३ माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

एनअारएनलाई लगानी भित्र्याउने सहजकर्ता बनाउनुपर्छ : हिक्मत थापा

हिक्मत थापा गैर आवासीय नेपाली संघ(एनआरएन)भित्रको परिचित नाम हो। एनआरएन अफ्रिकाका संयोजक थापा समस्या परेका नेपालीको उद्धदारदेखि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा समेत सक्रिय छन्। थापाकै सक्रियता अफ्रिकाका १२ देशमा एनआरएनएको समन्वय समिति गठन भएका छन्। अफ्रिकाको सबैभन्दा ठूलो कर्पोरेट हाउस ड्याङगोटे ग्रुपको लगानी नेपाल भित्र्याउने श्रेय उनलाई नै जान्छ। सो कम्पनीले ६५ अर्ब रुपैयाँ लगानी गरेको सिमेन्ट फ्याक्ट्री अहिले निर्माणाधीन अवस्थामा छ। एनआरएनको केन्द्रीय समन्वय समिति(आइसिसी)को बुधबारदेखि शुरु हुने सम्मेलनमा थापाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। यही सेरोफेरोमा नागरिकन्युजका लागि कृष्ण ढुंगाना र मणि दाहालले थापासँग गरेको कुराकानी:

गैर आवासीय संघ(एनआरएनए) अफ्रिकामा लामो समयदेखि सक्रिय हुनुहुन्छ। अफ्रिका महादेशका एनआरएनको गतिविधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
अफ्रिकामा महादेशमा रोजगारीको सिलसिलमा जान थालेको लामो समय भयो। केही उतै घरजम गरेर बसेका छन्। दोस्रो पुस्ताका केही नेपाली अहिले पनि अफ्रिकामा रहेका छन्। त्यहाँ दक्षिण अमेरिका बाहेक अन्य महादेशको तुलनामा निकै कम नेपाली पुगेका छन्। राष्ट्र संघीय नियोग, अन्तर्राष्ट्रिय गैरसकारी संस्था(आइएनजीओ), निजी कम्पनी, व्यापार व्यवसायमा नेपाली सक्रिय रहेका छन्। शारीरिक श्रम भन्दा पनि कार्यकारी पदमा बसेर नेपालीहरुले काम गर्दै आएका छन्। ५४ मध्ये अफ्रिकाका १२ वटा देशमा संघको समन्वय समिति रहेका छन्। कतिपय देशमा नेपालीको उपस्थिति न्युन मात्रै छ।

एनआरएन अफ्रिकामा तपाइँको भूमिका के हो ?
मेरै अध्यक्षतामा एनआरएनए नाइजेरिया स्थापना भएको हो। सन् २०११ देखि एनआरएनको क्षेत्रीय संयोजक रहँदै आएको छु। मेरो पहलमा अफ्रिकाका संघको विस्तार भएको हो। अफ्रिका २ वटा मात्रै नेपाली दुतावासहरु छन्। त्यो बाहेक एनआरएनले नै अफ्रिकामा नेपालको प्रतिनिधित्व गर्ने गर्दछ। अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार गर्ने एनआरएन नेपालीहरुको एक मात्रै संस्था हो। त्यहाँ कुनै पनि दलका प्रवासी संगठन छैनन्। दुर्घटना परेका, मृत्यु भएका नेपालीहरुले शव नेपाल पठाउनेदेखि वैदेशिक रोजगारमा जाँदा ठगीमा परेका नेपालीहरुको उद्धारका लागि काम गर्ने गरेका छौं। त्यसैगरी संघले नेपालमा शिक्षा, स्वास्थ्यसहिको क्षेत्रमा समाजकल्याणको काममा पनि सक्रिय भएको छ। कम सदस्य भए पनि त्यहाँ हामीले धेरै काम गरेका छौं। हालैको भूकम्पमा हामीले एक करोड रुपैयाँ उठाएर एनआरएनको भूकम्प राहत कोषमा जम्मा गरेका थियौं ।

