८ माघ २०८२ बिहीबार
image/svg+xml
प्रवास

अमेरिकाबाट नेपाली च्यानलको आइपी टिभी

न्युयोर्क – अमेरिकामा रहेका नेपाली समुदायलाइ लक्षित गर्दै अमेरिकाको न्युयोर्कबाट पहिलो पटक नेपाली च्यानलका साथमा नेपाली आइपी टिभी बक्स अमेरिकी बजारमा आएको छ।ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल नेटवर्कको नामबाट यो बक्स ल्याएको हो। न्युयोर्कमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले त्यस बारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका उपप्रमुख सेवा लम्सालले आइपी टिभी बक्सको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष खगेन्द्र जिसी लगायत न्यूयोर्क क्षेत्रमा बस्ने प्रतिष्ठित नेपालीहरुको उपस्थिती थियो।
ह्वाइट हिमाल नेटवर्कले अमेरिकामा रहेका नेपालीलाई आफ्नो देशको राष्ट्रिय टिभी च्यानलहरु कान्तिपुर टेलिभिजन, नेपाल टेलिभिजन, ईमेज च्यानलका साथै हिन्दी र अन्तर्राष्ट्रिय च्यानलहरु ल्याएको टिभीका निर्देशक सूर्य थापाले बताए। अमेरिकाका जुनसुकै राज्यमा पनि ह्वाइट हिमाल नेटवर्कको आइपिटीभी बक्स सजिलैसँग उपलब्ध गराउने ब्यबस्था समेत गरिएको छ।
यो नेटवर्कबाट च्यानल हेर्नका निम्ति कुनै केबल नचाहिने भएका कारण पनि सजिलो माध्यम भएको थापाको भनाई छ। यसमा युट्युबबाट सिधै आफ्नो रोजाइको भिडियो हेर्न सकिन्छ भने यसबाट फेसबुक, ट्विटर जस्ता बिभिन्न सामाजिक संजालका साइटहरु पनि चलाउन सकिन्छ।
यसका अतिरिक्त नेटफिल्क्स तथा अन्य बिभिन्न एप्लिकेशन पनि आइपिटीभी बक्समा उपलब्ध छन्। यसका साथै आवश्यकता अनुसार अन्य एप्लिकेशन पनि डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ। ह्वाइट हिमाल नेटवर्कको आइपिटीभी एन्ड्रोइड एप्लिकेशनमा आधारित भएर डिजाइन गरिएका कारण एन्ड्रोइडले सपोर्ट गर्ने कुनै पनि एन्ड्रोइड एप्लिकेशन पनि सजिलैसँग डाउनलोड गर्न सकिन्छ।
यसका अतिरिक्त नेपालबाट प्रशारणमा आइरहेका बिभिन्न रेडियो पनि ह्वाईट हिमाल नेटवर्कमार्फत सुन्न सकिने ब्यवस्था रहेको छ। ह्वाईट हिमाल नेटवर्कले अमेरिकामा रहेका दर्शकहरुमाझ पुग्नको लागि बिभिन्न राज्यहरुमा चेतना मुलक कार्यक्रमहरु गर्दै अगाडि बढ्ने योजना रहेको जनाएको छ। सन् २०११ को नोभेम्बरबाट चौबिसै घण्टा प्रशारण शुरु गरेको ह्वाईट हिमाल टेलिभिजन विगतका दिनमा अन्य नेटवर्क मार्फत प्रशारण भइरहेको थियो। तर बढ्दो नेपाली समुदायको आवश्यकतालाइ ध्यानमा राखेर पहिलो पटक बैधानिक रुपमा नेपाली राष्ट्रिय च्यानलहरु सहित ह्वाइट हिमाल इन्टरटेन्टमेन्टले आफ्नै नेपाली नेटवर्क ह्वाइट हिमाल नेटवर्क शुरु गरेको हो।
आइपी टिभीको लागि सुरुमा एकसय ५० डलर शुल्क लाग्नेछ। त्यस्तै मासिक २० डलर शुल्क राखिएको थापाले बताए।
सन् २०११ मा न्युयोर्कका व्यवसायी शान खड्का अध्यक्ष रहेको ह्वाईट हिमाल ईन्टरटेन्ट्मेन्ट ईन्कले सन्चालन गरेको ह्वाईट हिमाल टेलिभिजनले विदेशमा बसेका नेपाली र मातृभुमी बिचको सम्बन्ध प्रगाढ बनाउंदै सूचना र मनोरन्जनका साथै अमेरिकामा नेपाली नेटवर्कको प्रवद्धन गर्ने उद्धेश्यका साथ नयां नेटवर्क सन्चालनमा ल्याएको हो।
पत्रकार सम्मेलनमा अमेरिकामा बढिरहेको नेपाली भाषीको संख्याका सामु नेपाली च्यानलको आफ्नै नेटवर्क हुँदा नेपालीहरु बिच एकता र सामुहिक आवाजको पनि यस नेटवर्कले प्रतिनिधित्व गर्ने उद्धेश्य लिएको संस्थाका अध्यक्ष खड्काले बताए। हाल अमेरिकाका बिभिन्न ५० राज्यमा झण्डै दुईलाख नेपालीहरु रहेको अनुमान गरिएको छ। यसका साथै नेपालीभाषी भुटानीहरु समेत रहेका छन्।

प्रकाशित: १८ असार २०७१ २३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App