८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएनए निर्वाचनका लागि मनोनयन दर्ता सुरु, ३५९० जनाको मतदाता नामावली सार्वजनिक

अनलाइनबाट पनि उम्मेदवारी दर्ता गर्न सकिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्वको निर्वाचनको लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ। संघको निर्वाचन समितिका प्रमुख भिमसेन बन्जाराका अनुसार संघको पूर्वनिर्धारित कार्यतालिका अनुसार आजदेखि भोलि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ।

यस्तै उम्मेदवार हुन चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ। संघको अध्यक्ष सहित ५१ पदाधिकारीको लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ। गत अक्टोवरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादको कारणले रोकिएको थियो।

निर्वाचन समितिले मार्च २१ र २२ तारिखको लागि अनलाइन निर्वाचनको गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन समितिले आज बिहान अन्तिम ३५९० जनाको मतदाता नामावली समेत सार्वजनिक गरेको छ। संघको नयाँ नेतृत्वको लागि अध्यक्षमा डा. बद्री केसी, रविना थापा र कुल आचार्यले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी शुल्क १० लाख

संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिला सहित उपाध्यक्षहरुका लागि ७ लाख रुपैयाँ वा अमेरिकी डलर ७ हजार, महासचिवका लागि ६ लाख रुपैयाँ वा अमेरिकी डलर ६ हजार, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख रुपैयाँ वा अमेरिकी डलर ५ हजार, सह–कोषाध्यक्षका लागि ४ लाख रुपैयाँ वा अमेरिकी डलर ४ हजार, महिला, युवा र क्षेत्रीय संयोजकका लागि ३ लाख ५० हजार रुपैयाँ वा अमेरिकी डलर ३ हजार ५ सय, महिला, युवा र क्षेत्रिय उपसंयोजकका लागि २ लाख ५० हजार रुपैयाँ वा २ हजार ५ सय डलर र आईसिसि सदस्यहरुका लागि१ लाख रुपैयाँ वा अमेरिकी डलर एक हजार तोकिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७८ ०६:५६ सोमबार