७ वैशाख २०८१ शुक्रबार
प्रवास

युवा र विषय विज्ञ उम्मेदवारको पक्षमा प्रवास

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा प्रवासी नेपालीलाई पनि चुनावी माहोलले छोएको छ। विदेशका विकास र समृद्धि बुझेका उनीहरु निर्वाचनबाट युवा उम्मेदवारलाई जिताउन सकिए केही भएपनि देश विकासमा सहयोग हुन्छ कि भन्ने धारणा राख्छन्।

निर्वाचनमा उल्लेख्य युवा उम्मेदवार रहेका त्यसमा पनि विषयविज्ञहरु समेत समेटिएकाले उनीहरुलाई जिताएर नीति निर्माण तहमा पुर्‍याउनु पर्ने उनीहरुको धारणा छ। एनआरएनएका पूर्व अध्यक्ष  तथा व्यवसायी जीवा लामिछानेको विचारमा अवको राजनीतिक भविष्य समेत युवाहरुकै हातमा रहेको छ।

यसैगरी बेलायतस्थित लिभरपुल विश्वविद्यालयका सिनियर लेक्चरर डा. हेमराज शर्मा अब राजनीतिमा नयाँ पुस्ता आउनुपर्ने धारणा राख्छन्। धेरै लामो समय राजनीतिक छलफलमै समय सकिएकाले अब आर्थिक विकासको दिशामा देशअघि बढ्नुपर्ने डा. शर्माको भनाइ छ।

पुरानो पुस्ताले राजनीतिक परिवर्तन गरेपनि आर्थिक समृद्धि ल्याउन नसकेको तर्क गर्दै शर्माले अब नयाँ पुस्तालाई अवसर दिइनुपर्ने बताए। उनकै नेपालस्थित निर्वाचन क्षेत्र बागलुङ १ मा ८० वर्षीय चित्रबहादुर केसीविरुद्ध युवा उम्मेदवार डा. सूर्य पाठक चुनावी मैदानमा छन्।

डा. शर्माले देशैभरका युवा उम्मेदवार जिताउन प्रयास गर्नुपर्ने बताए। आर्थिक उन्नतिका लागि केही गरौँ भनेर इच्छा राखेरमात्रै नहुने भएकाले ज्ञान र सीप भएका व्यक्ति नेतृत्वमा आउनुपर्नेमा जोड दिए।

यसैगरी बेलायतस्थित सफल व्यवसायी तथा समाजसेवी कृष्ण तिमल्सिनाले पनि देशको नेतृत्व अब युवा पुस्ताले लिनुपर्नेमा जोड दिए। पुराना पुस्ताका नेताहरुलाई पटक पटक हेरिएपनि आर्थिक समृद्धिको दिशामा काम गर्न नसकेकाले नयाँलाई अवसर दिनुपर्ने उनको धारणा छ। धादिङका उनले पुराना पुस्ताका नेताहरुको अनुभवसमेत समेटेर युवा पुस्तालाई नेतृत्वमा लैजाने हो भने जनअपेक्षा पुरा गर्न सकिनेतर्फ आशा राख्न सकिने धारणा राखे।

यस्तै बेलायतका चर्चित समाजसेवी तथा व्यवसायी सूर्य गुरुङले पुरानो पुस्ताको नेतृत्वले ल्याएको विकृतिले स्वतन्त्र उम्मेदवारको महत्व बढाएको बताए। पुरानो नेतृत्वले चुनावको बेला नयाँ नयाँ कुराको आश्वासन दिने तर त्यो डेलिभरी गर्न नसक्दा जनतामा निरासा बढ्दै गएको उनको दाबी छ।  आगामी निर्वाचनमा भिजन, इमान्दारीता, क्षमता र अनुभव भएका व्यक्तिले चुनाव जितेमा मात्र देशले नयाँबाटो लिने उनको बुझाइ छ।

उनले स्वतन्त्र उम्मेदवारले जितेमा पुराना राजनीतिक दलहरुलाई केही गर्नु पर्छ भन्ने चुनौती थपिनेसमेत बताए।  गुरुङले गत स्थानीय निर्वाचनबाट काठमाडौँमा बालेन शाह र धरानमा हर्क साम्पाङले सर्वसाधारणको मन जितेर आफ्नो क्षमता देखाइसकेको बताए।

संयुक्त राष्ट्र संघ अन्तर्गत विश्व स्वास्थ्य संगठनमा कार्यरत डा संजीव सापकोटाले अहिले नेपालमै बसेर चुनावी माहोल हेरिरहेका छन्। लामो समयदेखि अमेरिकामा बसेर काम गरेका डा सापकोटाले नेपालमा स्वास्थ्य र शिक्षाका लागि दीर्घकालीन नीति ल्याउन सक्ने नेतृत्वको अभाव रहेको बताए। देशमा राजनीतिक स्थायित्व नभएकै कारणले विकासले गति लिन नसकेको डा. सापकोटा बताउँछन्।

उनले आगामी संसदमा युवाहरुको उपस्थिति अनिवार्य बताउँदै भने, 'नेपालका कुना कन्दरामा बसेका नेपालीको स्वास्थ्य र आर्थिक अवस्थालाई सुधार्न सक्ने नेतृत्व चाहियो। आधारभूत स्वास्थ्यको सुरक्षा र ग्यारेन्टी गर्ने साम्सद आउनुपर्छ। त्यसले देशको आर्थिक अवस्था पनि सुधार्छ किनभने स्वास्थ्यनै सम्पत्ति हो।'

यस्तै बीबीसीका पूर्व पत्रकार भगीरथ योगी यस पटकको चुनावबाट ३० देखि ४० प्रतिशत नयाँ अनुहार संसदमा चुनिएर आउने आफूले अपेक्षा गरेको बताए। 'यसपटकको चुनावलाई केही हदसम्म राजनीतिक संक्रमणको चुनाव पनि भन्न सकिन्छ, तर दोश्रो वा तेश्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न अझै केही समय लाग्न सक्छ,' योगीले भने, 'उमेरले भन्दा पनि विचार, कार्यक्रम र चरित्रले कुनै पनि व्यक्तिलाई युवा भनेर चिनाउने हो। निर्वाचन प्रणालीमा सुधारसहित उच्च नैतिक चरित्र भएका, विषय विज्ञहरु संसदमा चुनिएर आएमा संसदकाे गरिमा र प्रभावकारिता बढ्ने स्वतः सिद्ध छ, तर यसको लागि आम मतदाता नै चनाखो हुनुपर्छ।'

प्रकाशित: २५ कार्तिक २०७९ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App