coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएनएलाई राजनीतिक बाहेक पूर्णअधिकार दिनुपर्छः केपी ओली

गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ।

कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसीसहितको टोलीले मंगलबार ओलीलाई भेटेको हो। उक्त भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिन एमाले सकरात्मक रहेको बताएका छन्।

ओलीले गैरआवासीय नेपालीहरुलाई एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने विचार व्यक्त गरेका थिए। उनले गैरआवासीय नेपालीहरुलाई दिइने नागरिकतामा राजनीतिक अधिकार बाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए।

यस्तै ओलीले संविधानको भावना अनरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता गैरआवासीय नेपालीहरुलाई प्रदान गर्न उचित हुने बताए। उनले नेपालको राजनीतिमा आउन चहानेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने सुझाव पनि दिए।

भेटमा संघका अध्यक्ष आचार्यले विदेशमा बस्ने नेपालीहरुको मुख्य माग भनेको दोहोरो नागरिकता भएको बताउँदै संविधानको भावना अनुरुप गैरआवासीय नेपालीहरुलाई नागरिकता दिनु पर्नेमा जोड दिए। गैरआवासीय नेपालीहरुले नागरिकता प्राप्त गरे पछि देशको आर्थिक, सामाजिक तथा सांस्कृति क्षेत्रमा समेत उल्लेख्य सहयोग पुग्ने आचार्यको भनाइ थियो।

त्यस्तै भेटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघको अभियान सुरु देखिनै राजनीतिक दलहरुको पूर्ण सहयोग गरेको भन्दै ओलीलाई धन्यवाद दिए। उनले संसदमा टेबल भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक पास गरेर छिटो भन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरे।

उक्त भेटमा नेकपा एमाले नेता विष्णु पौडेललगायत एनआरएनए पदाधिकारीहरुको उपस्थिति थियो। टोलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला लगायतसँग भेटघाट गरेको थियो। सरकारले गैरआवासीय नेपाली सम्बन्धी नागरिकता विधेयक बुधबार संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ।

गैरआवासीय नेपाली संघले स्थापनाकाल देखि विदेशमा बस्ने नेपालीहरुलाई दोहोरो नागरिकताको सुविधा दिनु पर्ने माग गर्दै आएको छ। संघले जारी संसदमा प्रस्तुत विधेयक पारित भएमा विदेशमा बस्ने नेपालीहरुको नागरिकता सम्बन्धी मागमा आंशिक सम्बोधन हुने विश्वास लिएको छ।

प्रकाशित: २९ असार २०७९ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App