३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
प्रवास

एनआरएन चिकित्सकको लाइसेन्स खारेजप्रति संघको आपत्ति, पुनर्विचार गर्न माग

विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गम्भीर आपत्ति जनाएको छ।

संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सकहरूको मनोबलमा नकारात्मक असर पार्ने जनाएको हो।

विज्ञप्तिमा नेपालको संविधानले गैरआवासीय नेपालीहरूको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा चिकित्सकहरूको पेशागत पहिचान खोस्ने कार्य न्यायोचित नभएको उल्लेख गरिएको छ। साथै चिकित्सा पेशा संवेदनशील क्षेत्र भएकाले यस्ता निर्णय गर्दा परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिइएको छ।

एनआरएनएले सम्बन्धित चिकित्सकहरूसँग पूर्वजानकारी, समन्वय र संवादबिना लाइसेन्स खारेज गरिएको भन्दै यस प्रक्रियाप्रति असहमति जनाएको छ।

संघका अनुसार सरकारले “सीप हस्तान्तरण (स्किल ट्रान्सफर)” नीति अघि सारेको अवस्थामा दक्ष चिकित्सकहरूलाई निरुत्साहित गर्ने निर्णय उपयुक्त नभएको ठहर गरिएको छ। “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने अवधारणालाई व्यवहारमा लागू गर्दै विदेशमा रहेका नेपालीहरूको सीप र दक्षताको सम्मान गर्नुपर्ने संघको माग छ।

यसैबीच संघले सम्बन्धित निकायहरूबीच संवादमार्फत न्यायोचित, पारदर्शी र व्यवहारिक समाधान खोज्न आग्रह गरेको छ। साथै उक्त निर्णयमा पुनर्विचार गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

संघका प्रवक्ता सोमनाथ सापकोटाले सम्बन्धित निकायले यस विषयमा पुनर्विचार गर्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित: २२ वैशाख २०८३ १७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App