८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

भावुक हुदैं मनिषाले लण्डनमा भनिन्, 'नेपाललाई सहयोग गर्नुहोस्'

लण्डन–भूकम्प पीडितको सहयोगार्थ चर्चित अभिनेत्री मनिषा कोइरालाले विश्वप्यापी दौड सुरु गरेकी छन् । सरकारले नेपालको पुनर्निर्माण सद्भावना राजदूत तोके लगत्तै नेपालको विकासका लागि सहयोग जुटाउन कोइराला लन्डन आइपुगेकी हुन्।इण्डियन फिल्म फेस्टिवल अन्तर्गत नेपालका भूकम्प पीडितको सहयोगार्थ मंगलवार लण्डनस्थित होटल सेन्ट पाउलमा आयोजित च्यारिटी गाला फर नेपाल कार्यक्रममा मनिषाले भूकम्पपछि घरहरु भत्किएका र आफन्त गुमाएकाहरुको क्रन्दन टिठ लाग्दो भएको बताइन् । बाँचेकाहरु पनि नियमित जीवनमा फर्कन अहिलेसम्म नसकेको उनको भनाइ थियो।

नेपालमा भूकम्प आएको खबर मुम्बईको सुटिङस्थलमा पाएको स्मरण गर्दै कोइरालाले भनिन्– 'भूकम्पपछि म तुरुन्तै नेपाल फर्किने चाहन्थें । नेपालमा संक्रमण हुनसक्ने आशंकाले दुई हप्तापछि मात्र भूकम्प प्रभावित क्षेत्रमा पुग्न सकें ।' उनले अगाडि थपिन, म सुटिङस्थलबाटै नेपाल फर्कन चाहन्थेँ, परिवारले अहिले आउन उचित नहुने सल्लाह दिएपछि ढिलै भए पनि भूकम्प पीडितसँग प्रत्यक्ष अन्तरक्रिया गरें । म तपाईंहरुलाई कसरी सहयोग गर्न सक्छु भन्ने मेरो जिज्ञासामा उनीहरुले भने– 'के नै गर्न सक्नुहुन्छ, हामीसँग अब केही बाँकी नै छैन भन्ने उत्तर पाएँ' यस्तो उत्तर पाउँदा म पटक पटक भक्कानिएकी थिएँ ।'

यस्तो पीडामा समेत ती अवोध गाउँवासीको मुहारमा मुस्कानको चमक चाहिँ कायमै थियो । यसो भनिरहँदा मनिषा निक्कै भावुक देखिइन । करिब ५ सय पाहुनाले भरिभराउ हालमा दर्शकदीर्घामा सन्नटा छायो । ती पीडित गाउँवासीको अनुहार सम्झेर नेपालको पुनस्र्थापनाका लागि मैले सहयोग गर्छु भन्ने अठोट लिएकी छु,' उनले भनिन् ।

सहयोग अभियान निस्तेज हुँदै गएको छ नि भन्ने प्रश्नको उत्तरमा कोइरालाले भनिन– 'नेपाल पुरानो अवस्थामा फर्कन अझै ५ देखि १० बर्ष लाग्छ । सहयोग जारी राख्न अन्तर्राष्ट्रिय समूदायसँग आग्रह गर्छु ।'

कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपालको भूकम्प पीडित बालबालिकाका लागि खर्चिने आयोजक संस्था इण्डिन ओसन डिजास्टर रिलिफ (आईओडीआर) का प्रमुख टोनी मााथुरुले बताए । उनले कार्यक्रमबाट बचेको रकमको फेरहिस्ता सार्वजानिक गर्ने प्रतिबद्धता जनाउदै नेपालका भूकम्प पीडितका लागि तत्काल सुरु गरिने जानकारी दिए ।

कार्यक्रममा प्राकृतिक प्रकोप क्षेत्रका बालबालिकाको राहतमा कार्यरत आईओडीआरले 'दिल से' चलचित्रको विशेष प्रदर्शन गरेको थियो । कार्यक्रममा 'बम्बे' चलचित्रका निर्देशक मणि रत्नमको पनि सहभागिता थियो । कार्यक्रममा बेलायती प्रधानमन्त्री डेवीड क्यामरोनले हस्ताक्षर गरेको वेष्टमिनिष्टर ब्रण्डको हुस्वीस्की ३ सय ५० पाउण्डमा अक्सनमा बिक्री भएको थियो ।

नेपाली चलचित्र फेरि भेटौलाबाट अभियन यात्रा सुरु गरेकी कोइरालाले कार्यक्रममा उपस्थित पत्रकारको जिज्ञाशा मेटाउदै नेपाली चलचित्रमा फेरि अभियन गर्ने बताउदै छिट्टै नेपाली चलचित्रमा काम थाल्ने बताइन् ।

प्रकाशित: ६ श्रावण २०७२ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App