कोषाध्यक्षमा तपाइँको उम्मेदवारी किन?
पछिल्लो समयमा एनआरएन दुई कुरामा केन्द्रित हुँदै गएको छ। पहिलो समाज कल्याण र दोस्रो लगानी भित्र्याउने। संघमा समाज कल्याणको समितिमा बसेर लामो समयसम्म मैले काम गरेको छु । दोस्रो कुरा नेपालमा अहिलेसम्म एनआरएनमार्फत् सबैभन्दा ठूलो वैदेशिक लगानी मेरो पहलमा भित्रिएको छ। ५५ करोड अमेरिकी डलरको परियोजना नेपाल ल्याएको छु। अहिले हामी टुक्राटुक्रा रुपमा गरी लगानी ल्याइरहेका छौं। त्यसलाई हामीले सहयोग गरिरहेका छौं। लगानी ल्याउने बेलामा नेपालमा कानुनी र प्रक्रियागत झमेलाहरु छन्। त्यसमा संघभित्र लगानी डेस्क स्थापना गरेर यस्तो लगानीका लागि सरकार वा लगानी बोर्डसँग सहजिकरण गर्ने काम गराउन आवश्यक छ। संघलाई लगानी सहजसँग लगानी नेपाल भित्र्याउने कार्यालयको रुपमा स्थापित गरेर संस्थागत गराउने मेरो सपना छ।

अफ्रिकाबाट उम्मेदवारी दिइरहनु भएको छ। त्यहाँबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्या त निकै कम छ। चुनाव अंक गणित पनि हो त्यसलाई कसरी पुर्‍याउनुहुन्छ?
निश्चित रुपमा चुनावको अंक गणित हुन्छ। देश वा महादेशबाट प्रतिनिधित्व गर्दैमा त्यहीँका उम्मेदवारलाई भोट जान्छ भन्ने हैन। मैले संस्थाभित्र रहेर गरेको काम महत्वपूर्ण हो। अझ एनआरएन त पढेलेखेका र राम्रोसँग मूल्याकंन गर्ने सक्ने प्रतिनिधिहरु रहेका छन्। मैले अफ्रिकाका संयोजक भएर गरेको काम धेरै साथीहरुलाई थाहा छ। क्षेत्रीय सन्तुलनका लागि पनि अफ्रिकाबाट पदाधिकारीमा प्रतिनिधित्व आवश्यक छ। फेरि अहिलेसम्म एनआरएनको पदाधिकारीमा अफ्रिकामा महादेशको प्रतिनिधित्व भएको छैन। अझ भनौं पदाधिकारीमा अफ्रिकाबाट उम्मेदववारी नै परेको छैन। अफ्रिकाबाट पदाधिकारीमा उठ्ने पहिलो उम्मेवार हुँ । ७२ वटा देशमा विस्तार भएको संघको हामी विश्वव्यापी संगठनको रुपमा भन्ने गर्दछौं। त्यसमा अफ्रिका महादेशबाट पदाधिकारीमा प्रतिनिधित्व हुनुपर्दछ।

मेराे दावीकाे कारण अहिले मैले संघमा बसेर गरेको काम पनि हो। अरु साथीहरुभन्दा केही कम छैन मेरो कामको योगदान। त्यसको पनि मूल्याकंन होला भन्ने आशा छ। मैले एनआरएन र राष्ट्रलाई जस्तो सेवा गरेको छु त्यसको पनि मूल्याकंन होला। म चुनावका समयमा मात्रै काम गरेको होइन। निरन्तर रुपमा काम गर्दै आएको छु। त्यसकोे पनि मूल्याकंन हुने छ भन्नेमा ढुक्क छु। मेरो उम्मेदवारीको बारेमा सिनियरहरु पनि पोजेटिभ हुनुहुन्छ। सबैसँग सरसल्लाह गरेर नै म अघि बढेको भएर पनि म थप विश्वस्त छु।

एनअारएनमा विज्ञहरुकाे समूह बनाउने भनेर सधैँ चर्चा हुन्छ। याे किन चाहिएकाे हो?
हाे यो बहस अहिले निकै उठिरहेको ५। साँच्चै भन्नुपर्दा अब एनअारएनलाई पैसा भएका उद्योगीहरुसँगै विज्ञहरुको समुह पनि अावश्यक देखिएको छ। अहिलेसम्म हामी चन्दाबाट याे स्तरमा अाइपुगेका हाै‌ं। दीर्घकालीन रुपमा त्यसरी चल्न गाह्रो हुनसक्छ। नियमित आम्दानीको स्रोत बनाउन आवश्यक छ। विभिन्न क्षेत्रमा काम गर्ने विज्ञहरु आउन सके दीर्घकालीन स्रोतकाे उपायकाे याेजना र कार्यान्वयन सहज हुनसक्छ। त्यसले संस्थालाई अघि बढाउन पनि मद्दत गर्छ। संघलाई आर्थिक कुटनीतिको अनौपचारिक दुतावास जस्तो बनाउनमा पहल हुनुपर्दछ। त्यसले नेपालको दीर्घकालीन हितलाई हुनेछ। कतिपय मुलुककाे हकमा सरकारले पनि संघलाई परिचालन गर्द सक्दछ।

