नेपाल र तिब्बत क्षेत्रमा आएको विनाशकारी बाढी तथा हिमनदी र हिम–चट्टान भत्किँदा ज्यान गुमाएका तथा अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सम्झनामा बेलायतको लन्डनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
ग्रिनविचको रोयल बरोको आयोजनामा बिहीबार वुलविच टाउन हलस्थित भिक्टोरिया हल, वेलिङ्टन स्ट्रिटमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो।
नेपाल र तिब्बतमा आएको आकस्मिक बाढीको त्रासदीमा ज्यान गुमाएका तथा अझै बेपत्ता रहेका हजारौँ मानिसको सम्झनामा आयोजित सभामा स्थानीय सरकारका प्रतिनिधि, नेपाली समुदायका अगुवा तथा बेलायतस्थित नेपाली दूतावासका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा बेलायतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै विश्व समुदायले नेपाललाई गरेको सहयोगप्रति प्रशंसा गरे। उनले सरकारले उद्धार तथा राहतका कार्यलाई निरन्तरता दिइरहेको जानकारी दिए। कार्यक्रममा स्थानीय सरकार, बेलायतस्थित नेपाली समुदाय र नेपालको कूटनीतिक प्रतिनिधित्वबीच विपत्तिप्रति ऐक्यबद्धता प्रस्तुत गरिएको थियो।
कार्यक्रममा ग्रिनविचका मेयर काउन्सिलर डेभिड गार्डनरले स्वागत मन्तव्य दिएका थिए। त्यसपछि प्लमस्टेड र ग्लाइनडन क्षेत्रका वार्ड काउन्सिलर जित रानाभाट तथा एबे उड क्षेत्रकी वार्ड काउन्सिलर गौमाया गुरुङ रानाभाटले सहभागी अतिथिहरूको परिचय गराएका थिए।
नेपाली कल्चरल सेन्टर यूकेका संरक्षकद्वय पण्डितहरु चिरञ्जीवी ढकाल र निहारी घिमिरेले स्वस्तिवाचन गरेका थिए। त्यसपछि बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति सम्मान प्रकट गर्दै सहभागीहरूले एक मिनेट मौनधारण गरेका थिए।
श्रद्धाञ्जली सभामा आठ वर्षीया शावनी केसीले हार्मोनियमसहित नेपाली गीत ‘कुन मन्दिरमा जान्छौ यात्री’ प्रस्तुत गरेकी थिइन्। सानो उमेरकी बालिकाले प्रस्तुत गरेको उक्त सांगीतिक प्रस्तुति सभाको भावनात्मक पक्ष बनेको थियो।
वुलविचमा आयोजित श्रद्धाञ्जली सभाले विपत्तिमा ज्यान गुमाउने नेपाली तथा अन्य नागरिकप्रति सम्मान प्रकट गर्नुका साथै बेलायतस्थित नेपाली समुदाय र स्थानीय प्रशासनबीचको ऐक्यबद्धता प्रस्तुत गरेको छ।
प्रकाशित: २ आश्विन २०८३ १३:३० शुक्रबार





