रोजगारीका सिलसिलामा मलेसिया पुगेका राईको मृत्यु भएपछि बिचल्नीमा परेका ७ जनाको परिवारको सहयोगका लागि शेर्पाले नगद ५ हजार १ सय ४२ रुपैयाँ सहयोग रकम पठाएका छन्। अभिभावक गुमाएर बिचल्नीमा परेका मृतक परिवारको जीवनयापन तथा विद्यालय जानबाट वञ्चित बालबच्चाको शिक्षा दीक्षाका लागि आर्थिक सहयोग गरेको शेर्पाले टेलिफोनबाट बताए।
होमबहादुरको मृत्यु भएपछि अलपत्र बनेका ७३ वर्षीय बुबा लालबहादुर राई, १४ वर्षीया छोरी जुना, १२ वर्षीय छोरा सुदीप, १० वर्षीय छोरा सुनिल, ९ वर्षीय छोरी मुना, ८ वर्षीय छोरा निलिख र ६ वर्षीया छोरी पुजना राईको सहयोगका लागि शेर्पाले नेपाल पत्रकार महासंघ शाखा खोटाङको नाममा रकम पठाएका छन्।
शेर्पाले आइतबार आइएमइमार्फत् पठाएको सहयोग रकम मृतक परिवारलाई औपचारिक कार्यक्रममार्फत् हस्तान्तरण गरिने महासंघ शाखाले जनाएको छ।
मलेसिया पुगेका होमबहादुरको मृत्यु भएपछि ७ जनाको परिवार बिचल्लीमा परेको समाचार सार्वजनिक भएपछि राई परिवारका लागि सहयोग जुट्न थालेको छ। तीन वर्षअघि मलेसिया पुगेका होमबहादुरको मृत्यु भएको केही समयपछि श्रीमती हिराले पनि छाडेर दोस्रो बिहे गरेर गएपछि परिवारका ७ जनाको विचल्ली भएको हो।
पाँच महिना पनि खान नपुग्ने राई परिवारलाई अहिले साँझ बिहान चुल्होमा आगो बाल्न र एक छाक टार्नका लागि समस्या पर्न थालिसकेको स्थानीय प्रेमबहादुर राईले बताए। धन कमाउने सपनामा विदेश गएका एक्लो छोरो होमबहादुरको मृत्यु भएपछि लट्ठीको भरमा उभिने लालबहादुरले ६ जना नाती नातिनीको लालनपालन गर्दैआएका छन्।
अहिले बुबा विदेश जाँदा लिएको ऋणका लागि साहुले दिनदिनै धाउने गरेको छोरी जुनाले बताइन्। बीमा बापतको रकम पनि अहिलेसम्म नपाएको मृतक परिवारको गुनासो छ।
प्रकाशित: १९ आश्विन २०७१ २३:०५ आइतबार





