२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अन्य

सुन्दर हुने नाममा ७५ वर्षीया वृद्धाले सिध्याइन् छ करोड ८६ लाख, घर बेचेर जुटाएको बचत र गहना पनि गयो

एआई तस्बिर

चीनमा ७५ वर्षीया एक वृद्धाले सौन्दर्य उपचारका नाममा ३० लाख युआन (छ करोड ८६ लाख रुपैयाँभन्दा धेरै) खर्च गरेपछि जीवनभरको बचत सकिएको छ।

उनकी छोरीले यो अवस्थाबारे थाहा पाएपछि घटना बाहिर आएको हो। वृद्धाकी छोरीले हालै आमाले सौन्दर्य सेवामा सबै बचत खर्च गरिसकेको थाहा पाएपछि सांघाईको एक टेलिभिजन कार्यक्रममार्फत सहयोग मागेकी थिइन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यू थर भएकी ती महिलाले सन् २०१६ देखि आफ्नो बचत योङची ब्यूटी एन्ड हेयरड्रेसिङ कम्पनीको एक शाखा र योङचीसँग सम्बन्धित मेडिकल ब्यूटी संस्थामा खर्च गरेकी थिइन्। उनले छाला कस्ने प्रक्रिया, थ्रेड लिफ्टिङ र मेरिडियन मसाजलगायतका सेवा लिएको पाइएको छ। 

दुई संस्थाबाट प्राप्त बिलिङ विवरणमा यूले आँखीभौं र ओठको ट्याटु पनि मिलाएकी थिइन्।

यी सेवाको शुल्क बजार मूल्यभन्दा १० देखि २० गुणासम्म बढी रहेको पाइएको छ। ओठ ट्याटुको एउटा सत्रका लागि ३९ हजार ८०० युआन लिइएको थियो। बिलमा एउटै प्रक्रिया धेरै पटक दोहोर्‍याइएको पनि खुलेको छ।

युले आफूले उपचारको लागतमा ध्यान नदिएको बताइन्। आफू धनी भएको विश्वासका कारण खर्चबारे वास्ता नगरेको उनको भनाइ छ।

घर बेचेर जम्मा गरेको बचतसमेत सकिएपछि छोरीले यसबारे थाहा पाएकी हुन्। त्यसबेलासम्म यू फ्ल्याटको भाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेकी थिइन्, जसकारण उनले गहना समेत बेच्नुपरेको थियो।

योङची स्टोरका कर्मचारीले उनलाई रुई नामको मेडिकल ब्यूटी क्लिनिकमा पठाएका थिए। क्लिनिकले ‘अन्तरंग हेरचाह’ प्रक्रियाका लागि तीन लाख युआन शुल्क लिएको थियो।

यूले पैसा तिरे पनि उक्त प्रक्रिया पूरा गरिनन्। अनि पछि क्लिनिकले त्यसको सट्टा अन्य छाला हेरचाह उपचार गरेको थियो।

रुईको बिलमा ‘खुशीको कुर्सी’ र ‘स्पेस क्याप्सुल’ जस्ता वस्तु पनि उल्लेख थिए, जसबारे यूले स्पष्ट पार्न सकिनन्। समाचारमा रुईसँग सम्पर्क गर्ने प्रयास गरे पनि बिलमा उल्लेख गरिएका फोन नम्बरहरूले काम नगरेको पाइएको उल्लेख छ। 

यूकी छोरीले क्लिनिकले आफ्नी आमालाई योङचीको खातामार्फत बिल पठाएको पनि थाहा पाइन्।

योङचीकी एक कर्मचारीले यूले आफ्नो ‘रूपप्रतिको चिन्ता’ का कारण पटक-पटक विभिन्न सेवा माग्ने गरेको बताइन्। उनले सबै सेवाको मूल्य स्पष्ट रूपमा उल्लेख गरिएको र यूले भुक्तानी गरेर ती मूल्य स्वीकार गरेको दाबी गरिन्।

स्टोरले सम्झौताका रूपमा यूले अग्रिम तिरेको रकमको केही हिस्सा फिर्ता गरेको थियो। स्टोर व्यवस्थापनले विषय समाधान भइसकेको बताउँदै थप विवरण दिन अस्वीकार गरेको थियो।

यूले यस विषयमा कानुनी कारबाही गरेकी छैनन्। योङची स्टोर भने आधिकारिक अनुसन्धान वा निलम्बन भएको जानकारीबिना सञ्चालनमा रहेको पाइएको थियो।

स्टोरले ‘स्पष्ट रूपमा उल्लेख गरिएका मूल्य’ लाई आफ्नो बचाउका रूपमा प्रस्तुत गरे पनि चीनको मूल्य निर्धारणसम्बन्धी कानुनले व्यवसायीलाई पारदर्शिता, निष्पक्षता र इमानदारीका सिद्धान्त पालना गर्नुपर्ने व्यवस्था गरेको छ।

एक पर्यवेक्षकले भने, ‘वृद्ध व्यक्तिहरूलाई पनि सौन्दर्यको पछि लाग्ने समान अधिकार छ, तर उनीहरूको इच्छाको बेइमान व्यवसायले शोषण गर्नु हुँदैन।’

अर्का पर्यवेक्षकले भने, ‘सौन्दर्य पसलहरू ग्राहकको अतिरिक्त खर्चमा निर्भर हुन्छन्। उनीहरूको यस्तो रणनीतिबाट सावधान रहनु महत्त्वपूर्ण छ।’

प्रकाशित: २ आश्विन २०८३ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App