८ वैशाख २०८१ शनिबार
प्रवास

सरकारलाई बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीको सुझावः खोप वितरणमै थप ध्यान दिनुपर्ने

बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरुद्धको खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल बन्न सक्ने जोखिम देखिएको भन्दै उनीहरुले नेपाल सरकारलाई खोप वितरणमै थप ध्यान दिन सल्लाह दिएका छन्।

नेपाल पत्रकार महासंघ बेलायत शाखाले सञ्चालन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा आइतबार कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा सुधिर लोहनीले नयाँ ओमिक्रोन भेरियन्टमा समेत खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको बताए।

बेलायतको केन्टस्थित ड्यारेन भ्याली अस्पतालमा कार्यरत डा लोहनीले ओमिक्रन भेरियन्ट तुलनात्मक रुपमा कम घातक तर बढी संक्रामक रहेको जनाए। 'यसको संक्रमणले फोक्सोमा भन्दा पनि बढी घाटीमा असर गर्ने भएकाले कम घातक छ। तर संक्रमण दर बढी रहेका कारण स्वास्थ्य सेवाहरुले थेग्नै नसक्ने तहको भार सिर्जना हुने खतरा देखिएको छ', उनले भने।

संक्रमण भइहालेको अवस्थामा आफूलाई सक्रिय राख्न निकै महत्वपूर्ण रहने डा लोहनीको सुझाव छ। 'शरीर निष्क्रिय रहँदा फोक्सोले कम काम गर्ने र संक्रमण जटिल हुने भएकाले सक्रिय भइराख्नु महत्वपूर्ण हुन्छ,' उनले भने।

नेप्लिज डक्टर्स् एशोसिएसन यूकेका अध्यक्ष एवम् कन्सल्टेन्ट सर्जन डा कमल अर्यालले ओमिक्रोन बढी संक्रामक रहेका कारण थप सजगता जरूरी रहेको धारणा व्यक्त गरे।

सुरक्षाका लागि बुस्टर खोप लिन सल्लाह दिंदै उनले भीडभाडमा नजाने, नियमित रुपमा हात धुने, सुरक्षित दूरी कायम गर्ने र मास्क लगाउने जस्ता सतर्कता पनि अपनाउन सुझाव दिए।

नेपालको हकमा पनि ओमिक्रोन संक्रमण थप जटिल बन्ने  जोखिम औँल्याउँदै डा अर्यालले नेपाल सरकारले अहिले खोप वितरणमै बढी ध्यान दिनुपर्ने बताए।

बेलायतमै कार्यरत सिनियर नर्स सुनिता गौतम थापाले ओमिक्रोनको कारण बेलायतका अस्पतालहरुमा समेत अहिले चाप निकै बढेको बताइन्। तीव्र फैलिरहेको संक्रमणले अस्पताल भर्ना हुने तथा आइसियूमा जाने बिरामी बढेको र धेरै स्वास्थ्यकर्मीहरु नै संक्रमित बनेकाले समस्या भएको उनले सुनाइन्।

कार्यक्रमका वक्ताहरुले स्वास्थ्यकर्मीहरुले आफूहरुले अहिले व्यक्तिगत वा संस्थागत रुपमा नेपालमा विभिन्न सहयोग गर्ने कोशिश् गरिरहेको बताए। नेपाल सरकारले चाहेर उपयुक्त वातावरण बनाउन सके विदेशस्थित सयौं नेपाली स्वास्थ्यकर्मीहरुबाट धेरै लाभ लिन सक्ने धारणा उनीहरुले राखे।

कोरोना महामारीको बेला आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने उद्देश्यसहित नेपाल पत्रकार महासंघ बेलायत शाखाले सचेतना कार्यक्रम शुरु गरेको हो।

नेप्लिज डक्टर्स एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोशिएशन यूके समेतको सहकार्य रहने कार्यक्रम पाक्षिक रुपमा सञ्चालन गरिनेछ।

कार्यक्रममा बेलायतमा कार्यरत डाक्टर, नर्ससहितका स्वास्थ्यकर्मी र जनस्वास्थ्य विज्ञहरुलाई निम्त्याएर प्रत्यक्ष प्रश्नोत्तर गराइने संयोजक एवम् शाखाका वरिष्ठ उपाध्यक्ष दिनेश परियारले जानकारी दिए।

प्रकाशित: २० पुस २०७८ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App