तपाइँ अफ्रिकाको सबैभन्दा ठूलाे कम्पनीसँग अावद्ध रहेर काम गरिरहनु भएकाे छ। एनअारएनले नेपालमा वदैशिक लगानी भित्र्याउन सक्ने सम्भावनालाई कसरी हेर्नुहुन्छ?
एनअारएनहरुबाट नेपालमा दुई तरिकाबाट लगानी अाउन सक्छ, अहिले पनि थाेरबहुत अाइरहेकाे छ। नेपालीहरु अहिले अफ्रिका, युराेप र अमेरिकामै पनि ठूला ठूला व्यवसायमा स‌ंलग्न हुन थालेका छन्। आफू रहेको देशका कम्पनीहरु, लगानीकर्ताहरुसँग नियमिति रुपमा अन्तरक्रिया गर्ने प्रणालीको विकास गर्न सके त्यसले लगानी भित्र्याउन सहज हुन्छ। जस्ताे अध्यक्ष शेष घलेकाे अाफ्नाे साथी सर्कल छ, मेराे र अन्य साथीहरुकाे पनि एक तहकाे अन्तरार्ष्ट्रिय व्यापारिक तहमा उठबस भइरहेकाे हुन्छ। यस्तो व्यक्तिगत सम्बन्धमार्फत् लगानीका लागि एनअारएनले संस्थागत पहल गरेमा नेपालमा वैदिशिक लगानी निश्चय नै अाउन सक्छ। विदेशमा बसेका धेरै नेपालीहरुले पनि यहाँ लगानी गरिरहेका छन् र त्यसलाई अाकर्षित गर्ने उपायहरु अवलम्बन गरिन जरुरी छ।

एनआरएनको चुनावमा पनि राजनीतिको छायाँ देखिन्छ भन्छन्?
एनआरएनको चुनावमा पार्टीको छायाँ हुन्छ तर पार्टीगत भोट हुँदैन। अहिले पनि उम्मेदवारबीच नेताहरुको पुग्ने दौड छ। कोही शेरबहादुरका पुगेका छन् केही भीम रावलका कहाँ पुगेका छन्। कोही सुशील कोइरालाकोमा पुगेका छन् भने केही केपी ओलीकोमा। धेरै नेपाली भएको देशका पार्टीहरुको प्रवासका काम गर्ने भातृ संगठन पनि छन्। उनीहरु पनि उम्मेदवारको लबिङमा लाग्ने हुँदा त्यसको छायाँ चुनाबमा पर्ने हो। तर अहिलेसम्म त्यसले चुनावी परिणाममा निर्णायक भूमिका निर्वाह गरेको छैन। परिणाम सधैँ मिश्रित आउने गरेको छ। योग्यहरु नै छानिने गरेका छन्।

अरु महादेशभन्दा अफ्रिका एनआरएनको विशिष्टता के हो ?
अन्यसँग तुलना गर्दा संख्याको हिसाबले हामी निकै कम छौं। अफ्रिकाभर करिव ५ हजारको संख्यामा नेपाली होलान्। त्यसमा ५ सय पनि मानिस एनआरएनमा संगठित छैनन्। संघको गतिविधिमा हाम्रो योगदान धेरै संख्या भएको देशको जतिकै छ। भूकम्पकै बेला हामीले एक करोड रुपैयाँ उठाएर पठाएका थियौं। राहत र उद्धारका लागि त्यो रकम सानो हैन। अफ्रिकामा अहिलेसम्म कुनै एनआरन बाहेक कुनै पनि जातीय, क्षेत्रीय वा राजनीतिक दलको संगठन छैन । सबै नेपालीको एक मात्रै संस्था एनआरए हो।

प्रकाशित: २६ आश्विन २०७२ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App