१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

जर्मनीमा नेपालको प्रचार गर्दै ‘लिटिल बुद्ध'

जर्मन-प्रवेशद्वारमा दौरा–सुरुवाल र गुन्यु चोली लगाएर नमस्कार गरिरहेका स्टाचु। भित्र भित्तामा नेपालको पहिचान झल्किने तस्बिर। मनकामना मन्दिर, माछापुच्छ्रे हिमालदेखि नेपाली जनजातिको वेशभूषले पोखरा आसपासको झल्को दिन्छ। ठाउँठाउँमा नेपाली झन्डा राखिएको छ। सारंगी र मादल पनि झुन्डिएका छन्।तर, स्याङ्जामा जन्मिएका एक युवाले चार हजार २७ माइल परे जर्मनीको मुनस्टर सहरमा ‘लिटिल बुद्ध' नामको रेस्टुरेन्टमा विदेशीलाई नेपाल पुगेको झल्को दिलाएका छन्। त्यहाँ आउने विदेशीलाई रेस्टुरेन्टका कर्मचारीले हेलो–हाई नभनी नमस्कार भनेरै स्वागत गर्छन्।
लिटिल बुद्ध रेस्टुरेन्ट आउँदाआउँदै घुलमिल भएका जर्मन नागरिक मार्कले रेस्टुरेन्टमा प्रवेश गर्नासाथ नमस्कार सहितको अभिवादनले विदेशी लबजमा सन्चै हुनुहुन्छ? भने। ‘नेपाली खानाको स्वादसँगै नेपाली बोलीचालीको भाषा सिक्न म यहाँ आउने गरेको छु,' एकपटक नेपाल भ्रमण गरिसकेका मार्कले भने, ‘यहाँ आएपछि नेपाल पुगे झैं लाग्छ।' मार्कले जाने बेलामा नेपाली भाषामै धन्यवाद भने।
मुनस्टर सहरमा नेपाली युवा टंक लम्सालले चलाएको यो रेस्टुरेन्टले विदेशीलाई आकर्षित गरेको छ। रेस्टुरेन्टका हरेक टेबलमा नेपाली जनजीवन झल्काउने चित्र राखिएको छ। रेस्टुरेन्टको वातावरणसँगै परिकार सूचीमा नेपाली खाना रहेको सञ्चालक लम्सालले बताए। ‘विदेशीलाई विशुद्ध नेपाली खानामा आकर्षित गरेका छौं,' लम्सालले भने, ‘दाल–भातको स्वाद लिन विदेशीको आकर्षण बढ्दो छ।'
सो रेस्टुरेन्टमा नेपालकै चाउचाउ, बियर, अदुवा, लसुन लगायत सामग्री प्रयोग हुन्छन्। ‘नेपाली उत्पादन विदेशमा निर्यातसँगै प्रचारप्रसार होस् भनेर प्रयोगमा ल्याएका छौं,' लम्सालले भने।
लम्सालले रेस्टुरेन्ट आउने विदेशीलाई नेपालका पर्यटकीय स्थलको जानकारी दिन ब्रोसर पनि बाँड्ने गरेका छन्। उनको रेस्टुरेन्टमा काम गर्ने आधा दर्जन कर्मचारी नेपाली छन्। ‘जर्मनहरु नेपाल घुम्न जाउन् भनेर देशका पर्यटकीय स्थलबारे जानकारी गराउछौं,' लम्सालले भने, ‘नेपाल घुम्ने जाने योजना बनाएपछि सामान्य नेपाली भाषा सिक्न पनि आउने गरेका छन्।'
रेस्टुरेन्टको नामबाट गौतम बुद्धको जन्मभूमि नेपालबारे जानकारी पाएको एक सेवाग्राहीले बताए। ‘खाजा खान आउँदा बुद्धबारे जिज्ञासा लागेर सोधें,' थोम्सले भने, ‘गौतम बुद्धबारे पनि जानकारी लिन पाएँ।' एक जर्मन नागरिक प्रमिथले नेपाली खाना दाल–भातमा लत बसेको बताए। लम्सालले पोखराका पर्यटकीय होटलमा पनि आफ्नो रेस्टुरेन्टको प्रचार हुने गरेको बताए। ‘नेपाल पुगेका पर्यटक पनि हाम्रो रेस्टुरेन्टबारे जानकारी पाएर आउने गरेका छन्,' उनले भने।
होटलमा नेपाली संगीत बजाउने भएकोले केही विदेशीले सारंगी र मादल बजाउन सिक्ने गरेको उत्तम लम्सालले बताए। ‘नेपाली संगीतका पारखीले सारंगी र मादल बजाउने अभ्यास गर्छन्,' उनले भने, ‘यसले नेपालप्रति माया जगाएको छ।'
रेस्टुरेन्टले नेपालको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याएएको नेपाली जनसम्पर्क समिति जर्मनीका अध्यक्ष शरन केसीले बताए। ‘नेपाली युवाले विदेशमा भए पनि रेस्टुरेन्टमार्फत स्वदेशको प्रचार गर्नु सकरात्मक काम हो,' केसीले भने, ‘विश्वको जुन कुनामा रहे पनि जन्मभूमीप्रतिको दायित्व पूरा गर्न लागेका छौं।'

लिटिल बुद्ध रेस्टुरेन्टमा नेपाली बियर पिउँदै जर्मन। तस्बिरः दिलीप पौडेल

प्रकाशित: २४ चैत्र २०७१ २१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App