तिक २०८२ १८:१६ बुधबार





