१६ चैत्र २०८० शुक्रबार
प्रवास

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण अस्वीकारप्रति जनसम्पर्क समिति बेलायतकाे निन्दा

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेकोप्रति नेपाली जनसम्पर्क समिति बेलायतले निन्दा गरेको छ।

समितिका सभापति युवराज गुरुङले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै दुबै संसद्बारा पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी पछि हट्नु नेपालको संविधानको ठाडो उल्लंघन भएको  बताएका छन्।  

बिज्ञप्ति मार्फत ५ लाख भन्दा नेपालीहरुलाई नागरिकता बिहिन बनाउने राष्ट्रपतिको पछिल्लो कदमको निन्दा गरिएको छ।

जनसम्पर्क समितिले नागरिकता विधेयक प्रमाणीकरण पछि गैरआवासीय नेपाली नागरिकता लिनको लागि प्रतिक्षारत भूपुगोर्खा तथा विदेशमा बस्ने नेपालीहरुलाई राष्ट्रपतिको पछिल्लो निर्णयले दुखि बनाएको जनाएको छ।  

विज्ञप्तिमा 'संविधानको धारा ११४ को उपधारा ४ मा राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधन सहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ  भन्ने संविधानको यो बाध्यकारी व्यवस्थालाई राष्ट्रपतिले उल्लंघन गर्दै  भण्डारी पूर्वराज ज्ञानेन्द्र शाहकै शैलीमा संविधान आफ्नो हातमा लिएर शक्ति संचित गर्न खोज्नु लोकतन्त्रको लागि खतराको संकेत हो' भनिएको छ।  

त्यसैले राष्ट्रपति संविधानको संरक्षक हुने संवैधानिक व्यवस्थालाई समेत वेवास्ता गर्दै भण्डारीले गरेको पछिल्लो गलत निर्णयका बिरुद्ध एकजुट भएर नेपालको संविधान र लोकतन्त्रको स्थायित्वको लागि ऐक्यबद्ध हुन् विश्वभर छरिएका नेपाली समुदायप्रति नेपाली जनसम्पर्क समिति हार्दिक अपिल गरेको छ।  

प्रकाशित: ५ आश्विन २०७९ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App